भारतमा हुन्डाई भेन्यू र मारुती सुजुकी भिटारा ब्रेजाबीच कडा प्रतिस्पर्धा

काठमाडौं । २०१९ मे १५ मा भारतीय बजारमा सार्वजनिक भएको हुन्डाई भेन्यूले छोटो समयमा राम्रो बजार पाइरहेको छ । नेपाली बजारमा अगस्टमा सार्वजनिक गर्ने जनाइएको सब–४ मिटर कम्प्याक्ट एसयूभीले भारतीय बजारको बिक्रीमा जुन महिनामा मारुती सुजुकी ब्रेजालाई भेट्टाएको हो ।

यसको प्रमुख प्रतिस्पर्धी मोडल मारुती भिटारा ब्रेजाले भारतीय बजारमा मात्रै नभई नेपाली बजारमा समेत राम्रो बजार बनाएको छ । भारतीय बजारमा २ वर्षमा ३ लाख बिक्री भएको यो कार नेपाली बजारमा सीजी मोटोकर्पले बिक्री गर्दै आएको छ । यो कार नेपाली बजारमा २०७५ साउनदेखि २०७६ बैशाखसम्मको १० महिनाको अवधिमा ७ सय ९९ वटा बिक्री भएको छ ।

भेन्यू र ब्रेजा एक अर्काका कडा प्रतिस्पर्धी हुन् । जुनमा भारतीय बजारको बिक्री हेर्दा मारुती सुजुकी ब्रेजा हुन्डाई भेन्युभन्दा १ सय ८ युनिट मात्रै बढी बिक्री भएको छ ।

जुनमा ब्रेजा ८ हजार ८७१ युनिट बिक्री भएको छ भने, भेन्यू ८ हजार ७६३ युनिट बिक्री भएको छ । २०१८ को जुनमा १० हजार ७ सय १३ युनिट बिक्री भएको ब्रेजाको ब्यापार २०१९ को जुनमा १७.१९ प्रतिशतले घटेको बिक्री आँकडाले देखाएको छ ।

यस्तै, २०१९ को मेमा ब्रेजा ८ हजार ७ सय ८१ युनिट बिक्री भएको थियो भने भेन्यू ७ हजार ४९ युनिट बिक्री भएको थियो । यसले भेन्यूको ब्यापार क्रमिक रुपमा बढ्दै गएको प्रस्ट्याएको छ ।

कुनमा के विशेषता ?

हुन्डाई भेन्यूमा इलेक्ट्रिक सनरुफ, वायरलेस फोन चार्जिङ, एयर प्युरिफायर र क्रुज कन्ट्रोल जस्ता फिचरहरु पाइन्छ । साथै यसमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमको प्रयोग पनि गरिएको छ जसले एप्पल कारप्ले र एन्ड्रोइड अटोलाई सपोर्ट गर्छ । यसमा ३३ स्मार्ट कनेक्टेड फिचर उपलब्ध रहेको छ ।

यति मात्र होइन सो कनेक्टिभिटी टेक्नोलोजीमा एआईमा आधारित भ्वाइस कमान्ड, लोकेशन ट्रयाक सर्भिस, इन्जिन, सेफ्टी र अन्य फिचर पनि रहेको छ । हुन्डाई भेन्यूको फ्रन्टमा हुन्डाई सिग्नेर ग्रिलको प्रयोग गरिएको छ, जसको कारण यो निकै आक्रामक देखिन्छ । सो एसयूभीको रियर लुक्स निकै आकर्षक देखिन्छ साथै यसमा नयाँ डिजाइनको टेल ल्याम्प्सको प्रयोग गरिएको छ ।

त्यस्तै, ब्रेजामा आन्तरिक सजावटका लागि पियानो फिनिससहित स्पोर्टी सिटको प्रयोग गरिएको छ । यात्रामा आरामदायी अनुभवका लागि कारमा यस सेग्मेण्टअन्तर्गतकै ठूलो क्याविन र बुटस्पेस उपलब्ध छ ।

कारमा चालक तथा यात्रुको सुरक्षामा पनि विशेष ध्यान दिइएको छ । यसका लागि कारमा कम्प्युटर एडेड डिजाइन प्रयोग गरिएको सुजुकी टीईसीटी प्रणाली जडान गरिएको छ । साथै, एयरब्याग, एबीएसलगायत सुविधा पनि कारमा उपलब्ध छ ।

कम्पनीले कारमा बेष्ट इन क्लास फिचर्सका रूपमा एप्पल कार प्लेसहितको स्मार्ट प्ले इन्फोटेनमेन्ट प्रणाली, क्रुज कन्ट्रोल, एन्टी पञ्चर गार्ड, पावर विन्डोलगायत फिचर्स उपलब्ध गराएको छ ।

कारमा किलेस एण्ट्री, स्टेरिङ माउण्टेड कण्ट्रोल, ब्लू टूथ, भ्वाइस कमान्ड, इन्जिन स्टार्ट स्टप बटन, क्यामरासहितको पार्किङ सेन्सर, अटो एसीलगायत सुविधा पनि उपलब्ध छ ।


Back_to_top