इलेक्ट्रीक ह्याचव्याक, क्रसओभर र एसयूभी मोडल ल्याउँदैछौं : यमुना श्रेष्ठको अन्तर्वार्ता

विद्युतीय गाडीको प्रयोगले हुने फाइदा के के हुन् ? नीति निर्मातादेखि आम सर्वसाधारणमा यस विषयमा छलफल हुन जरुरी छ । यसले वातावरणमा पार्ने सकारात्मक प्रभाव, नेपालमा उत्पादित बिजुलीको प्रयोग र इन्धन आयातको कारण चुलिएको व्यापारघाटा कम गर्न भइरहेका पहलमा विद्युतीय गाडी कोशेढुङ्गा हुने देखिन्छ । नेपालमा विद्युतीय गाडीको प्रवद्र्धनमा निकै ठूलो भूमिका निर्वाह गरेको बीवाइडीको गतिविधि भने अन्य इलेक्ट्रीक विक्रेताको तुलनामा कम देखिन्छ । त्यस्तोमा बीवाइडीको आधिकारीक वितरक साइमेक्स इङ्कले आगामी यात्रा कसरी तय गर्दैछ भन्ने विषयमा कम्पनीको प्रबन्ध निर्देशक यमुना श्रेष्ठसँग मेरोअटोले गरेको कुराकानीको सम्पादीत अंश :

लामो समयदेखि विद्युतीय गाडी किन्ने ग्राहकसँग डिल गर्दै हुनुहुन्छ । ग्राहकले विद्युतीय गाडीमा खोज्ने विषय के रहेछ ?

विद्युतीय गाडी किन्ने सोच बनाएर शोरुममा आउने मानिसले सबैभन्दा धेरै खोज्ने ह्याचव्याक कार हो । अहिले चल्तीका ब्राण्डले ह्याचव्याक कार ल्याउन सकेका छैनन् । त्यसपछि रेञ्ज, गाडीको ग्राउन्ड क्लियरेन्स कति छ भन्ने विषयमा धेरैले चासो व्यक्त गरेको पाएको छु ।

बीवाइडी सन् २०१७ मा नेपाल ल्याउनु भयो । त्यसपछि जुन किसिमले आक्रमक बजार विस्तारमा लाग्नु पर्ने थियो, त्यो त गर्न सक्नु भएन नि होइन ?

बीवाइडीसँग हामीले सन् २०१३ देखि नै काम गर्दै आएका थियौं । सुरूमा व्याट्री र सोलारमा काम गरेका थियौं । बीवाइडीसँग गाडी त त्यसअघि पनि थियो । नेपालमा १९ घन्टासम्मको लोडसेडिङ भएको समयमा विद्युतीय गाडी ल्याउनु उचित थिएन । मानिसहरु मोबाइल चार्ज गर्न कसको घरमा बत्ती छ भनेर खोज्ने समयमा कार नेपाल ल्याउने कल्पना हामीले गर्न सकेका थिएनौं ।

विस्तारै समय फेरियो । कुलमान घिसिङ प्राधिकरणको एमडी बनेर आएपछि लोडसेडिङ अन्त्य भयो । त्यसपछि हामीले २०१७ को अन्तिम तिर इलेक्ट्रीक कार अब नेपालमा चाहिन्छ भनेर ल्याएका हौं । बजारमा साना इलेक्ट्रीक कार र ट्याम्पो चलिरहेको थियो । त्यस्तोमा ठूलो विद्युतीय कार हामीले नेपाल ल्याएका थियौं ।

बीवाइडीले सन् २००९ बाट उत्पादन सुरू गरेको मोडल इ६ नेपाल आयो । सुरूमा हामीले १० यूनिट इ६ नेपाल ल्याएका थियौं । त्यसले बजारमा विद्युतीय गाडीको चर्चा हुन सुरू भएको थियो । चीनमा बनेको र महंगो मूल्य भएका कारण ग्राहकलाई विश्वास दिलाउन कठिन भयो । सुरूमा हामीले १ वर्षसम्म ती गाडी विक्री नै गरेनौ । विस्तारै ग्राहकमा आत्मविस्वास आएसँगै विक्री सुरू गरेका हौं ।

सुरूमा त ग्राहकभन्दा पनि सरकारी निकायलाई गाडी बेच्ने रणनीति बनाएको देखियो । किन सरकारी निकायमा जोड दिएको ?

विद्युतीय गाडी विक्री गर्न सरकारी नीतिको आवश्यकता थियो । कम्बस्चन इन्जिनको तुलनामा महंगो मूल्य तिरेर ल्याउनु पर्ने भेहिकल भएकोले त्यसमा नीति निर्माता कन्भिन्स नभई गाडी ल्याउन सक्ने अवस्था थिएन । फेरि, नीति निर्माताले नै प्रयोग गर्न थालेपछि आम जनमानसलाई त्यसको प्रयोग गर्न कुनै हिचकिचावट हुँदैन भन्ने हाम्रो बुझाइ थियो । त्यो बुझाई समयसँगै प्रमाणित पनि भएको छ ।

अहिले सरकारी निकायभन्दा आम उपभोक्ता अगाडि बढेर विद्युतीय गाडी किन्न थालेका छन् । त्यसमा केही हदसम्म सन्तुष्ट हुन सक्ने अवस्था आएको छ ।

सरकारी निकायले चढिरहेको गाडीको अवस्था र ग्राहक सन्तुष्टि कस्तो पाउनु भएको छ ?

सुरूमा विवाइडी इ६ ४८ हजार डलरमा हामीले किनेर ल्याएका थियौं । महंगो मूल्य त्यसमा पनि चार्जिङ स्टेशनसमेत हाम्रै लगानीमा राखिदिएका थियौं । त्यतिबेला हामीले घाटामा नै गाडी विक्री गरेका थियौं । सुरूमा योजना आयोग, एनइए इन्जिनियरीङमा हामीले गाडी दियौं । नेपाल विद्युत प्राधिकरणको लागि विद्युतीय गाडीको प्रयोग बढ्नु राम्रो थियो । तनहुँ हाइड्रो, ऊर्जा मन्त्रालय, राष्ट्रपति कार्यालय लगायतका निकायमा इ६ विक्री गरेका थियौं । उहाँहरुले अहिले पनि कुनैपनि समस्यारहित तरिकाले गाडी चलाई रहनुभएको छ ।

नीतिगत व्यवस्था सुधारको लागि ठूलो लगानी गर्नुभयो ? उपभोक्ताले विद्युतीय गाडीमा विश्वास गर्न थालेकै समयमा सरकारले विद्युतीय गाडीमा भन्सार, अन्तःशुल्क, वार्षिक कर, सडक निर्माण दस्तुर जस्ता शिर्षकमा कर बढायो । कुरा कहाँ बाझियो ?

त्यो निर्णय नबुझेर भए जस्तो लाग्दैन । विद्युतीय गाडीको आयात बढ्दा धेरै डलर बाहिर गयो भन्ने चिन्ता अर्थमन्त्रीमा देखिएको थियो । सुरूमा धेरै रकम बाहिर पठाउनु भन्दा त्यसलाई रोकेर वैदेशिक मुद्रा जोगाउने तिर सरकारको ध्यान गएको थियो कि जस्तो लाग्छ । तर, विद्युतीय गाडीले कालान्तरमा ठूलो फाइदा पुग्ने विषयमा सरकार कन्भिन्स नै छ ।

विश्व बजारमा सबै किसिमका गाडीको आपूर्ति कमजोर रहेको छ । त्यसमा पनि विद्युतीय गाडीको सप्लाई त झनै कमजोर छ । तपाईंहरुको अवस्था कस्तो छ ?

बीवाइडीको सप्लाईमा अब समस्या छैन भन्ने जानकारी पाएका छौं । दशैंको लागि आइरहेका गाडी हाम्रो माग अनुसार आउँदै छन् । हामीसँग इ६ को दुई मोडल, एमथ्री एमपीभी र टी थ्री कार्गो भ्यान छ । सबै मोडल माग अनुसार नै आइरहेको छ । सन् २०२२ को मध्यसम्ममा हामी धेरै मोडल भएको कम्पनी बन्दैछौं । यसअघि चीनमा बीवाइडीले धेरै मोडल बनाएको भएपनि त्यो लेफ्ट ह्याण्ड ड्राइभ मात्रै थियो । तर, अब राइट ह्याण्ड ड्राइभ मोडल पनि थुप्रै आउँदैछन् ।

हरेक नागरिकमा बीवाइडीको पहुँच पुर्याउन तपाईंहरुको योजना कस्तो छ ?

बीवाइडी ब्याट्री उत्पादक कम्पनीको रुपमा स्थापीत कम्पनी हो । त्यसपछि कार, बसहुँदै हेभी कमर्शियल साधन उत्पादनमा यसले काम गरिरहेको छ । बीवाइडीको बस पनि केही समय पहिले नेपाल आएको थियो ।

अब ह्याचव्याक कार, क्रसओभर कार र एसयूभीहरु आउने क्रममा छन् । हामी थप पूर्वाधार निर्माणमा जुटेका छौं । त्यसको लागि सन् २०२२ भित्रै मुख्य सहरहरुमा हाम्रो शोरुम, सर्भिस र स्पेयर पार्टस् पुग्नेछ । हाम्रो अहिले पनि सबैभन्दा बढी प्राथमिकता ग्राहकको सन्तुष्टि हो । गाडीसँगै ७ किलोवाट क्षमताको चार्जर दिइरहेका छौं । हाइवेमा चार्जिङ स्टेशन बनाउने विषयमा पनि हाम्रो टीमले काम गरिरहेको छ । रोड साइड चार्जिङ सुविधा पनि अबको केही महिना भित्रै हामीले सुरू गर्दैछौं । यी सबै कामपछि विवाइडीले आक्रमक बजार विस्तार गर्नेछ र हरेक नागरिकको पहुँचमा पुग्छ ।

हामीले इलेक्ट्रीक कार्गो भ्यानलाई नै चार्जिङ एसिस्टेन्सको रुपमा प्रयोग गर्दैछौं । यसले बीच बाटोमा गाडी चार्ज सकिएर थन्कनु पर्ने अवस्थाबाट ग्राहकलाई मुक्त गर्छ । हामीले नयाँ बनाइरहेका डिलरलाई पनि यो सुविधा दिनु पर्ने सर्त राखेका छौं ।

नेटवर्क विस्तारमा कसरी काम हुँदैछ ?

सन् २०२२ मा हामीले थुप्रै नयाँ ठाँउमा शोरुम निर्माण गर्ने तयारी गरेका छौं । प्रदेश १ को बिर्तामोड र इटहरीमा नयाँ डिलर फाइनल भइसकेको छ । बुटवल र पोखरामा पनि शोरुम स्थापना हुन्छ । साथै, चितवन, काठमाडौंको नक्साल र उपत्यका भित्र अर्को स्थानमा पनि शोरुम विस्तार गर्दैछौं । कर्णाली र सुदरपश्चिममा पनि हामी जाने तयारी गरिरहेका छौं । यी सबै स्थानमा चार्जिङ स्टेशन सहितको सेल्स, सर्भिस र स्पेयरको सुविधा उपलब्ध हुन्छ ।

नेटवर्क विस्तारको योजना त ठूलै रहेछ । तर, कम मूल्यका गाडीको उपलब्धता नहुँदा ती डिलर चल्न सक्छन् ?

अहिलेसम्म त साइमेक्सले नै शोरुम राखेको थिएन नि । हामीलाई बीवाइडीले नै पार्क कन्सेप्टमा जाउ भनेको थियो । जब विक्री बढ्न थाल्यो, तब न अब शोरुम कन्सेप्टमा जानुपर्छ भनेको हो । शोरुमको खर्च बढ्छ । खर्च बढेपछि विक्री बढ्नु पर्छ । विक्री बढ्न नयाँ मोडल र प्रतिस्पर्धी मूल्यको गाडी चाहिन्छ । त्यो सबै अब तयार हुँदै गएको छ । सन् २०२२ मा थप ३ नयाँ मोडल आउने छ । त्यसपछि हामीसँग ७ मोडल हुन्छ । अनि डिलर नबाँच्ने भन्ने हुँदैन ।

अर्को विषय अहिले नेपालमा विक्री भइरहेका सबै गाडीमा प्रयोग भएका ब्याट्री र बीवाइडीको ब्लेड ब्याट्रीमा निकै ठूलो अन्तर छ । सामान्यतया ६/७ सय चार्जिङ साइकलका ब्याट्री प्रयोग भएका गाडी उपलब्ध बजारमा बीवाइडीले ३ हजार चार्जिङ साइकल भएको ब्याट्रीमा गाडी विक्री सुरू गरेको छ । यसको मतलब १२ लाख किलोमिटरसम्म यी ब्याट्रीले राम्रोसँग काम गर्न सक्छ भन्ने हो ।

अन्तर्राष्ट्रिय मिडियामा आएका समाचारहरुले पनि बीवाइडीको  ब्लेड ब्याट्रीलाई क्रान्तिकारी परिवर्तन, नवीन खोज भनेका छन् । यही कारण टोयोटा, एप्पल जस्ता कम्पनी बीवाइडीको ब्याट्री प्रयोगमा लागेका छन् । यी सबै कुरा नेपाली उपभोक्तालाई थाहा छ । त्यसैले हामी नेपालमा विद्युतीय गाडीको लिडर बन्ने बाटोमा अगाडि बढ्दैछौं ।

 


Back_to_top