नेपालमा गाडी बन्छ, नक-डाउन किटमा ५० प्रतिशत छुट चाहिन्छः नाडा

काठमाडौं । नेपालमा सवारी उत्पादन गर्ने उद्देश्य सहित दक्षिण कोरियाली कम्पनी मोट्रेक्सले लगानी स्वीकृत गरिसकेको छ, भने नेपाली कम्पनी लक्ष्मी मोटर कर्पोरेशनले उद्योग विभागमा निवेदन दिइसकेको छ । 

नेपालमा सवारी उत्पादन गर्न चाहनेले सबै आवश्यक पार्टपूर्जा आयात गरेर ल्याउनु पर्नेछ । नेपालमा हालसम्म सवारी उत्पादनका लागि आवश्यक कुनै पनि सपोर्टिभ उद्योग खुल्न सकेको छैन । 

यस्तो अवस्थामा सवारी एसेम्बलका लागि ल्याइने भेहिकल एसम्बलिङ नक डाउन किटमको भन्सार महशुल छुट ५० प्रतिशत पुर्याउनु पर्ने माग नाडा आटोमोबाइल्स एसोसिएसन अफ नेपालले गरेको छ । अहिले यस्ताे किटकाे भन्सारमा ० प्रतिशत छुट रहेकाे छ । नाडाले आगामी आर्थिक वर्षको बजेट सुझावमा ५० प्रतिशत पुर्याउन माग गरेको हो । 

नाडाले भनेको छ ‘नेपालमा नै अटोमोबाइल एसेम्बलिङ प्लान्ट स्थापनाका सन्दर्भमा सरकारले दिदै आएको २५ प्रतिशत अन्तःशुल्क महशुल छुटलाई वृद्धिगरी ५० प्रतिशतमा पुर्याउनु पर्ने ।’

नेपाल मै अटोमोवाइल मेनुफेक्चरिङ्ग कम्पनी स्थापना गर्दा रोजगारीको अवसर सिर्जना हुने, उच्च प्रविधि देशमा भित्रिने र देशमा आर्थिक गतिशिलता समेत बढ्ने विश्वास नाडाको छ । त्यस्तै हालको अन्तःशुल्क महशुल दरमा २५ प्रतिशत छुट दिने व्यवस्था रहेकोमा त्यसलाई बढाएर ५० प्रतिशत गर्नु पर्ने, तथा यस्ता  मेनुफेक्चरिङ्ग कम्पनीहरुले आयात गर्ने किटहरुको भन्सार दरमा पनि ५० प्रतिशत छुट दिने व्यवस्था गर्न नाडाले भनेको छ । 

सरकारले स्पेयर पार्टसहरुमा भन्सार महशुल घटाउदै लैजाने आश्वासन विपरित त्यसमा थप ५ प्रतिशतअन्तःशुल्क महशुल समेत लाग्ने व्यवस्थाले आजका दिनहरुमा अनाधिकृत आयातले थप प्रोत्साहन पाएको छ । यस्तो स्थितिलाई नियन्त्रण गर्न सरकारले सो अन्तःशुल्क महशुल हटाउने र विभिन्न दरमा रहेका भन्सार महशुललाई एकै दरमा अर्थात ५  प्रतिशत मात्र भन्सार महशुल लाग्ने व्यवस्था गर्नु पर्ने नाडाको भनाई छ । 


Back_to_top