आकाश गोल्छालाई ५ प्रश्न : नेपाललाई ईभी ठीक कि पेट्रोल ?

काठमाडौं । विगत लामो समयदेखि अटोमोबाइल क्षेत्रमा काम गर्दै आएका जीओ फोर्डका प्रबन्ध निर्देशक आकाश गोल्छा एक अनुभवी व्यवसायी हुन् । उनी एक अटोमोबाइल व्यवसायीसँगै एक कुशल चालक पनि हुन् । ठूला र मस्कुलर गाडीमा अफरोड यात्रा गर्न मनपराउने गोल्छा कुनै समय ईभीको कुरै सुन्न चाहँदैनथे । त्यसैले मेरोअटोको उनलाई पहिलो प्रश्न थियो, नेपाललाई चाहिने पुरानै पेट्रोल गाडी कि नयाँ इलेक्ट्रीक ?

विश्वभर ईभी र इन्टरनल कम्बस्चनको लडाइँ चलिरहेको भए पनि हामीलाई चाहिएको हाइब्रिड हो । तर, दुर्भाग्य मैले बेच्ने ब्राण्डसँग हाइब्रिड छैन । प्योर हाइब्रिड र प्लगइन हाइब्रिड गाडीलाई विश्वभर इलेक्ट्रीक मानिन्छ । तर, हामीले त्यता ध्यान दिएका छैनौं । नेपालको भौगोलिक बनोटका कारण पेट्रोल÷डिजेल कार अझै लामो समय चल्छन् । ईभी त सहरी क्षेत्रमा चलेकै छन् । यी सबैको सोलुसन चाहिँ हाइब्रिड टेक्नोलोजी हो । त्यसमा माइल्ड हाइब्रिड पर्दैनन् ।

ईभी होस् वा पेट्रोलियम गाडी सबैका आ–आफ्नै विशेषता छन् । हाम्रो आवश्यकता अनुसारका गाडी छनोट गर्ने हो । दुर्गममा चल्ने महिन्द्राको बोलेरो जस्ता गाडीको विकल्प अहिल्यै ईभीमा कल्पना मात्रै हो । बने पनि त्यसको मूल्यकै कारण हाम्रो बसमा नरहला ।

बजेटको मध्यावधी समीक्षामा ईभीको कर बढाउने हल्ला सुरू भएको छ । तपाईँले व्यक्तिगत रूपमा कसरी लिनुभएको छ ?

म एउटा व्यवसायी हो । सरकारले ल्याएको एक वर्षे नीति अनुसार मैले व्यापार गर्दैछु । मैले व्यापार गर्दा सरकारले लिएको नीति अनुसार योजना बनाएको हुन्छु । तर, एक वर्षको लागि बनाएको कानुन ६ महिनामै परिवर्तन गर्छ भने त्यस्तोमा काम गर्न सकिँदैन नि । अहिलेको करका दरमा बसेर व्यापार गर्न मगाएका गाडीहरू अहिले बाटोमा छन् । ती गाडी कर बढ्यो भने कसरी बिक्री गर्ने ? त्यसैले कम्तीमा एक वर्षको योजनाबाट सरकारपछाडि हट्नु हुँदैन । राजश्व बढाउने अन्य थुप्रै उपाय छन् । पेट्रोल गाडीको कर निकै धेरै छ । त्यसको थोरै कर घटाउने हो भने पनि गाडीको बिक्री बढ्छ । राजश्व आउँछ । अब थोरै गाडीमा धेरै कर होइन, धेरै गाडीमा धेरै नै कर लिने अवस्था सृजना गर्नुपर्छ ।

ईभीको चार्जिङ स्टेशन निर्माण जुन गतिमा भएको छ, त्यसलाई कसरी हेर्नुहुन्छ ?

मैले ईभी बिक्री गरिरहेको छैन । सरकारी निकाय, निजी क्षेत्र र सामाजिक संघसंस्थाले बनाएका चार्जर योजनाबद्ध छैन भन्ने आवाज सुनिँदै आइएको छ । त्यसैले हामी सबैले चार्जिङ स्टेशन एकद्धार प्रणालीबाट बनाउन पाए राम्रो हुन्छ । त्यसमा पनि अहिले ईभीको लागि बनेका चार्जरहरूमा लाइन बस्नु परेमा आफूलाई व्यस्त राख्ने ठाँउहरू छैनन् ।

त्यसैले सबै स्टेक होल्डर बसेर आवश्यक स्थानको पहिचान गरी मनोरञ्जनस्थल, सपिङ कम्प्लेक्स, फूडकोटसहितको चार्जिङ स्टेशन निर्माणमा जोड दिनुपर्छ । त्यसले ईभीप्रति सकारात्मक सोच निर्माण गर्न सहयोग गर्छ ।

नाडामा वरिष्ठ उपाध्यक्ष बन्नु भयो । सहमति गरेको एक साता पनि नबित्दै राजीनामा गर्दै हुनुहुन्छ भन्ने हल्ला छ । किन ?

सहमति पालनाले व्यवसायीको प्रतिबद्धतालाई झल्काउँछ । नाडामा भएको सहमति कार्यान्वयन गर्नुहोस् भनेर अध्यक्षलाई भनेको हुँ । मैले मागेको होइन नि । सहमति पालना हुँदैन भने त्यहाँ बसेर अध्यक्षसँग किन झगडा गरिरहनु भन्ने हाम्रो बुझाइ हो ।

नाडा अटो क्षेत्रको लबिङ गर्न नसक्ने अवस्थामा पुगेको हो ?

विगतका वर्षमा नाडा फैलिएको छ । यसले लबिङ गर्न नसक्ने होइन बलियोसँग गर्न सक्ने भएको छ । देशको आर्थिक अवस्था कमजोर भएको समयमा केही ठोस काम नभएका होलान् । तर, हामीले सरकारलाई दिएको सुझाव सधैं सकारात्मक थियो । हामीले गाडी बन्द नगर्न भन्यौं । उहाँहरूले सुरूमा सुन्नु भएन । पछि त्यसको असर निकै लामो समयसम्म रह्यो ।

अर्थतन्त्रमा अटोमोबाइल क्षेत्रको योगदानका बारेमा नीति निर्मातालाई बुझाउँदै आएका छौं । उहाँहरूले सुन्नु हुन्छ भन्ने लाग्छ । जबसम्म सुन्नु हुन्न हामी सधैं सरकारलाई झक्झकाउँछौं ।


Back_to_top