अटो शोमा डाट्सनः सबैभन्दा कम मूल्यको कार नै मुख्य आर्कषण

काठमाडौं । जापानी मोटर उत्पादक कम्पनी डाट्सनको लागि नेपालको आधिकारीक बिक्रेता पायनियोर मोटो कर्पले यस पटकको नाडा अटो शोमा नेपालमा नै सबैभन्दा सस्तो कारको बिक्रीलाई प्राथमिकता दिने भएको छ । यस वर्षको अटो शो आगामी भादौ १० गतेदेखि काठमाडौंको भृकुटीमन्डपमा आयोजना हुनेछ ।

कम्पनीले रेडि गोको फेसलिफ्ट मोडललाई नाडा अटो शोमा राख्ने भएको हो । ७९९ सीसी इन्जिन क्षमताको उक्त स्मल ह्याचव्याक कार नेपाली बजारमा बिक्री हुने सबैभन्दा सस्तो आइसी इन्जिन यूक्त कार हो ।

कम्पनीले यसलाई नेपाली बजारमा १९ लाख ९९ हजार रुपैयाँमा बिक्री वितरण गर्दै आएको छ । साथै, कम्पनीले न्यू गो मोडललाई पनि नाडा अटोमा प्राथमिकतामा राख्ने जनाएको छ । नयाँ गो मोडलको मूल्य २५ लाख ९९ हजारदेखि २७ लाख ९९ हजार रुपैयाँसम्म रहेको छ ।

‘नाडामा हामीले विशेष अफर के गर्न सकिन्छ भनेर छलफल गरिरहेका छौं, अहिले स्टलको डिजाइन निर्माण लगायतका काम गरिरहेका छौं । चाँडै अन्य कुराहरुको विषयमा छलफल गर्दै निष्कर्षमा पुग्ने छौं’ कम्पनीका महाप्रबन्धक ज्ञानेन्द्र चन्दले मेरोअटोसँग भने ।

आफुहरुले ग्राहकलाई वेष्ट दिन प्रयास गर्ने र अटो शोमा आउने अवलोकनकर्ताले निरास हुनु नपर्ने चन्दले दाबी गरे ।

डाट्सन नेपाली बजारमा कम मूल्यका गाडी बिक्रीको लागि उत्तम विकल्पको रुपमा अगाडि आइरहेको ब्रान्ड हो ।

नाडा अटो शोको मिति नजिकिएसँगै कम्पनीहरु अटो शोको तयारीमा जुटेका छन् । १८ वटा चारपाङ्ग्रे सवारी बिक्रेता कम्पनीले भागलिने उक्त मेलामा कुन कम्पनीले कस्तो अफर दिने छ भन्ने सबैको चासो हुने गरेको छ ।

चारपाङ्ग्रे सवारीसाधनको बिक्री अत्यन्त न्यून रहेको समयमा हुन गइरहेको अटो शोले समग्र क्षेत्रलाई नै चलायमान बनाउने अपेक्षा गरिएको छ ।


Back_to_top