दुई लाख रुपैयाँभन्दा कम मूल्यका यी १० बाइक, स्टाइल र माइलेज दुबै दमदार

काठमाडौं । नेपालमा सवारीसाधनमा लाग्दै आएको भन्सार, अन्तःशुल्क र सडक करका कारण दुई पाङ्ग्रे सवारी साधन पनि अत्यन्त महंगो मूल्य तिरेर किन्नु पर्ने अवस्था रहेको छ । 

भारतीय बजारमा १ लाख मूल्य कायम भएका मोटरसाइकलहरु नेपाली बजारमा ३ लाख ५० हजारसम्म तिरेर किन्नु पर्ने अवस्था रहेको छ । यस्तोमा नेपाली बजारमा उपलब्ध मध्ये सबैभन्दा कम मूल्य रहेका बाइकको बिषयमा जानकारी दिने हामीले प्रयास गरेका छौं । 

यी कम मूल्यका मोटरसाइकल १०० देखि १२५ सीसीसम्म इन्जिन क्षमता भएका हुन् । जसले सडकमा माइलेज पनि उत्कृष्ट प्रदान गर्ने गर्छन् ।

यद्यपी सहरी क्षेत्रमा यस्ता मोटरसाइकलको बिक्री उत्साहजनक देखिदैन । तर, तराईका जिल्लाहरुमा यी मोटरसाइकलको निकै राम्रो बजार हिस्सा ओगटेका छन् । सबै नाम चलेका कम्पनीहरुले यो सेग्मेन्टमा मोटरसाइकल बनाउनाउँदै आएका छन् । 

यस्ता छन् नेपाली बजारमा उपलब्ध २ लाखभन्दा कम मूल्यका मोटरसाइकल 

१. बजाज प्लाटिनाः बजाजले भारतीय बजारमा सबैभन्दा धेरै बिक्री गर्ने प्लाटिना नेपाली बजारमा १ लाख ६४ हजार ९०० रुपैयाँमा बिक्री वितरण गर्दै आएको छ । उक्त मोटरसाइकल बजाजले नेपालमा नै उत्पादन गर्ने गरेको छ । १०२ सीसी क्षमताको इन्जिन रहेको यो मोटसाइकलले प्रतिलिटर ९७ किलोमिटर माइलेज दिने एआरएआईले सटिफाई गरेको छ ।

२. हिरो स्प्लेन्डरः हिरो होन्डा भनेकै स्प्लेन्डरको नामले चर्चित बनेको यो बाइक कुनै समय चढ्ने धेरै नेपालीले सपना बनाएका थिए । नेपाली बजारमा नेपाल जनरल मार्केटिङले बिक्री वितरण गर्दै आएको यसको मूल्य १ लाख ७६ हजार ५०० रुपैयाँ तोकिएको छ । 

यो मोटरसाइकलमा १०० सीसी क्षमताको इन्जिन दिइएको छ । यसले प्रतिलिटर ९७ किलोमिटर माइलेज दिने अटोमेटीभ रिसर्च एसोसिएसन अफ इन्डिया (एआरएआई) ले सर्टिफाई गरेको छ ।

३. होन्डा सीडी ड्रिमः लगभग होन्डा साइन जस्तै देखिने ११० सीसी क्षमताको इन्जिन दिइएको सीडी ड्रिमको नेपाली बजारमा १ लाख ७८ हजार ९०० रुपैयाँ मूल्य तोकिएको छ । स्याकार ट्रेडिङले नेपाली बजारमा बिक्री वितरण गर्दै आएको यस मोटरसाइकलले प्रतिलिटर ७४ किलोमिटर माइलेज दिने एआरएआईले प्रमाणित गरेको छ ।

४. टीभीएस रेडोनः टीभीएसले केही दिन अगाडिमात्रै नेपाली बजारमा ल्याएको रेडोनको मूल्य १ लाख ७९ हजार ९०० रुपैयाँ कायम गरेको छ । जगदम्बा मोटर्सले नेपाली बजारमा बिक्री वितरण गर्दै आएको रेडोनमा ११० सीसी क्षमताको इन्जिन रहेको छ । यो मोटरसाइकलले प्रतिलिटर ६९ किलोमिटर माइलेज दिने एआरएआई सर्टिफाईड रहेको छ ।

५. सुजुकी ह्यातेः हेर्दा होन्डा साइन जस्तै लाग्ने यो मोटरसाइकल नेपाली बजारमा विशाल ग्रुप अन्तर्गतको सुजुकी भिजीले बिक्री वितरण गर्दै आएको छ । ११३ सीसी क्षमताको इन्जिन रहेको यो मोटरसाइकलको मूल्य १ लाख ७९ हजार ९०० रुपैयाँ तोकिएको छ । 

६. स्प्लेन्डर आई स्मार्टः एनजीएमले नेपाली बजारमा बिक्री गर्दै आएको आई स्मार्ट टेक्नोलोजी युक्त यो मोटरसाइकलले जाममा बस्दा तेलको खपत गर्दैन । जसको कारण यो प्रविधि निकै चर्चित बन्दै आएको छ । कम्पनीले १ लाख ८३ हजार ५०० रुपैयाँमा बिक्री गर्दै आएको यो मोटरसाइकलमा ११० सीसी क्षमताको इन्जिन दिइएको छ । जसले प्रतिलिटर ७५ किलोमिटर माइलेज दिने एआरएआईले प्रमाणित गरेको छ ।

७. यामाहा सलुटोः यामाहाले आफ्नो चर्चित मोटरसाइकल वाईबीएक्सको स्थानमा ल्याएको सलुटो नेपाली बजारमा एमएडब्ल्यू इन्टरप्राइजेजले बिक्री वितरण गर्दै आएको छ । कम्पनीले यसको मूल्य १ लाख ८५ हजार ९०० र १ लाख ८७ हजार ९०० रुपैयाँ तोकेको छ । २ हजार रुपैयाँ महंगो मोटरसाइकलमा यूबीएस ब्रेकिङ सिस्टम रहेको छ । ११३ सीसी इन्जिन क्षमताको यसले प्रतिलिटर ७८ किलोमिटर माइलेज प्रदान गर्ने एआरएआईले प्रमाणित गरेको छ ।

८. टीभीएस स्टाइकरः जगदम्बा मोर्टसले बिक्री गर्दै आएको टीभीएस स्टाइकर पनि २ लाखभन्दा कम मूल्यको मोटरसाइकल हो । यसलाई कम्पनीले १ लाख ९२ हजार ९०० रुपैयाँ मूल्य राखेर बिक्री वितरण गर्दै आएको छ । स्टाइकरमा १२५ सीसी क्षमताको इन्जिन रहेको छ । यसले प्रतिलिटर ६७ किलोमिटर माइलेज दिने एआरएआईले सर्टिफाइड गरेको छ ।

९. सुपर स्प्लेन्डरः हिरोको सुपर स्पेन्डरको मूल्य १ लाख ९४ हजार रुपैयाँ रहेको छ । १२५ सीसी क्षमताको इन्जिन रहेको यस मोटरसाइकलले प्रतिलिटर ६० किलोमिटर माइलेज प्रदान गर्ने दाबी एआरएआईको छ ।

१०. बजाज डिस्कभरः बजाज डिस्कभर नेपाली बजारमा ३ बिभिन्न भेरियन्टमा बिक्री वितरण हुँदै आएको छ । कम्पनीले १२५ सीसी इन्जिन क्षमतामा ल्याएको डिस्कभरमा ड्रम ब्रेक, डिस्क ब्रेक र एसटी बिक्री गरिरहेको छ । जसको मूल्य क्रमस १ लाख ८३ हजार ९००, १ लाख १ लाख ९१ हजार ९०० र २ लाख १ हजार ९०० रुपैयाँ रहेको छ । बजाज डिस्कभरले प्रतिलिटर ६७ किलोमिटर माइलेज दिने एआरएआईले प्रमाणित गरेको छ ।


Back_to_top