यस्तो छ होन्डाको पहिलो इलेक्ट्रीक कारको मूल्य (फोटो-फिचरसहित)

काठमाडौं । दुई पावर आउटपुट अप्सनसहित होन्डाले निर्माण गरिरहेको इलेक्ट्रीक कार ‘होन्डा ई’ आगामी फ्राङ्फर्ट मोटर शोमा सार्वजनिक भएको छ । कार सार्वजनिक सँगै कम्पनीले यसको मूल्यसमेत तोकेको छ । 

कम्पनीले यसको मूल्य अपेक्षा गरिएको भन्दा निकै कम राखेको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् । यसअघि करिब ४५ हजार डलर मूल्य पर्ने अनुमान गरिएको यो कारको मूल्य अहिले ३६ हजार ९५७ डलर तोकिएको छ ।

यदि यो कार नेपाल आउने हो भने यसको मूल्य करिब ६० लाख रुपैयाँ हाराहारीमा पर्ने देखिन्छ ।  

होन्डाको आफ्नो पहिलो पूर्ण इलेक्ट्रीक कारमा रहेको दुई मोटरले क्रमस १३६ हर्षपावर र १५४ हर्षपावर उत्पादन गर्ने जनाएको छ । साथै यी कारले ३१५ एनएम टर्क उत्पादन गर्ने क्षमता राख्छन् । 

सहरी क्षेत्रलाई केन्द्रमा राखेर निर्माण भएको होन्डाको यो इभीमा ३५.५ किलोवाटको ब्याट्री लगाइएको छ । यसले एकपटकको फुल चार्जमा २२० किलोमिटर रेन्ज प्रदान गर्ने छ । उक्त व्याट्रीलाई ५० किलोबाटको फास्ट चार्जरले ३० मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिने बताइएको छ । 

यसमा १२.३ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डोर मिररको स्थानमा क्यामरा, ६ इन्चको अर्को छुट्टै स्क्रिनजस्ता फिचर दिइएको छ । 

होन्डाले ड्राइभर तथा प्यासेन्जरलाई ड्राइभिङ्गको समयमा राम्रोसँग देख्न सकियोस् भनेर साइड मिरर क्यामरा लगाएको जनाएको छ । 

सन् २०२० को अन्त्यसम्ममा नेपाली बजारमा आउनसक्ने यस मोडल निकै उत्कृष्ट डिजाइन र सुरक्षीत रहेको मानिएको छ ।

कारमा दिइएको साइड क्यामराले ड्राइभर र अगाडिको प्यासेन्जरलाई भिजीबिलिटी प्रदान गर्छ । यस प्रविधि मार्फत ब्लाइन्ड स्पटमा हुने दुर्घटना १० देखि ५० प्रतिशतसम्मले कम गर्न सकिने कम्पनीले जनाएको छ ।

यो क्यामेराले खराब मौसम, प्रकाश र रातको समयमा पनि राम्रो भिजीविलिटी प्रदान गर्ने दाबी गरिएको छ ।


Back_to_top