मासिक आम्दानीले कार किन्न ऋण पाइएन ? यसरी लिनुहोस्

काठमाडौं । सवारी कर्जामा बैंक तथा वित्तीय संस्थाले व्यक्तिको आयलाई मुख्य आधार बनाएर मात्रै कर्जा दिँदै आएका छन् । घरकर्जा, साना तथा मझौला उद्योग, व्यवसायीक लगायत अन्य कर्जामा बैंकहरुले एकाघर आय स्रोतलाई हेरे ऋण दिने गरे पनि सवारी कर्जामा भने अन्योल देखिदै आएको छ ।

बैंक तथा वित्तिय संस्थाले कर्जा लिने ब्यक्तिको आम्दानीलाई मुख्य आधार बनाएर कर्जा दिने भएको कारण सकभर एउटैको कमाईले किस्ता तिर्न पुग्छ वा पुग्दैन भन्ने हेर्ने गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाले सो प्रकृतिको कर्जामा व्यक्तिको आयले नभेट्ने भए पछि एकाघर परिवारको आयलाई जोडेर ऋण प्रवाह गर्न सक्ने नेपाल राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । यद्यपि, यस्तो ऋण दिने वा नदिने बैंकहरुको तजबिजमा भर पर्ने गरेको उनिहरुको भनाइ छ ।

सवारी कर्जा दिँदा बैंकहरुले केही मापदण्ड तोकेका छन् भने राष्ट्र बैंकले नीतिगत सीमा तय गरिदिएको छ । त्यसलाई नै आधार बनाएर बैंक तथा वित्तिय संस्थाहरुले ऋण लगानी गर्दै आएका छन् ।

राष्ट्र बैंकको नीति अनुसार पेट्रोल गाडीको लागि ५० प्रतिशत नगद भुक्तानीपछि त्यतिनै बराबरको कर्जा सुविधा पाउन सकिन्छ । तर, विद्युतीय सवारीसाधनमा २० प्रतिशत डाउनपेमेन्ट गर्दा ८० प्रतिशतसम्म ऋण बैंकहरुले दिन्छन् ।

यसरी बैंकले ऋण लगानी गर्दा व्यक्तिको हकमा उसको आम्दानीको स्रोत र कर्जाको अवधि मुख्य कुरा हो । तर, बैंक तथा वित्तीय संस्थाले सवारीसाधने कर्जा दिँदा एकाघरको आयलाई जोडेर ऋण सहजै दिँदैन ।

उदाहरणको लागि एक परिवारमा श्रीमान र श्रमतीको मासिक आम्दानी गर्ने जागिर छ । उनीहरु दुवैको आय जोडेर एक सवारी खरिद गर्न चाहन्छन् भने त्यसअनुसार बैंकले सहजै ऋण नदिने गरेको ब्यवसायीहरुको भनाइ छ ।

बैंकहरु भने यसरी कर्जा दिन कुनै समस्या नभएको र कर्जा दिइरहेको बताउँछन् ।

‘हामीले कर्जा दिइरहेका छौं । श्रीमान र श्रीमतीको कमाइ त एउटै भयो नी । कर्जा नदिने कुरै हुँदैन । केहि संस्थाले नदिएको भए उनिहरुको आन्तरिक पोलिसी हुनुपर्छ’, माछापुच्छ्रे बैंकका सीइओ सन्तोष कोइरालाले भने ।

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता डिल्लीराम पोखरेल बैंक तथा वित्तीय संस्थाले एकाघर परिवारको आम्दानीलाई हेरेर कर्जा दिन सक्ने बताउँछन् ।

‘जुनसुकै ऋण लिँदा सिधै सम्बन्धित व्यक्तिको नै आय हेर्ने गरिन्छ । तर, एक जनाको आयले पुगेन भने सम्बन्धित ऋणीका परिवार जमानत बस्ने गरी बैंकले उनीहरुको आयलाई पनि हेरेर ऋण दिन सक्छन्,’ पोखरेलले भने ।

यो विषयमा राष्ट्र बैंकले कडाइका साथ हेरेको छैन । तर, सबैप्रकारका ऋणमा बैंकहरुले यस्तो कर्जा दिनसक्छन् । अटो क्षेत्रमा ऋण लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरु बीच प्रतिस्पर्धा चल्ने गरेको छ ।

लगानीको न्यून जोखिम र छोटो समयमा राम्रो प्रतिफल पाइने भएपछि वित्तिय संस्थाहरुले हायर पर्चेज कर्जाको स्किम ल्याएर ग्राहक आकर्षित गर्ने गरेका छन् ।


Back_to_top