कम लगानीमा ठूलो व्यापार गर्दै ‘फुड ट्रक’, यसरी गर्नुस् काम

काठमाडौं । गाडीको आबिष्कार, प्रयोग र तिनले मानव समाजमा पुर्‍याएको बहुआयामिक असरका बारे मेरोअटोमा केही दिन अघि सामग्री प्रकाशित भइसकेको छ । महिला अधिकार, मनोरञ्जन, पूर्वाधार बिकासजस्ता क्षेत्रमा कारले महत्वपूर्ण भूमिका खेलेकै छ । कारले बदलेको मानव जीवन, विलासिता कि आवश्यकता ?

पछिल्लो समय भने रेष्टुरेन्ट ब्यवसायसमेत गाडीमै सञ्चालन हुन थालेका छन् । त्यहाँ चर्चा नभएको र पछिल्लो समय बिश्यब्यापी रुपमा निकै फस्टाइरहेको ‘फुड ट्रक’को बिषयमा यहाँ चर्चा गर्न खोजिएको छ । ‘फुड ट्रक’ निकै छरितो, कम खर्चिलो र नाफाजनक ब्यवसाय भैसकेको छ, पछिल्लो समय । 

नेपालमा पनि ‘ड्याडीस् किचन’ लगायत केही रेष्टुरेन्ट ब्यवसायहरु गाडीमै सञ्चालन हुन थालिसकेका छन् । 

कुनै पनि नयाँ ‘फाष्ट फुड’ रेष्टुरेन्ट खोल्ने चाहना गरिरहेको वा भर्खरै खोलेको नवउद्यमीलाई रेष्टुरेन्ट खोले पछि तपाईंको सबैभन्दा ठूलो चुनौति के होला भनेर सोध्यो भने उसको जवाफ संभवत, ग्राहकहरु आउलान् वा नआउलान् भन्ने नै हो । 

तर, काम गरिसकेपछिको अवस्था भने धेरै नै फरक हुन्छ । स–साना कुराहरुमा घरबेटीसँगको किचकिच, फोहर ब्यवस्थापन, पानीको ‘जुगाड’ कर्मचारी ब्यवस्थापन जस्ता झमेलामा फस्दै गर्दा उक्त नवउद्यमी खानाको स्वाद र गुणस्तर, ग्राहकहरुलाई दिने सेवा र प्रविधिको प्रयोग जस्ता रेष्टुरेन्टलाई गुणात्मक फड्को मार्न सहयोग पु¥याउने कामहरुमा केन्द्रित हुन पाउँदैन । र, अन्तत ब्यवसाय नै असफल हुने खतरा रहन्छ । 

तर, फुड ट्रकमा यस्ता समस्या रहँदैनन् । खुल्ला ठाँउ, मानिसहरु धेरै ओहरदोहर गर्ने चोक, पार्क, खेलकुद मैदानका छेको पारेर राखिने फुड ट्रकले केही घण्टामै मनग्य ब्यापार गर्न सकिन्छ । परम्परागत गाडा वा ठेला भन्दा छरितो, ब्राण्डको झल्को आउने र दिर्घकालिन रुपमा फष्ट फुड चेनकै रुपमा बिकसित गर्न सकिने ब्यवसाय हो फुड ट्रक । 

नेपालमा पछिल्लो समय ‘टाटा एस’ गाडीमा केही लाख खर्च गरी चुल्लो, ओभन, भाँडाकुँडा आदी जोडेर सडकमा रेष्टुरेन्ट खोल्ने चलन शुरु भैसकेको छ । 

नेपालमा चल्तीको ठाँउमा कुनै पनि ब्यवसाय गर्दा सबैभन्दा खर्चिलो काम भनेकै मासिक रुपमा घरबेटीलाई बुझाउने भाडा हो । तर, फुड ट्रकमा यो लेठो रहदैंन । ८–१० लाखमै पुरानो छरितो गाडी किनेर भान्छा नै बनाउन सकिन्छ, जुन सामान्य भन्दा सामान्य रेष्टुरेन्ट खोल्न पनि खर्च भैहाल्छ । खुल्ला ठाउँमा फुड ट्रक राख्दा तिर्नै परे कुनै सरकारी निकाय वा स्थानीय संस्थालाई न्युनतम रकम तिरे भैहाल्यो । 

अन्य रेष्टुरेन्टको तुलनामा फुड ट्रक नचल्ने जोखिम खासै रहदैंन । किनभने मानिसहरुको ओहरदोहर कम भएको वा आफुले सोचेको भन्दा कम ब्यापार भए तुरुन्तै अर्को ठाउँ खोज्न थाले भैहाल्यो । घर वा टहरोमा खोलेको रेष्टुरेन्ट नचले त तुरुन्तै निक्लन पाइएन नी ! फेरी, बिभिन्न समयमा बिभिन्न ठाउँमा घुम्दै अधिकतम लाभ लिने छुट पनि फुड ट्रकलाई हुन्छ । यही कारणले गर्दा विकसित देशहरुमा यो ब्यवसायले ठूलै छलाङ लगाइसकेको छ । 

उदाहरणको लागि अमेरिकामा फुड ट्रकको ब्यापार सन् २०१३ मा ६५ करोड डलरबाट सन् २०१७ मा आइपुग्दा झण्डै ३ अर्ब डलर पुगिसकेको छ । अमेरिकामा ३० हजार देखी ४० हजार फुड ट्रक क्रियाशिल रहेको अनुमान गरिन्छ । 

फुड ट्रकमा भाडा, बत्ति पानीलगायत अन्य सञ्चालन खर्च कम हुने (सानो र छरितो भएका कारण) हुनाले ग्राहकहरुलाई पनि सस्तो र गुणस्तर खाना खान पाउने सुबिधा हुन्छ । र, भित्र छिरेर भन्दा आफु हिँड्दै डुल्दै गरेको र खेल्दै गरेको ठाउँमै खाना खान सक्ने सुबिधा रहन्छ । 

गाडी नेपालमा मुलत यातायात, ढुवानी र विलासी बस्तुको रुपमा प्रयोग हुँदै आएको छ । तर, सहर बजारमा बाहिर खाने र नयाँ नयाँ खाना चाख्ने संस्कृतीको विकास हुन थालेसँगै मझौला खाले गाडीहरु फुड ट्रकको रुपमा बिकसित भएर ब्यवसायीक संभावनाहरुको ढोका खोल्न अब धेरै समय लाग्ने छैन ।


Back_to_top