अब सवारीसाधनको बिक्री मूल्यसँगै किनिएको मूल्य समेत प्रकाशित गर्नुपर्ने

Not found

काठमाडौं । सरकारले सवारी आयात गर्दा खरिद गरेको मूल्य समेत उल्लेख गरि अघिकतम खुद्राबिक्री मूल्य (एमआरपी) प्रकाशित गर्नुपर्ने व्यवस्था लागु गरेको छ । नेपालमा सवारी आयात गरि बिक्री गर्ने बिक्रेताहरुले यसअघि गाडीको नाम, इन्जिन क्षमता र एमआरपी प्रकाशित गर्दै आएका थिए । 

भन्सारले सवारी आयातकर्ताहरुलाई मूल्य प्रकाशित गर्ने नयाँ फर्म्याट उपलब्ध गराएको हो । उक्त फर्म्याटमा मालबस्तुको विवरण, आकार\प्रकार, ब्रान्ड, मोडल, क्षमता, उत्पादित मुलुक, प्रति एकाइ मूल्य (आयात गरिएको मुलुक\मुद्रा) र अघिकतम खुद्रा एकाइ मूल्य (एमआरपी) रुपैयाँमा प्रकाशित गर्नु पर्ने व्यवस्था रहेको छ । 

यसअघि सवारीसाधन आयातकर्ताहरुले सवारीको नाम\मोडल, इन्जिन क्षमता र एमआरपी मात्र प्रकाशित गर्दै आएका थिए । भन्सार विभागले सबै सवारी आयातकर्ताहरुलाई चालू आर्थिक वर्षदेखि प्रकाशित गरिने मूल्य सूचीमा नयाँ व्यवस्था लागु गर्न भनेको हो । 

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले पनि आफ्ना सदस्यहरुलाई भन्सारले दिएको फर्म्याट अनुसार मूल्य सूची तयार गरि उपलब्ध गराउन आग्रह गरेको थियो । नयाँ फर्म्याट अनुसारको मूल्य सूची नाडाले केही दिनमा प्रकाशन गर्ने गरि तयार गरि रहेको जनाएको छ । 

विगतमा सवारी आयातकर्ताहरुले खरिद मूल्यमा अत्यधिक नाफा राखेको भन्दै बेला बेला चर्चा हुँदै आएको थियो । सरकारी निकायले पनि व्यवसायीले धेरै नाफा राखेको आशंकामा छानबिन समेत गर्दै आएका थिए । 

अब नयाँ व्यवस्था लागु भएपछि कुन सवारी कति मूल्यमा खरिद गरिएको हो त्यो मूल्य समेत उपभोक्ताले थाहा पाउने छन् । गाडी भारत वा जुन सुकै मुलुकबाट आयात गरिएको भएपनि खरिद मूल्य प्रकाशित गर्नु पर्नेछ । सवारी बिक्रेताहरुले हरेक चार महिनामा मूल्य सूची प्रकाशित गर्नेपर्ने व्यवस्था रहेको छ । 



image not found