काठमाडौंमा रेल चढेर बस सुधार्ने कि, सुध्रिएको बस चढेर रेल बनाउने

Not found

काठमाडौं । सार्वजनिक यातायात कस्तो हुनुपर्छ भन्ने विषयमा नेपालमा उतिसारो बहस भएको पाइँदैन । न त यो विषयमा सरकारले बहस/छलफल आवश्यक ठानेको छ न त व्यवसायीले नै । सरकार सार्वजनिक यातायातमा आफ्नो उपस्थिति नभएको र व्यवसायीले गरेको काममा मख्ख छ । उता व्यवसायीहरु पनि आफू अनुकुल काम भएकै छ भन्ने कुराले हौसिएकै छन् । 

देशको राजधानी, दुईवटा महानगरको संगम काठमाडौंमा कस्तो मोडालिटीको सार्वजनिक यातायत चाहिन्छ, कुन–कुन साधनलाई सार्वजनिक यातायातको रुपमा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा सरकारले अध्ययन त के आवश्यकताको बारेमा समेत ध्यान पुर्याएको छैन । 

काठमाडौंमा भएको जनसंख्या, यहाँ आउँने र जाने संख्या १/२ दशक भित्र आउन सक्ने संख्यालाई आधार मानेर सार्वजनिक यातायातको आवश्यकता र कुन उपयुक्त हो भन्ने निक्र्यौल हुनु पर्ने हो । तर हालसम्म त्यस्तो केही भएको छैन । 

त्यसैले काठमाडौंमा मेट्रो रेल, मोनो रेल, स्काई रेल, रिङरोडमा केबुलकार, युनिक रोववे बस, र्यापिड बस ट्रान्जिट (बीआरटी) सबै चञ्चालन गर्न सकिन्छ भन्ने समाचारहरु आईरहेका छन् । सरकार पनि सबै बनाउने झैं गरेर जो–जसले जे भन्या त्यसैमा रमाई रहेको छ । 

अब यहाँ रेलको कुरा गरौं । काठमाडौंले स्काई, मोनो तथा मेट्रो तीन वटै रेल धान्न सक्छ वा तीनै प्रकारका रेल आवश्यक छ ? यो प्रश्नको जवाफ खोजन लागियो भने अहिले गाली पाइने अवस्था छ । केपी शर्मा ओलीले रेललाई चुनावि नारा बनाए । विगतमा पनि काठमाडौंमा रेल चलाउने बारे छलफल नभएका होइनन् । तर पछिल्लो समय व्यापक गफ भएका छन् र केही कम्पनीले अध्ययनको प्रस्ताव पनि गरेको छन् । 

एक चिनियाँ कम्पनीले काठमाडौंमा स्काई रेल चलाउन प्रस्ताव गरेको छ । सरकारले नै पनि मेट्रो रेल चलाउने भनेर सम्भाव्यता अध्ययन गर्ने काम सुरु गरेको छ । काठमाडौं महानगरपालिकाले मोनो रेल चलाउने कुरा गरेको थियो । मेयर विद्यासुन्दर शाक्यले ५ वर्षभित्र काठमाडौंमा मोनो रेल चलाइने भाषण गरेका थिए ।  

तत्कालका लागि कुन रेल चाहिने हो, त्यसकोे प्रविधि काठमाडौंमा उपयुक्त छ वा छैन, रेल सञ्चालनमा आएपछि सञ्चालन खर्च धान्न कति यात्रु चाहिन्छ भन्ने बारे न छलफल भएको, न त यसको चिन्ता नै कसैलाई छ । वस स्यालहुइँयाँ पारामा सबैलाई रेल चाहिएको छ । 

त्यस्तै काठमाडौं महानगरपालिकाले यूनिक रोप वे–बस सञ्चालनमा ल्याउने योजना सार्वजनिक गरेको छ । महानगरले बागमती, विष्णुमती लगायत खोला माथिबाट रोप–वे मार्फत बस सञ्चालन गर्ने जनाएको हो । 

रोप–वे बस बनाउँदा प्रतिकिलोमिटर ५० करोड रुपैयाँ लाग्ने अनुमान छ । महानगरले योजना ल्याइदिएको छ । 

केही समय अघि प्रान्सेली कम्पनीले काठमाडौंको रिङरोडलगायत क्षेत्रमा केवलकार बनाउने प्रस्ताव सहरी विकास मन्त्रालयमा पेश गरेको थियो । 

त्यस्तै गत चैतमा सम्पन्न लगानी सम्मेलनमा सरकारले काठमाडौंमा बीआरटी (बस र्यापिड ट्रान्जिट) बनाउन परियोजना नै प्रस्तुत गरेको थियो । उक्त परियोजना बनाउन इच्छुक कम्पनीहरुले प्रस्ताव पनि दर्ता गरेका छन् । 

यी सबै काठमाडौंको सार्वजनिक यातायातलाई कायाकल्प गर्ने योजना हुन् । यतीमात्र छैनन् कायाकल्पको मुख्य हिस्सेदार हो विद्यमान सार्वजनिक यातायात । 

हाल काठमाडौंबासीलाई गन्तव्यमा पुर्याउने निर्विकल्प साधन बस र माइक्रोक्र तथा ट्याम्पो हुन् । यीनको सुधार र व्यवस्थित बनाउने योजना हरेक जसो बजेटमा आउने गरेको छ । तर न नीति निर्माता सुध्रिएर कार्यान्वयन गर्न सकेका छन् न त सुध्रनु पर्ने यातायात व्यवसायी नै सुध्रिएका छन् । 

यसको अर्थ यही सब मात्र काठमाडौंको सार्वजनिक यातायातको रुपमा रहनु पर्छ भन्ने पटक्कै होइन । तर हामीले तत्काल र भविष्यमा गर्नुपर्ने के हो भन्ने विषय निक्र्यौल भएन भने अवस्था यो भन्दा जटिल हुने निश्चित प्रायः छ । 

रेलका गफ विस्तारै गरौंला । पहिलो भएका सार्वजनिक यातायातमा ठूला बस, सिस्टमेटिक रुट, समयमा गन्तव्य पुग्ने, सफा, सुरक्षित, चालक/सहचालकको सिस्ट व्यवहार बनाउन सरकार लाग्नु पर्छ । दोस्रो विद्युतीय सवारीलाई प्रथमिकता दिई काठमाडौंबाट नजिकका सहरमा बस र्यापिड ट्रान्जिट (बीआरटी) सञ्चालन गर्नुपर्छ । 

यो विकल्प सफल भएपछि यात्रुको चापलाई मध्यनजर गरि उपयुक्त हुने एउटा रेल सञ्चालन गर्ने बारेमा अध्ययन हुनुपर्छ । पहिले आवश्यकताको परिपूर्ती गर्ने हो । अत्यधिक धनी भएझंै सबै बनाएर नमुना प्रस्तुत गर्ने औकातमा हाम्रो महानगर वा सरकार छैन । 

धनुस्टंकार भएर गुन्द्रुक कोचेझैं राजधानी समेत रहेको महागनरमा यात्रा गर्न बाध्य नागरिकलाई रेलका सपनाले ढाड दुख्न पनि रोकिन्न र रेल चढ्न पाइएला भनेर अहिलेको यात्रा सहज पनि हुन्न । यत्ती त बुझौं । 



image not found