सेलिब्रेटी ट्याक्सी चालकः जो मिटरमै गुड्छन्, सामाजिक सञ्जालमा यात्रु भेट्छन्

काठमाडौं । दिपक नेपालले ट्याक्सी गुडाउन थालेको २ महिना मात्र भएको छ । ट्वीटरमा ५० हजार भन्दा बढी फलोअर रहेका उनी फेसबुक र ट्वीटरको माध्यमबाट भेटिएका यात्रुलाई गन्तव्यमा पुर्‍याउने गर्छन् ।

२०४६ सालमा धादिङमा जन्मीएका उनले २०६२ सालमा गाउँकै एक सरकारी विद्यालयबाट एसएलसी दिएका थिए । एसएलसी पछि काठमाडौं पढ्न आएका उनी केही समय दिदिको घरमा बसेर होटल काम गर्थे । यसमा उनको एक वर्ष त्यतिकै गयो । प्लस टू सकेपछि रमा नेपालसँग विवाह गरे । विवाह पछि उनको खर्च बढ्यो र ब्याचलर दोस्रो वर्ष पढ्दा पढ्दै उनले विदेश जाने निर्णय गरे । २/३ वटा मेनपावर घुम्नासाथ उनको युएई आबुदावीका लागि भिसा लाग्यो ।

१ लाख ५० हजार रुपैयाँ खर्चेर उनी विदेशको यात्रामा लागे । आबुदावीमा राम्रो कमाइ नभएपछि डेढ वर्षमै उनी नेपाल फर्किए । नेपाल फर्किए पछि उनले वेटरको काम गर्न थाले । केही समयमा नै उनको २ सन्तान पनि भए ।

दुई जनाको जहानमा थप २ जना नयाँ सदस्य थपिए । काठमाडौंको महंगो कोठा भाडा, खाध्यान्न र बालबालीकाको भविष्यको विषयमा सोच्दै उनले फेरी विदेश जाने निर्णय गरे । यो पटक उनलाई युएई जान मन थिएन ।

यो पटन उनको यात्रा कुवेत तिर मोडियो सन् २०१३ तिर उनी कुवेत गए । कुवेतमा ३ वर्ष बसेर नेपालमै केही गर्ने धोकोसहित फर्किएका उनी के गर्ने भन्ने अन्योलमा थिए ।

उनलाई अरुको काम गर्न मन थिएन । भएको सिप होटल तिरको थियो । होटल खोल्न धेरै लगानी चाहिने भयो । दाइको सल्लाहमा उनले ट्राभल एजेन्सी तिर लगानी गरे । केही समय चल्दै गरेको थियो उनको मन त्यसमा टिक्न सकेन ।

त्यसक्रममा धेरै जनासँग सल्लाहा गरेपछि उनले ट्याक्सी किन्ने निधो गरे । ट्याक्सी किन्न ६/७ लाख भए वित्तिय संस्थाले सहयोग गर्छन् रे भन्ने थाहापाएका उनले साथी मार्फत ट्याक्सी किने ७ लाख रुपैयाँ जोहो गरे ।

श्रीमती रमाको माइतीबाट केही रकम ऋण खोजे भने उनको गरगहना बिक्री गरेर जम्मा गरेको पैसाले ट्याक्सी गुडाउन थाले । उनले २३ लाख रुपैयाँ खर्चेर मासिक ४० हजार किस्ता बुझाउने गरि ट्याक्सी खरिद गरे ।

उनी फेसबुक र ट्वीटरमा पनि निकै एक्टिभ भएकाले अनलाइनबाटै साथी भाइसँग सम्पर्क गरेर सेवा दिन थाले ।

‘हुँदा सडकका यात्रुलाई सेवा दिन्छु नत्र फ्रि समयमा फेसबुक ट्वीटर चलाउँदै गर्दा साथीहरुले आउन यस्तो ठाउँमा जानुपर्यो भन्छन्, त्यतै तिर धाउछु,’ नेपालले मेरोअटोसँग भने ।

उनी यात्रु नहुँदा फुर्सदमा फेसबुक ट्वीटर नै चलाउँदै बस्छन् । सामाजिक सञ्जालको निकै राम्रो उपयोग गर्न सफल रहेका दिपकको फेसबुकमा साथी नै ५ हजार भन्दा माथि रहेका छन् ।

उनी फेसबुक र ट्वीटरबाट नै दिनमा ५/६ जनाले सर्भिसका लागि बोलाउँने गरेको बताउँछन् ।

‘एउटै ट्याक्सी छ, जडिबुटी गयो भने अर्को यात्रुले न्यूरोडमा लिन बोलाउछन् त्यसो हुँदा भने जस्तो सेवा प्रदान गर्न पाएको छैन । पायक परेको ठाउँमा सक्दो सेवा दिने कोशिस गरेको छु,’ नेपालले भने ।

ट्याक्सी चलाउन थालेको २ महिनामा निकै चर्चामा आएका उनी मासिक ४०/४५ हजार कमाउन खाडी मुलुक १ लाख ५० हजार तिरेर जान आवश्यक नहुने अहिले ट्याक्सी चलाउन थालेपछि बुझेको बताउछन् ।

उनी यो वर्षको दसैंका लागि अग्रिम बुकिङ भइसकेको बताउँछन् । ‘साथीहरुले यो पटक दसैंमा घर आउँदैछु भनेर पहिलै भनिसके, एयरपोर्टमा फ्रि वाइफाइ भएकाले फेसबुक, ट्वीटर, इमो, भाइबरबाटै यात्रुलाई सम्पर्क गर्न सजिलो भएको छ,’ उनले भने ।

उनी आफुले सकेसम्म मिटरमै जाने गरेको बताए । आफैंले यात्रुसँग म यतिमा मात्र जान्छु नत्र जान्न भन्ने गरेका छैनन् । ‘आफैं राम्रो मानेर टिप्सको रुपमा पैसा बढी दिनुहुन्छ तर, मिटर बाहेक कहिले गुडाएको छैन’ उनले भने ।

उनले ट्याक्सीको भाडा वैज्ञानिक रुपमा समायोजन हुन नसकेकोमा गुनासो गरे । नेपालमा माइक्रो चड्दा नजिक जता झरे पनि एक जनाको १५ रुपैयाँ तिर्नु पर्छ तर ट्याक्सीमा ४ जना चड्दा सुरुको भाडादर १४ रुपैयाँ मात्र रहेको गुनासो गरे ।

विदेशमा सुरुको भाडा दर ८० देखि ९० रुपैयाँ भन्दा माथि हुने गर्छ उनले सरकारसँग गुनासो गरे । ‘लामो यात्रामा जानेहरुका लागि सजिलो छ, तर नजिकैको यात्रामा जानेलाई भाडा कति लिनुपर्छ भन्ने अन्योलता छ,’ उनले भने ।


Back_to_top