काठमाडौं । २ महिनापछि सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को नयाँ आवेदन खुलेको छ ।
यातायात व्यवस्था विभागले जेनजी आन्दोलनमा क्षति पुगेको सर्भर मर्मत गरी पूर्ण रुपमा संचालनमा ल्याएसँगै आइतबारदेखि लाइसेन्सको नयाँ आवेदन खुलाएकाे हो ।
विभागले कात्तिक १६ गतेदेखि सर्भर संचालनमा ल्याए पनि लाइसेन्स नवीकरण लगायत आशिंक सेवा मात्रै सुचारु भएको थियो । अहिले आवश्यक तयारी पूरा गरी आइतबारदेखि नयाँ आवेदन खुलाइएको विभागका सूचना प्रविधि शाखा प्रमुख (निर्देशक) केशव खतिवडाले जानकारी दिए ।
उनका अनुसार काठमाडौं उपत्यकाको राधेराधे, ठूलो भर्याङसहित उपत्यका बाहिरका कार्यालयहरूबाट पनि आवेदन दिन सुरु भएको छ । अन्य कार्यालयहरूले पनि क्रमशः नयाँ आवेदन खुलाउने उनले बताए ।
‘२ महिनादेखि रोकिएको नयाँ आवेदन खुलाइएको छ । उपत्यकाका राधेराधे, ठूलो भर्याङबाट सेवा सुरु भइसकेको छ । एकान्तकुना र चाबहिलबाट भरेसम्म खुलाउने तयारी छ,’ उनले मेरोअटोसँग भने, ‘उपत्यका बाहिरका केही कार्यालयले आवेदन लिन थालेका छन् । अन्यले पनि क्रमशः लिँदै जानेछन् ।’
निर्देशक खतिवडाका अनुसार अनलाइनबाटै आवेदन भर्न सकिने छ । यातायात व्यवस्था विभागको वेबसाइट नखुलेकाले सेवाग्राहीले https://applydlnew.dotm.gov.np गएर नयाँ आवेदन दिन सक्ने उनले बताए ।
‘सेवाग्राहीले अनलाइनबाटै आवेदन दिन सक्नेछन् । सूचना प्रविधि मन्त्रालयले सबै सरकारी वेबसाइटमा एकरुपता ल्याउने भनेकाले हाल विभागको वेबसाइट खुलेको छैन । तर, सेवाग्राहीले https://applydlnew.dotm.gov.np गएर नयाँ आवेदन दिन सक्छन्,’ उनले भने ।
अहिले नयाँ आवेदनमा कुनै कोटा नतोकिएको उनले बताए । दैनिक पर्ने आवेदनका संख्या हेरेर कोटा तोक्नुपर्ने/नपर्ने निर्णय गरिने उनले बताए ।
त्यस्तै, अधिकांश यातायात कार्यालयहरुले यसअघि जेनजी आन्दोलनका कारण रोकिएको ट्रायल लिन सुरु गरेका छन् ।
सामान्य अवस्थामा लाइसेन्सको नयाँ र नवीकरण गरी दैनिक ५ देखि ७ हजार आवेदन पर्ने विभागको तथ्यांक छ । हाल देशभरका ४२ वटा यातायात कार्यालयहरूले लाइसेन्स सम्बनधी सेवा प्रवाह गर्दै आएका छन् ।

