एक हजार सीसीसम्मको कार राख्नेलाई कुन प्रदेशमा कति वार्षिक कर (सूचीसहित)

काठमाडौं । प्रदेश अनुसार कारको वार्षिक कर भिन्दाभिन्दै रहेको छ । संविधानले सवारीसाधनको वार्षिक कर लिने अधिकार प्रदेश सरकारलाई दिएको छ । त्यही अनुसार विभिन्न सवारीसाधनको वार्षिक कर प्रदेश अनुसार फरक रहेको हाे । 

यहाँ १ हजार सीसीसम्म इन्जिन क्षमता भएका कार हुनेले कुन प्रदेशमा कति वार्षिक कर तिर्नुपर्छ भन्ने उल्लेख गरिएको छ । प्रदेश नम्बर १ मा १ हजार सीसीसम्मका कारले वार्षिक २१ हजार रुपैयाँ कर प्रदेश सरकारलाई बुझाउनु पर्छ । 

प्रदेश नम्बर २ सरकारले भने प्रदेश नम्बर १ सरकारको तुलनामा १ हजार सीसीसम्मका कारको वार्षिक कर २ हजार कम तोकेको छ । २ नम्बर प्रदेशमा १ हजार सीसीसम्मका कार हुनेले वार्षिक १९ हजार रुपैयाँमात्र कर तिरे पुग्छ । 

प्रदेश नम्बर ३ सरकारले १ हजार सीसीसम्मका कारको वार्षिक कर २० हजार ९ सय रुपैयाँ तोकेको छ । सबैभन्दा धेरै कार प्रदेश नम्बर ३ मा नै दर्ता भएको तथ्यांक छ । प्रदेश ३ को वार्षिक कर प्रदेश १ को भन्दा १ सय रुपैयाँले कम र प्रदेश २ को भन्दा १९ सय रुपैयाँ धेरै हो । 

त्यस्तै गण्डकी प्रदेशमा १ हजार सीसीसम्मको कार हुनेले वार्षिक २० हजार रुपैयाँ कर तिर्नुपर्छ । यो प्रदेश ३ को भन्दा ९ सय रुपैयाँ कम हो भने प्रदेश २ को भन्दा १ हजार बढी हो । 

प्रदेश नम्बर ५ ले पनि १ हजार सीसीसम्मको कारलाई वार्षिक कर २० हजार तोकेको छ । यो गण्डकी प्रदेशसँग समान छ भने प्रदेश २ को तुलनामा १ हजार रुपैयाँ धेरै हो । 

त्यस्तै सुदूरपश्चिम प्रदेशमा १ हजार सीसीसम्मका कारलाई वार्षिक कर २१ हजार रुपैयाँ निर्धारण गरिएको छ । यो प्रदेश १ सँग समान हो भने प्रदेश २ को तुलनामा २ हजार रुपैयाँ धेरै हो । 

यो करको दर प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको आर्थिक ऐनबाट लिइएको हो । यस अनुसार १ हजार सीसीसम्मका कार हुनेका लागि सबैभन्दा कम कर प्रदेश नम्बर २ मा वार्षिक १९ हजार रुपैयाँ र सबैभन्दा बढी प्रदेश १ र सुदूरपश्चिममा समान २१ हजार रुपैयाँ रहेको छ ।  

कर्णाली प्रदेशको आर्थिक ऐन भने प्राप्त हुन सकेको छैन । 


Back_to_top