२७ किलोमिटर रिङरोडको बस भाडा २० रुपैयाँ मात्रै

काठमाडौं  । सुन्दर यातायातले सञ्चालनमा ल्याउन लागेको विद्युतीय बसले रिङरोड घुमाएको भाडा २० रुपैयाँ मात्र लिने भएको छ ।

बस सञ्चालनमा आएपछि जताबाट चडे पनि जहाँ झरे पनि २० रुपैयाँ लाग्ने गरी बस सञ्चालनमा ल्याउन लागेको सुन्दर यातायातका सञ्चालक भेषबहादुर थापाले जानकारी दिए ।

उनले डिजेल र पेट्रोबाट सञ्चालन हुने गाडीले रिङरोड घुमाउँदा ३० रुपैयाँसम्म भाडा लिने गरेको भन्दै विद्युतीय बस चड्दा १० रुपैयाँ सस्तो पर्न जाने बताए ।

विद्युतिय बस ल्याउदा धेरै महंगो हुने भए पनि पेट्रोलियम पदार्थको तुलनामा सस्तो पर्ने हुँदा त्यसको सिधा फाइदा यात्रीलाई पुग्ने उनले बताए ।

‘इलेक्ट्रीक बसको भाडा २० रुपैयाँ कायम गर्ने विषयमा महानगरपालिका सहमत भएको छ, अब सरकारबाट स्वीकृत भएपछि लागु हुने छ,’ थापाले मेरोअटोसँग भने ।

उनले विद्यार्थीहरुका लागि भने गाडीमा यात्रा गर्दा ५ रुपैयाँ छुट दिने व्यवस्था गर्न लागिएको जानकारी दिए । विद्यार्थीहरुले जताबाट जहाँसम्म यात्रा गरे पनि १५ रुपैयाँभन्दा बढी भाडा तिर्नु नपर्ने उनले बताए । त्यस्तै वृद्धहरुका लागि पनि छुटको व्यवस्था गरिने उनले जानकारी दिए ।

उनले वैशाख भित्रनै विद्युतीय बस सञ्चालनमा ल्याउने गरी सरकारसँग कुरा भइरहेको जानकारी दिए । 

‘मन्त्री ज्यू चीन जानु भएकाले केही काम रोकिएको छ, उहाँ आउनासाथ कुरा अगाडि बढाएर हामी बस सञ्चालनमा ल्याउने छौँ,’ थापाले भने ।

वैशाख भित्र सुन्दर यातायातले आधिकारिक रुपमा विद्युतीय बस गुडाउने भएको हो  । हाल सुन्दर यातायातसँग २ वटा विद्युतीय बस ग्यारेजमै रहेको छ । थप ५ वटा विद्युतीय बस आउने क्रममा रहेको थापाले बताए ।

सुन्दर यातायातले सो बस सञ्चालन सफल भएमा यही चालु आर्थिक वर्षभित्र थप २० वटा बस ल्याउने योजना बनाएको छ । 


Back_to_top