नयाँ नियमले अर्बौंको हेलमेट बिक्री हुने, गुणस्तरमा चिन्ता

Not found

काठमाडौं । ट्राफिक प्रहरीले मोटरसाइकलको पछाडि बस्नेले पनि हेलमेट अनिवार्य रुपमा लगाउनु पर्ने व्यवस्था कार्यान्वयन गर्ने बताएको छ । यसले सुरक्षाको विषयलाई जोड दिएको देखिन्छ । नेपालमा सबैभन्दा धेरै सवारी दुर्घटना दुई पांग्रे सवारीकै कार हुने गरेको तथ्यांक छ । 

मोटरसाइकल तथ स्कुटरको पछाडि बस्नेले पनि हेलमेट लगाउँदा दुर्घटनाबाट हने क्षति कम हुने भन्दै ट्राफिक प्रहरीले दुई पांग्रे सवारीमा सवार हुनु दुवैले हेलमेट लगाउनु पर्ने नियम लागु गर्न लागेको जनाएको छ । 

यसले हेलमेटको बजार अस्वभाविक रुपमा वृद्धि हुने देखिएको छ । हाल नेपाली बजारमा १ हजारदेखि १०÷१२ हजार भन्दा बढी मूल्यसम्मका हेलमेट बिक्री हुँदै आएको छ । १ हजार रुपैयाँमा पाइने हेलमेट निक्कै कमसल हुने व्यवसायीहरुको भनाई छ । 

१५ सय रुपैयाँ भन्दा माथिको हेलमेट लगाउनु सुरक्षाको हिसाबले राम्रो मानिने लामो समयदेखि हेलमेट व्यवसाय गर्दै आएका राजन पौडेलले बताए । ‘बजारमा १ हजार रुपैयाँमै पनि हेलमेट पाइन्छ । तर त्यसको गुणस्तर के, कति सुरक्षित छ भनेर कसले हेर्ने,’ उनले भने, ‘त्यसैले यसमा सस्तोमा पाइयो भन्दैमा किन्न नहुने उनको सुझाव छ ।’ 

प्रमाणित गर्न, गुणस्तर मापन गर्ने मेसिन नै नभएकाले कमसल हेलमेटको विगबिगी रहेको उनले बताए । आइएसओ प्रमाणित हेलमेट लगाउन सुरक्षित हुने पौडेलको सुझाव छ । सरकारले मोटरसाइकलको पछाडि बस्नेलाई पनि हेलमेट अनिवार्य गर्नु राम्रो भएको तर संगै गुणस्तर परिक्षण नहुने हो भने त्यो झन असुरक्षित हुने उनको तर्क छ । गुणस्तरीय हेलमेटलाई २५ सयदेखि ४ हजार रुपैयाँसम्म पर्छ । 

यातायात व्यावस्था विभागको तथ्यांक अनुसार आर्थिक वर्ष ०७४÷०७५ सम्म २५ लाख ३० हजार ७२२ वटा दुई पांग्रे सवारी साधन दर्ता छन् । चालू आवको १० महिनामा करिब २ लाख मोटरसाइकल तथा स्कुटर दर्ता भएको अनुमानछ । 

हाल नेपाली बजारमा वाषिर्क चार लाख हेलमेट बिक्री हुने व्यवसायीहरुको भनाइ छ । 

दर्ता भएका सबै मोटरसाइकल चालु अवस्थामा नरहेपनि करिब २० लाख मोटरसाइकल चालु अवस्थामा रहेको प्रहरीको अनुमान छ । २० लाख मोटरसाइकलमा एउटा हेलमेट भएपनि नयाँ नियम लागु भएपछि थप २० लाख हेलमेट आवश्क पर्दछ । 

२० लाख हेलमेटको औषत मूल्य ३५ सय रुपैयाँ मान्ने हो भने ७ अर्ब रुपैयाँको हेलमेट आवश्यक पर्ने देखिन्छ । यसमा महगा हेलमेट किनियो भने त्यो मूल्य बढ्ने देखिन्छ । नयाँ नियम लागु हुने हो भने करिब १० अर्ब रुपैयाँको हेलमेट व्यापार स्वतः बढ्ने देखिन्छ । 

ट्राफिक प्रहरी महाशाखाले विभागलाई पठाएको संशोधनमा यात्रुले प्रयोग गर्ने हेलमेट आइएसओ मापदण्डको हुन पर्ने उल्लेख छ । ट्राफिक प्रहरी अनुसार आर्थिक वर्षको पछिल्लो १० महिनामा ११ हजार १०१ मोटरसाइकल तथा स्कुटर दुर्घटनामा परेका छन् । उक्त दुर्घटनामा ३ हजार १ सय ८६ जना घाइते भएका छन् भने १५७ जनाको मृत्यु भएको छ ।

त्यसैले दुर्घटनाबाट हुने क्षति कम गर्न ट्राफिक मोटरसाइकलमा सवार दुवैले हेलमेट लगाउनु पर्ने नियम कार्यान्वय गर्न लागेको जनाएको छ । विगतमा पनि यस्तो नियम भएपनि बीचमा रोकिएको थियो ।   



image not found