काठमाडौं । हुन्डाई मोटर्सको पछिल्लो उत्पादन भेन्यू नेपाली बजारमा भदौ ५ गते बिहिवार सार्वजनिक हुने भएको छ । नेपालको लागि हुन्डाई मोटर्सको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल्सले भेन्यूलाई नेपाल ल्याएको हो ।
कम्पनीले भदौं १० गतेबाट सुरु हुने अटो शोलाई मध्यनजर गर्र्दैै आफ्नो नयाँ उत्पादन नेपाली बजारमा सार्वजनिक गर्न लागेको हो ।
कम्पनीले भेन्यूलाई तीन इन्जिन अप्सनमा बजारमा उतारेको छ । जसमा १.० लिटर टर्बो चार्ज्ड पेट्रोल, १.२ लिटर पेट्रोल र १.४ लिटर डिजल रहेको छ । १.० लिटर कप्पा टी–जीडीआई पेट्रोल इन्जिनले १२० पीएसको पावर र १७५ एनएम टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ७ स्पीड अटोमेटीक र म्यानुअल ट्रान्समिशन दिइएको छ ।
भेन्यूको १.२ लिटर पेट्रोल इन्जिनले ८३ पीएसको पावर र ११५ एनएमको टर्क जनेरेट गर्छ । यो इन्जिनमा ५ स्पीड म्यानुअल ट्रान्समिशन समावेश गरिएको छ । त्यस्तै १.४ लिटर डिजेल इन्जिनले ९० पीएसको पावर २२० एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड म्यानुअल ट्रान्समिशन समावेश गरिएको छ ।
हुन्डाईका निकै महंगा गाडी कोना र सान्ता फेबाट प्रेरित रहेको भेन्यूको अगाडिको आफ्नो चर्चित सिग्नेचर ग्रिलको प्रयोग गरिएको छ । गाडीको पछाडिको भाग निकै आकर्षक र स्टाइलिस रहेको छ । यसमा कम्पनीले नयाँ डिजाइनको टेल ल्याम्प दिएको छ ।
३९९५ एमएम लम्बाई, १७७० एमएम चौडाई र १५९० एमएम उचाई रहेको भेन्यूमा ह्वीलबेस २५०० एमएमको दिइएको छ । ठूलो क्याविन र स्पोर्टी सिटले सबैलाई लोभ्याउन सक्ने छ ।
कारमा इलेक्ट्रीक सनरुफ, वायरलेस फोन चार्जिङ, एयर प्युरिफायर र क्रुज कन्ट्रोल जस्ता फिचरहरु रहेको छ । ड्यास बोर्डमा निकै स्टाइलिससँग सजाईएको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमले जो कोहीलाई लोभ्याउँन सक्छ ।
भेन्यू भारतकै पहिलो स्मार्ट कनेक्टेड गाडीसमेत हो । यसमा दिइएको ब्लू लिंक टेक्नोलोजीले गाडी घरमै बसेर कन्ट्रोल गर्न सकिन्छ । ३३ स्मार्ट कनेक्टेड फिचर यसमा रहेको भएपनि नेपालमा कतिवटा फिचरले काम गर्न सक्छ अहिल्यै बताउन सक्ने अवस्था छैन । कम्पनीले नेपाली बजारमा यसको मूल्य भने सार्वजनिक गरेको छैन ।

