६ महिना भित्र नेपालमै बनेको इलेक्ट्रीक कार चढ्न पाइने, यस्तो हुनेछ मूल्य

Not found

काठमाडौं । नेपालमा पहिलो गाडी उत्पादन गरेको हुलास मोटर्सले अब इलेक्ट्रीक कार उत्पादन गर्ने भएको छ । ‘नेपाल प्रदूषण मापदण्ड २०६९’ लागु भएपछि उक्त कम्पनीको उत्पादन बन्द भएको थियो । 

गोल्छा अर्गनाइजेसन अन्तर्गतको हुलास मोटर्सले अबको ६ महिना भित्र नेपालमै विद्युतीय गाडी बनाएर बजारमा ल्याउने भएको छ । २०७१ सालदेखि नयाँ प्रदूषण मापदण्डका कारण हुलासले नेपालमै बनाएको पहिलो गाडी मुस्ताङको उत्पादन बन्द भएको थियो । त्यसयता कम्पनीले इलेक्ट्रीक कार उत्पादनको तयारी गर्दै आएको हुलास मोटर्सका जनरल म्यानेजर प्रफुल्लचन्द्र दासले बताए । 

‘मुस्ताङ गाडी उत्पादन बन्द भएदेखि नै हामीले इलेक्ट्रीक कार उत्पादनको तयारी थालेका हौं,’ दासले मरोअटोसँग भने, ‘अबको ६ महिना भित्र हामी नेपालमै बनेको इलेक्ट्रीक कार सार्वजनि गर्ने गरि काम गरिरहेका छौं ।’ 

कम्पनीले उत्पादन गर्ने इलेक्ट्रीक कारमा लिथियम आयन व्याट्री प्रयोग गरिने छ । हुलासले बनाउने इलेक्ट्रीक कारले एक पटकको फुल चार्जमा १ सय ५० देखि २ सय २० किलोमिटरसम्म माइलेज दिनेछ । 

हुलास मोटरले आफ्नो पुरानो गाडी उत्पादन भएको प्लेटफर्मलाई प्रयोग गरेर इलेक्ट्रीक कार बनाइरहेको दासको भनाई छ । अब भविष्य इलेक्ट्रीक कारको भएकाले कम्पनीसँग भएको विगतको संरचनालाई प्रयोग गरेर कार बनाउन लागिएको उनले बताए । 

नेपालमा उत्पादित इलेक्ट्रीक कारको मूल्य १५ देखि २० लाख रुपैयाँ हुनेछ । कारको नाम के हुने भन्ने बारेमा कम्पनीले केही बताएको छैन । 

सरकारले आउँदै गरेको बजेटमार्फत नेपालमै इलेक्ट्रीक कार उत्पादनलाई केही सहुलियत दिने हो भने अझ सजिलो हुने दासले बताए । नेपालमा सवारी एसेम्बल गर्ने चर्चा चलिरहँदा नेपाली पुरानो गाडी निर्माता कम्पनीले इलेक्ट्रीक कार बजारमा ल्याउन लागेको हो ।

हुलास मोटरले कम्पनी सञ्चालनका लागि तीनपांग्रे इलेक्ट्रीक रिक्सा उत्पादन गरि बिक्री गर्दै आएको दासको भनाई छ । अब भने कम्पनीले इलेक्ट्रीक कार बनाउने भएको हो । 

यो पनि पढ्नुस्: इलेक्ट्रीक गाडीमा भन्दा चार्जरमा भन्सार बढि छः निराकार श्रेष्ठको अन्तर्वार्ता



image not found