म्यानुअल गाडी चलाउँदा आउने ४ अवस्थाः ब्रेक पहिला थिच्ने कि क्लच ?

काठमाडौं । गाडी चलाउँदा प्रायःजसो नयाँ चालकहरूलाई पर्ने समस्या गाडी चलाउँदा गाडी रोक्न ब्रेक पहिला थिच्ने कि क्लच पहिला कन्फ्यिूजन हुन्छ । योखालको समस्या अनुभवी चालकलाई पनि हुनसक्छ वा भनौँ तपाईंको क्लच र  ब्रेक वा गियर प्रयोग गर्ने बानी गलत प्रकारको पनि हुनसक्छ ।

क्लच र ब्रेक मिलाएर प्रयोग गर्न जानिएन भने यसको असर इन्जिन, गियरबक्स तथा क्लचमा समस्या हुनसक्छ । यसको लागि क्लचको काम के हो पहिला बुझ्न जरुरी हुन्छ । क्लच थिचेपछि इन्जिन र ह्वीलबीचको कनेक्सन छुट्छ, जुन बेला गियर परिवर्तन गर्न सकिन्छ ।

क्लच र ब्रेकको प्रयोग मिलाएर गर्न जानिएन भने गाडीको स्टार्ट बन्द हुने, झट्का महसूस हुने वा चाहेको ठाउँमा गाडी नरोकिने हुनसक्छ । यसको लागि सबभन्दा पहिला कुनै पनि गियरको सबभन्दा कम गति कति हो अनुमान गर्नुपर्छ ।

जस्तो १ नम्बर गियरको सबभन्दा कम गति ५ देखि ८ किलोमिटर प्रतिघण्टा हुन्छ भने ५ नम्बर गियरको सबभन्दा कम गति ४० किलोमिटर प्रतिघण्टा आसपास हुन्छ । यो गति गाडी तथा बाटोअनुसार फरक–फरक हुनसक्छ । किनकी गाडि चलाउँदा कुनै पनि गियरको कम स्पीडमा गाडी गुड्न थालेपछि गियर डाउन गर्न जरुरी हुन्छ । यहाँ हामीले ४ वटा अवस्थाकाबारेमा चर्चा गरेका छौँ, जसले क्लच र ब्रेकको प्रयोग कसरी सबभन्दा उपर्युक्त हुन्छ भन्नेबारे जानकारी गराउँछ ।

१. पहिला क्लच अनि ब्रेक 


यदि तपाईं सहरी क्षेत्रको हेवी ट्राफिकमा गाडी चलाइरहनुभएको छ र गाडीको गति ५ देखि १० किलोमिटर प्रतिघण्टा रहेको छ भने यस्तो अवस्थामा पहिला ब्रेक लगायौँ भने गाडीको स्टार्ट बन्द हुन्छ । यो अवस्थामा तपाईंको गाडी पहिलो गियरको सबभन्दा कम स्पीडमा गुडिरहेको हुन्छ । त्यसकारण एकदमै कम गतिमा सवारी चलाउँदा रोक्नुपरेको अवस्थामा पहिला क्लच अनिमात्र ब्रेक लगाउनुपर्छ ।

२. क्लच र ब्रेक सँगसँगै


यदि तपाईं २० देखि ३० किलोमिटर प्रतिघण्टाको स्पीडमा गुडिरहनुभएको छ र अगाडि ठूलो खाल्डो आयो वा अचानक गाडीको अगाडि सानो बच्चा वा कुनै वस्तु दगुरेर आयो भने एकैपटकमा क्लच र ब्रेक थिच्नु उपर्युक्त हुन्छ । यसो गर्दा गाडी पनि रोकिन्छ र इन्जिन पनि बन्द हुँदैन ।

३. पहिला ब्रेक अनि क्लच 


यदि तपाईं हाई–वेमा ८० वा ९० किलोमिटर प्रतिघण्टाको स्पीडमा गुडिरहनुभएको छ र अगाडि पर केही डिस्टर्व देखिन्छ भने, यस्तो अवस्थामा गाडीको गति कम गर्न क्लच नदबाइकन बिस्तारै ब्रेक दबाउनुपर्छ । बिस्तारै ब्रेक दबाउँदा गाडीको स्पीड ४० किलोमिटर प्रतिघण्टामा आएपछिमात्र क्लच दबाएर गियर चेन्ज गर्नुपर्छ । किनकी ४० किलोमिटर प्रतिघण्टाको स्पीड भनेको ५ गियरको सबभन्दा कम स्पीड हो । यस्तो गतिमा पनि गियर चेन्ज गरेन भने गाडी झट्का खानसक्छ र स्टार्ट नै बन्द हुनसक्छ ।

४. ब्रेकमात्र 


आफू चलिरहेको गतिमा केही कममात्र गर्नुछ भने ब्रेकमात्र लगाए पुग्छ । गाडीलाई रोक्नु छैन, स्पीडमात्र कम गर्नुपर्ने अवस्थामा एक्सीलेटर छाडेर ब्रेकमात्र हल्का थिच्ने गर्नुपर्छ । स्पीडमा चलिरहेको अवस्थामा टाढा अगाडि केही रोकिएमा वा टर्निङ्ग आएको अवस्थामा हलुका तरिकाले ब्रेकमात्र थिचे हुन्छ । स्पीड कम भएर गियर नै चेन्ज गर्नुपर्ने अवस्थामा वा रोक्नैपर्ने अवस्थामा मात्र क्लच थिच्नुपर्ने हुन्छ ।


Back_to_top