धनगढी अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न दुई कम्पनी इच्छुक

काठमाडौं । धनगढी क्षेत्रिय विमानस्थल निर्माणका लागि दुई वटा प्रस्ताव आएको लगानी बोर्डले जनाएको छ । चैत्र १५ र १६ गते आयोजित लगानी सम्मेलनमा प्रस्तुत गरिएको उक्त क्षेत्रिय विमानस्थल निर्माणको लागि २५८ मिलीयन डलर अर्थात् २८ अर्ब ७४ करोड १२ लाख रुपैयाँको प्रस्ताव आएको हो । 

परियोजना निर्माणको जिम्मा पाएको कम्पनीले ६ महिना भित्र संभाव्यता अध्ययन गरि एक वर्ष भित्र डिपीआर निर्माण पार्नुपर्ने बोर्डले जनाएको छ । 

हालसम्म विमानस्थल निर्माणबारे विस्तृत संभाव्यता अध्ययन गरिएको छैन । बोर्डले तीन वर्षभत्र बनाइसक्ने योजना बनाएको उक्त विमानस्थल निर्माणकर्ताले ३० वर्षसम्म सञ्चालन गर्ने छ । सो अवधिपश्चात् भने नेपाल सरकारलाई हस्तान्तरण गर्नु पर्ने छ ।

योजना अनुसार विमानस्थलको धावनमार्ग ३ हजार मिटर लामो हुनेछ भने, ६० मिटर चौड रहने छ । त्यस्तै उक्त विमानस्थलमा २३ मिटर फराकिलो १८ सय मिटर लामो ट्याक्सी वे बनाउनु पर्ने लगानी बोर्डले उल्लेख गरेको छ । उक्त विमानस्थलमा सन् २०४८ सम्ममा बार्षिक ११ लाख अन्तर्राष्ट्रिय यात्रुले प्रयोग गर्ने अनुमान सरकारले गरेको छ । 


Back_to_top