कलंकी-महाराजगञ्ज सडक बिस्तारमा चिनियाँ कम्पनी चनाखो, यस्तो छ ढिला हुनुकाे कारण

काठमाडौं । चक्रपथ विस्तार आयोजना अन्तर्गत दोस्रो चरणको काम सडकका पोल र रुख नहटाएसम्म चिनियाँ कम्पनीले अघि नबढाउने भएको छ । 

कम्पनीले पहिलो चरणको काममा स्थानिय अबरोध र विद्युतका पोल नहटाइएकाले समयमा काम सम्पन्न हुन नसकेको र त्यसको अपजस आफुहरुमा आएको भन्दै सडकका घर, टहरा, रुख र विजुलीको पोल नहटाएसम्म डीपीआर निर्माणको काम समेत नगर्ने सडक विभागमा जानकारी गराएका थिए । 

चिनियाँ कम्पनीको उक्त प्रस्तावपछि दुई महिना अघिदेखि उक्त क्षेत्रका रुख, टहरा र विद्युतका पोल हटाउने काम भइरहेको विभागले जनाएको छ ।

‘पहिलो चरणमा धेरै समय लागेकोले दोस्रो चरणमा चिनियाँ कम्पनीले स्थान खाली भएपछि काम सुरु गर्छु भनेको छ, हामीले त्यही अनुसार काम सुरु गराई सकेका छौं’ सडक विभागका महानिर्देशक केशवकुमार शर्माले मेरोअटोसँग भने । 

सडकमा रहेका रुख तथा पोलका कारण सडक निर्माण सुरु भएपछि बीच–बीचमा रोकिने भएकाले चिनियाँ कम्पनीले सडक विस्तारको काम सुरु नगरेको हो । 

उक्त सडकखण्डमा पर्ने शसस्त्र प्रहरी र नेपाली सेनाको व्यारेकमा भएको कम्पाउन्डसमेत सार्नु पर्ने भएकाले सडक विभागले उक्त पर्खाल सार्न सम्बन्धीत निकायलाई अनुरोध गरेको शर्माले जानकारी दिए ।

‘तपाईहरु वाल सारिदिनुस् त्यसमा लाग्ने खर्च बरु सडक विभागले व्योहर्छ भनेका छौ, आशा गरौ अबको केही दिनमा सबै सडक बिस्तारको क्षेत्र खाली हुने छ । 

नापी लगाएर चीनो लगाइदिने काम विभागले पहिलै गरिसकेको र हाल रुख काट्ने काम गरिरहेको भन्दै महानिर्देशक शर्मा दोस्रोखण्डको काम पहिलो जस्तो धेरै समय नलाग्ने बताउँछन् । 

तेस्रो चरण अन्यौलमा

तेस्रो चरणको विस्तार महारजगंजदेखि कोटेश्वरसम्मको क्षेत्रमा गर्नु पर्ने भएकाले चावहिल क्षेत्रमा रहेका घर भत्काउँदा ठूलो रकम मुआव्जा तिर्नु पर्ने हुन्छ । त्यसैले त्यसको वैकल्पिक बाटोको खोजी भइरहेको शर्माले जानकारी दिए । 

चावहिलको सबै घर भत्काउनु पर्ने अवस्थामा छ । त्यसका लागि रिङरोड नै लम्ब्याएर करिडोर तिर हाल्ने की भन्ने विषयमा समेत छलफल भइरहेको उनले बताए । 


Back_to_top