१५ लाखदेखि ७० लाखसम्मका इलेक्ट्रीक कार, नाडा अटो शोमा आउँदै

काठमाडौं । सवारी तथा सवारीजन्य वस्तुको बिक्री तथा प्रदर्शनी गर्ने उद्देश्यले हरेक वर्ष नाडा अटो शो हुँदै आएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले यो वर्ष भदौ १० गतेदेखि नाडा अटो शो गर्दैछ । 

यो वर्षको अटो शो इलेक्ट्रीक गाडी मुख्य आकर्षणको रुपमा रहने अनुमान गरिएको छ । नेपाली बजारमा सवारी बिक्री गर्दै आएका विभिन्न कम्पनीहरुले इलेक्ट्रीक सवारी त्याउने तयारी गरि रहेका छन् । 

अटो शोको यो संस्करणमा करिब १ दर्जन इलेक्ट्रीक कार आउने अनुमान गर्न सकिन्छ । यहाँ तिनै मध्येका अटो शोमा राखिने इलेक्ट्रीक कार बारे यहाँ उल्लेख गरिएको छ । 

हुन्डाई कोना 

हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल्सले पहिलो पटक कोना इलेक्ट्रीक कारलाई नाडा अटो शोमा शोकेस गर्नेछ । कम्पनीले केही महिना अगाडि नेपाली बजारमा ल्याएको कोना ८० यूनिटभन्दा बढी बिक्री भइसकेको छ । 

कोनाले एक पटकको फुल चार्जमा ३५० किलोमिटर माइलेज प्रदान गर्ने प्रयोगकर्ताले बताएका छन् भने यसको नेपाली बजारमा मूल्य ५५ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । 

किया निरो


दक्षिण कोरियाली कार उत्पादक कम्पनी कियाले उत्पादन गरेको निरो इलेक्ट्रीक कार नेपाल आएको छ । यो इलेक्ट्रीक कार भदौमा हुने अटो शोमा मुख्य आकर्षणको रुपमा रहने छ । किया निरोले एक पटकको फुल चार्जमा ४ सय ८० किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ । यो कारको सुरुवाति मूल्य ६६ लाख ९० हजार तोकिएको छ । यो कार कियाको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङले भित्र्याएको हो । 

टाटा टिगोर इभी 


टाटा मोटर्सले २०१८ को दिल्ली अटो एक्सपोमा सोकेस गरेको टिगोर इभीलाई यो वर्षको नाडा अटो शोमा ल्याउने भएको छ । टाटा टिगोर इभीमा २१६ एम्पाएर क्षमताको १६ भोल्टको ब्याट्री प्रयोग गरिएको छ । यो कारमा भएको मोटरले ३९.९५ एचपी पावर जेनेरेज गर्ने छ । एक पटकको फुलचार्जमा १३० किलोमिटरको यात्रा गर्न सकिने यो कारको सुन्यबाट ८० प्रतिशतसम्मको चार्जगर्न करिब ९० मिनेट लाग्ने छ । फुल चार्जको लागि भने ३ घन्टा लाग्ने टाटा मोटर्सले जनाएको छ । टाटाको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले उक्त कार अटो शोमा ल्याउने भएको हो । 

दाय इलेक्ट्रीक 

चिनियाँ इलेक्ट्रीक कार दाय नेपाली बजारमा दिगो ग्रुपले ल्याएको हो । दाय ब्रान्डका इभी दुई ब्याट्री अप्सनको साथ ल्याएको छ । लिड एसिड ब्याट्री र लिथीयम आयन ब्याट्रीका साथ आएको यो कारले १ सय देखि १ सय ५० किलोमिटरसम्म माइलेज प्रदान गर्ने कम्पनीले जनाएको छ । 

दायका इलेक्ट्रीक कारल फुलचार्ज हुन ४ देखि १० घन्टासम्म लाग्ने छ । भदौ १० देखि हुने नाडा अटो शोमा १३ देखि १५ लाख रुपैयाँसम्ममा पाइने इलेक्ट्रीक कार दाय आकर्षणको रुपमा रहने अनुमान गरिएको छ । 

एमजी इजेडएस

एमजीको इलेक्ट्रीक कार एमजी इजेडएस नेपाली बजारमा आउने भएको छ । एमजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ड मोटर्सले एमजी इजेडएस नाडा अटो शोमा ल्याउने भएको हो । 

कम्पनी एजेडएसको बुकिङ केही समय अघिदेखि लिँदै आएको छ ।  नेपाल आइपुग्दा एमजी इजेडएसको मूल्य ५० देखि ५५ लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ । एमजी इजेडएसले एक पटक फुल चार्ज गर्दा ३ सय ५० किलोमिटर दूरि तय गर्ने जनाइएको छ । 

बीवाईडी एम–३

चिनियाँ इलेक्ट्रीक सवारी उत्पादक कम्पनी बीवाईडीले नेपाली बजारमा मिनि मल्टि यूटिलिटी भेइकल (एमपीभी) एम–३ ल्याउने भएको छ । बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले नयाँ गाडी ल्याउन लागेको हो । मिनि एमपीभी एम–३ दुई सिट अप्सन ५ र ७ सिटरमा उपलब्ध हुनेछ । यो गाडीको सुरुवाति मूल्य करिब ४५ लाख रुपैयाँ पर्ने साइमेक्सले जनाएको छ । यो गाडी नाडा अटो शोमा आउने छ । बीवाईडी एम–३ ले फूल चार्जमा ३५० किलोमिटर रेन्ज दिने कम्पनीले उल्लेख गरेको छ । 

नेपाली बजारमा उपलब्ध अन्य इलेक्ट्रीक कार पनि अटो शोमा राखिने छन् । रेनोको क्वीड इभी समेत आउने अनुमान गरिएको छ । सरकारले इलेक्ट्रीक सवारीलाई प्राथमिकता दिने नीति लिएकाले अन्य कम्पनीहरुले पनि इलेक्ट्रीक सवारी ल्याउन लागि पर्ने देखिएको छ । 

यो पनि पढ्नुहोस्: १० महिनामा १९० वटा इलेक्ट्रीक कार बिक्री, कुन कम्पनीको कति (तथ्यांकसहित)


Back_to_top