यस्तो छ अर्थ मन्त्रालयले गरेको हाइब्रिडको परिभाषा (पत्रसहित)

काठमाडौं । नाडा अटो शो २०१९ को उद्घाटनमा  पुगेर व्यवसायीहरुले हाईब्रिडको नाममा कर चोरी गर्न खोजेको आरोप लगाएका अर्थ मन्त्रीले हाइब्रिडको परिभाषासहित सबै भन्सार कार्यालयहरुलाई पत्र पठाउन लगाएका छन् । 

भदौ १० गते सबै भन्सार कार्यालयहरुलाई पठाइएको पत्रमा ‘हाइब्रिड सवारीसाधनको महसुल छुटसम्बन्धी विषयमा नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०७६/०५/०४ को निर्णय अनुसार छाँयाप्रति यसैसाथ राखि पठाएको व्योहोरा आदेशाअनुसार छ’ भनि उल्लेख भएको छ । 

सरकारले चालु आर्थिक वर्षको बजेटबाट हाइब्रिड कारमा ५० प्रतिशत भन्सार र ५० प्रतिशत अन्तःशुल्कमा छुट दिने घोषणा गरेसँगै अटो क्षेत्रमा तरङ्ग आएको थियो । 

त्यति बेला बजेटले हाइब्रिडको परिभाषा नगरेपनि अहिले आएर संसारभर हाइब्रिड भनेर चिनिने गाडी पनि हाइब्रिडको कोटाबाट बाहिर निकाल्ने काम भएको छ ।

अब सरकारले गाडीमा रहेको व्याट्रीबाट गाडी स्वतन्त्ररुपले चल्नु पर्ने र त्यसमा रहेको व्याट्रीलाई बाह्य विद्युतीय शक्तिबाट चार्ज गर्न मिल्ने हुनु पर्ने उल्लेख गरेको छ । 

आर्थिक वर्ष २०७६/७७ को लागि अर्थ मन्त्री डा. यूवराज खतिवडाले जेठ १५ गते संघीय संसदमा पेश गरेको बजेटमा हाइब्रिड कारको आयातमा व्यापक छुट दिने घोषणा गरेका थिए । 

आर्थिक अध्यादेश मार्फत ८७.०२ र ८७.०३ अन्तर्गत पर्ने कम्प्रेसन–इग्निसन इन्टरनल कम्बसन पिस्टोन इन्जिन (डिजल वा अर्ध डिजेल) र धक्का दिने विद्युतीय मोटर दुबै भएका तथा स्पार्क–इग्निसन इन्टरनल कम्बसन रेसीप्रोकेटिङ पिस्टोन इन्जिन र धक्का दिने विद्युतीय मोटर दुबै भएका सवारी साधन पैठारी गर्दा दरबन्धी बमोजिम लाग्ने भन्सार महसुलमा पचास प्रतिशत छुट हुनेछ भनि उल्लेख गरिएको थियो ।

बजेटमा कस्तो सवारीसाधनलाई हाइब्रिड भन्ने नखुलाईएकाले बजारमा रहेका बिभिन्न किसिमका हाइब्रिड कार नेपाल प्रबेश गर्ने प्रयास भएसँगै सरकारले यसमा कडाई सुरु गरेको हो । तर, सरकारले कडाई गर्दा संसारभर प्योर हाइब्रिड भनेर चिनिने सवारीसाधनलाई समेत हाइब्रिड कोटाबाट बाहिर निकालेको छ । 


Back_to_top