माइलेज धेरै दिने इलेक्ट्रीक कर

काठमाडौं । इलेक्ट्रीक कार अहिलेको विश्वमा प्रदूषण रहित सवारीको विकल्पको रुपमा रहेको छ । इलेक्ट्रीक सवारीको महंगो प्रविधि र व्याट्रीमा प्रयोग हुने पदार्थको सीमितताका कारण इलेक्ट्रीक सवारीको पनि विकल्पको खोजीमा विश्वका ठूला सवारी उत्पादन कम्पनीहरु घनिघुत तरिकाले लागि परेका छन् । 

तथापी अहिले इन्धनबाट चल्ने सवारीको विकल्पको रुपमा इलेक्ट्रीक सवारी नै रहेका छन् । विभिन्न कम्पनीहरुले इलेक्ट्रीक कार तथा बसको उत्पादनमा ठूलो रकम खर्चिएका छन् । त्यसैको फलस्वरुप एक पटकको फुल चार्ज गर्दा सयौं किलोमिटर दूरी तयगर्ने कारहरु बनेका छन् । यहाँ हालसम्म बनेका धेरै माइलेज दिने इलेक्ट्रीक कारको बारेमा उल्लेख गरिएको छ । 

५. निसान लिफ प्लस


जापानी कार उत्पादन कम्पनी निसानले उत्पादन गरेको इलेक्ट्रीक कार उच्च रेञ्ज प्रदान गर्ने कारको सूचीमा पर्छ । निसानले बनाएको इलेक्ट्रीक कार लिफको नयाँ भर्सन लिफ प्लस बजारमा आएको छ । यो कारमा ६२ केडब्लूएच लिथियम आयन व्याट्री रहेको छ । यसमा विगतको भन्दा शक्तिशाली सिंगल मोटरमा आएको लिफ प्लसले एक पटकको फूल चार्जमा ३६३ किलोमिटर माइलेज दिन्छ । 

४. ज्यागुअर आइ–पेस


बेलायती कार उत्पादन कम्पनी ज्यागुअर ल्यान्ड रोभरले बनाएको ज्यागुअर आइ–पेसमा डूअल मोटर इलेक्ट्रीक ड्राइभ सिस्टम रहेको छ । यसमा ९० केडब्लूएच लिथियम आयन व्याट्री रहेको छ । ज्यागुअर आइ–पेसले एक पटकको फुल चार्जमा ३७६ किलोमिटर रेन्ज दिन्छ । 

३. किया निरो इभी


दक्षिण कोरियाली गाडी उत्पादक कम्पनी कियाको निरो इभीले नयाँ मानक नै स्थापित गरेको छ । यो कारमा ६४ किलोवाट (केडब्लूएच) को लिथियम आयन व्याट्री र सिंगल इलेक्ट्रीक मोटर रहेको छ । किया निरोले एक पटकको फुल चार्जमा ३८४ किलोमिटरको दूरी तय गर्न सक्छ । 

२. हुन्डाई कोना इभी 


कोरियाली कार उत्पादन कम्पनी हुडाईको इलेक्ट्रीक कार कोना विश्वभर नै चर्चामा रहेको कार हो । कोना इभी क्रसओभर कार हो जसमा ६४ केडब्लूएच व्याट्री प्रयोग गरिएको छ । यसमा सिंगल इलेक्ट्रीक मोटर रहेको छ । कोना इभीले एक पटकको फुल चार्जमा ४१५ किलोमिटर माइलेज दिन्छ । 

१. टेस्ला मोडल एस लङ रेन्ज


अमेरिकी इलेक्ट्रीक कार उत्पादक कम्पनी टेस्ला इलेक्ट्रीक कार उत्पादनमा विश्वमै कहलिएको छ । टेस्लाले बनाएका इलेक्ट्रीक कारहरुको माइलेज उत्कृष्ट रहेको छ । यहाँ टेस्लाको सबैभन्दा धेरै माइलेज दिने कारको बारेमा उल्लेख गरिएको छ । 

टेस्लाको मोडल एस सेडान कारले एक पटकको फुल चार्जमा ५३९ किलोमिटरको दूरी तय गर्न सक्छ । ट्वीन इलेक्ट्रीक मोटर रहेको टेस्ला मोडल एसमा १ सय केडब्लूएचको व्याट्री रहेको छ । 

त्यसैगरी धेरै माइलेज दिनेमा टेस्ला मोडल थ्री पनि पर्छ जसले ४९८ किलोमिटर रेञ्ज प्रदान गर्छ । टेस्लाकै मोडल एक्स पनि धेरै माइलेज दिने कार हो । यसलाई एकपटकको फुल चार्जमा ४ सय ७४ किलोमिटरसम्म चलाउन सकिन्छ । 


Back_to_top