कमर्शियल गाडीको व्यापारसँग जोडिएका ३ समस्या : हेमन्त पुराणिकको विचार

काठमाडौं । क्षेत्रफलको आधारमा ठूलो भए पनि आर्थिक गतिविधिका हिसाबले सानो देशमा लामो समयदेखि अर्थतन्त्र शिथिल बन्दा उद्योग र व्यापारमा समस्या आउनु स्वभाविक हो । यहाँ रहेका उद्योगहरूले आफूलाई स्मार्ट तरिकाले चलाइरहेको कारण उनीहरू धेरै ठूलो भूमरीमा परेका छैनन् । नत्र यति गहिरो आर्थिक मन्दीमा देश जाँदा त्यसको परिणाम निकै भयावह हुन्थ्यो ।

मैले विगत १५ वर्षदेखि नेपाली अटोमोबाइल बजारलाई नजिकबाट नियाल्ने मौका पाएको छु । प्यासेन्जर कारदेखि लाइट कमर्शियल र हेभी कमर्शियल गाडीको व्यापारमा संग्लग्न भए । विद्युतीय साधनको व्यापारमा पनि केही अनुभव हासिल गर्ने मौका पाएको थिएँ ।

हाम्रो यातायातको प्रमुख साधन भनेकै सवारीसाधन हुन् । महंगो हवाई क्षेत्र र खोजीनै नभएको जल यातायातका विषयमा आम नागरिकको चासो देखिँदैन । त्यसैले यहाँ राम्रा सवारीसाधन ल्याएर बिक्री वितरण गर्ने व्यवसायले राम्रै परिणाम दिएको थियो । अहिले पनि भारतमा उत्पादन भएका सवारीसाधनहरूको बलियो उपस्थिति यहाँ देख्न पाइन्छ ।

कोभिड-१९ पछि केही समयको लागि प्यासेन्जर कार र मोटरसाइकलको व्यापार वृद्धि भएपछि कमर्शियल सेग्मेन्ट थप समस्यामा पर्यो । भएका गाडी पनि लामो समय थन्काएर राख्दा व्यवसायीले ठूलो क्षति व्यहोर्नु परेको थियो । कोभिड-१९ संक्रमण कम हुँदै जाँदा पनि कर्मर्शियल गाडीको व्यापार बढ्न सकेन । जुन अहिलेसम्म पनि निरन्तर समस्यामा छ ।

आर्थिक गतिविधि घट्नु, सार्वजनिक यातायातमा नयाँ लगानी नआउनु र लगानीकर्ताको मनोविज्ञान सकारात्मक नहुनु जस्ता कारण कमर्शियल गाडीको व्यापार बढ्न नसकेको हो । यसका अलावा कमर्शियल सेग्मेन्टको व्यापार नबढ्नुको कारणलाई ३ कुराले सबैभन्दा धेरै असर गरेको हो ।

पहिलो, कारण सन् २०२१ को अन्त्यपछि हाम्रो सबैभन्दा बलियो पकड रहेको निर्माण सामाग्री उत्पादन गर्ने उद्योगहरू सिमेन्ट, रड, गिट्टी वालुवा लगायतका सम्पूर्ण क्षेत्रले क्षमताको ४० प्रतिशतमा पनि उत्पादन गर्न सकेनन् । पूर्वाधार निर्माण, व्यक्तिगत आवास निर्माण, ठूला अपार्टमेन्ट निर्माण जस्ता काम ठप्प भए । यसले ढुवानीको लागि चाहिने साधनको कारोबार बन्द भयो । नयाँ ट्रक र ट्रिपरहरूको बिक्री ठप्प भयो ।

दोस्रो, आर्थिक मन्दीको असर व्यक्तिसँगै सरकारलाई पनि परेको छ । यस बीचमा कुनै पनि नयाँ ठूला योजना अगाडि बढेका छैनन् । पहिल्यैका योजना पूरा गर्न सरकार लागेको छ । निजी क्षेत्र पर्ख र हेरको अवस्थामा रहेको कारण कमर्शियल गाडीको माग नै सृजना भएको छैन ।

तेस्राे, विषय चर्चा धेरै तर ठोस काम नभएको कुरा छ । त्यो हो युवा पलायन । यसअघि यातायात क्षेत्रमा लागनी गरेर, त्यसलाई नै व्यवसाय बनाएका धेरै मानिसका बालबच्चा अहिले विदेश गएका छन् । उनीहरूले बच्चा बाहिर गएसँगै आफ्नो व्यवसाय संकुचित बनाउँदै लगेका छन् भने कतिले त बन्द गर्ने बाटो रोजेका छन् । त्यसैले कमर्शियल गाडीको बजार खुम्चेको हो ।

यसबीचमा केही सकारात्मक लक्षण पनि देखिएका छन् । सरकारको प्राथमिकता पूर्वाधार विकास गर्ने नै छ । हाम्रा निर्माण उद्योगले विस्तारै निर्यात थालेका छन् । ऊर्जामा ठूलो लगानी चलिरहेको छ । ठूला सिँचाइका आयोजनामा काम भइरहेको छ । यसले समग्र अर्थतन्त्रमा चाँडै उत्साह भर्नेछ । हाम्रा कमर्शियल साधन फेरि एक पटक राम्रो संख्यामा बिक्री हुने अपेक्षा गर्न सकिन्छ ।


Back_to_top