मापसे गरेर सवारी चलाउने ४३९ चालकको लाइसेन्स निलम्वन

Not found

काठमाडौं । यातायात व्यवस्था कार्यालयले मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने ४ सय ३९ चालकको अनुमतिपत्र (लाइसेन्स) निलम्वन गरेको छ।

कार्यालयले महानगरीय ट्राफिक प्रहरी महाशाखाको सिफारिसमा ५ पटकभन्दा बढी मापसे कारबाहीमा परेका व्यक्तिको लाइसेन्स निलम्बन गरेको हो। २०६८ मङ्सिर १७ देखि मापसे जाँचलाई कडाइ गर्दै आएको महाशाखाले हालसम्म उपत्यकामा मापसे गरेर सवारी साधान चलाउने एक लाख ९० हजार ६ सय ९० चालकलाई कारबाही गरेको छ।

महाशाखाले २०६८ सालदेखि मापसे जाँच गरे पनि लाइसेन्समा प्वाल पार्ने काम भने २०६९ मङ्सिरदेखि गर्दै आएको हो।मापसे जाँचमा पहिलो पटक कारबाहीमा पर्ने चालकको संख्या पहिलो पटकमा १ लाख ४९ हजार २ सय १६, दोस्रो पटकमा २७ हजार ४ सय ७७, तेस्रो पटकमा ९ हजार ९९, चौथो पटकमा ३ हजार २ सय ८४ र पाँचौँ पटकमा १ हजार १ सय ७५ जना छन्।

महाशाखाले मापसे सेवन गरी सवारीसाधन चलाउने चालकको लाइसेन्समा प्वाल पार्दै आएको छ। महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले पछिल्लो समय उपत्यकामा मापसे सेवन गरी सवारीसाधन चलाउने चालकको सङ्ख्यामा कमी आएको दाबी गरे।

‘पछिल्ला वर्षमा मापसे कारबाहीमा पर्नेको सङ्ख्यामा कमी आएको छ’ उनले भने। महाशाखाका अनुसार आव २०७४/०७५ मा २२ हजार २ सय २६ चालक मापसेको कारबाहीमा परेकामा आव २०७५/०७६ मा २१ हजार ९ सय ७३ चालक कारबाहीमा परेका थिए।

महाशाखाले मापसे कारबाहीमा परेका चालकसँग १ हजार जरिवाना लिनाका साथै उनीहरूका लागि कक्षा सञ्चालन गर्दै आएको छ। उपत्यकामा मापसे सेवन गरी सवारीसाधन चलाएपछि दुर्घटना हुने र धेरै मानिसको मृत्यु हुने गरेपछि ट्राफिक महाशाखाले २०६९ देखि मापसे जाँच तथा कारबाही गर्दै आएको हो। रासस



image not found