कावासोती कार दुर्घटनाः सामाजिक सञ्जालमा नयाँ बहस

Not found

केही दिन अघि एक जना बुढी आमैले चिताको आगोमा रोटी सेकेर अनाथ बालबालिकालाई खुवाएको समाचार कतै पढिएको थियो । घटना नेपालको हो वा भारतको, ठ्याक्कै याद भएन । खर्र समाचार हेर्दा हृदय रसाएको थियो । उनीसँग दाउरा किनेर त्यसमा रोटी सेकेर बालबालिकालाई खुवाउने आर्थिक हैसियत थिएन ।

त्यसको केही दिनपछि नेपालको सामाजिक सञ्जालमा पनि धेरै मानिसहरु ‘चितामा रोटी सेकाउँदै’ गरेका भेटिए । तर, दुःखको कुरा, उनीहरु पैसाको कमीले वा कुनै पवित्र मनशायले चिताको आगोमा रोटी सेकिरहेका थिएनन् । 

उनीहरु थिए, नेपालका अटो क्षेत्र सम्बद्ध व्यक्तिहरु । र, चितामा आगोमा रोटी सेक्नुको उद्देश्य थियो, आफ्नो ब्राण्डको प्रबद्र्धन गर्नु र आफ्नो प्रतिसपर्धीको ब्राण्डको बदनाम गराउनु ।

प्रसंग हो, नवलपरासीमा भएको कार दुर्घटना ।

नवलपरासीको कावासोतीमा गत सोमबार राती १० बजे पश्चिमबाट पूर्वतर्फ आउँदैं गरेको ट्रक र विपरित दिशाबाट जाँदै गरेको कार एक आपसमा ठोक्किदा ५ जनाको मृत्यु भएको थियो ।

गम्भिर घाइते भएका उनीहरुलाई उपचारको लागि भरतपुर अस्पताल पठाइएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।

पाँच जना युवाको अल्पायुमै दुर्घटनामा निधन हुनु हृदयविदारक कुरा हुँदैहो । तर, चित खाने कुरा के हो भने यस्तो घटनामा पनि आफ्नो ब्राण्ड प्रर्बद्धन ?

नेपालका सडकमा हुने अधिकांश ‘दुर्घटना’ दुर्घटना  नै होइनन् । ती हत्या, आत्महत्या, हत्याको प्रयास वा आत्महत्याको प्रयास हुन् ।

नवलपरासीको ‘दुर्घटना’ पनि त्यस्तै हो । त्यो थियो, ‘ड्रिङ्क एण्ड ड्राइभ’को केश । नेपालमा हुने ९० प्रतिशत भन्दा बढि ‘दुर्घटना’ चालक वा पैदलयात्रुको लापरवाहीले हुने गरेको छ ।


नवलपरासीमा ‘दुर्घटना’मा परेर दुःखद निधन हुनेहरु प्रति हार्दिक श्रदाञ्जली र शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना ।

तर, सबै सरोकारवालाहरुको अबको छलफल भने त्यस्ता ‘दुर्घटना’ नदोहोरिउन, मादक पदार्थ सेवन गरेर सवारी कसैले नचलाउन, आफ्नो लेनमा ट्राफिक नियमको पालना गरेर सबैले सवारी चलाउन, र, कुनै इमरजेन्सी आइपरे झट्टै रोक्न सकिने गतिमा चलाउन भनेर सबैलाई कसरी सचेत गराउन सकिन्छ भन्नेमा केन्द्रित हुनुपर्ने हो ।

तर, यस्तो दुःखद घडिमा पनि आफ्नो व्यवसाय प्रबद्र्धनको लागि जसरी यो क्षेत्रका मानिसहरु अग्रसर भएका छन्, त्यसले यो क्षेत्रकै गरिमामा ठेस अवश्य पनि पु¥याएको छ ।


सामाजिक सञ्जालमा कैलाश बाबु गेलाल लेख्छन्, ‘असुरक्षित गाडी किन्न नहतारिनुहोस् । लोगो वा ब्राण्ड मात्र नहेर्नुहोस् । सवारीको शक्ति र सुरक्षा प्रति सचेत हुनुहोस् । रिसेल मूल्यभन्दा जिवन महत्वपूर्ण छ ।’

पक्कै पनि रिसेल मूल्यभन्दा जिवन महत्वपूर्ण छ । तर, गेलालले भुलेका वा भुल्न चाहेको तथ्य के हो भने, यो कुनै अमुक गाडीको सुरक्षा फिचरसँग जोडिएको बिषय होइन । यो हो, असुरक्षित चलाई र मादक पदार्थ सेवनको बिषय ।


यस्तै पूर्वाग्रहको जवाफ स्वरुप सामाजिक सञ्जालमै अनुप बराल लेख्छन्, ‘मेरोअटो क्षेत्रमा २० बर्षको अनुभवले भन्छ, भारतबाट नेपाल आउने जति पनि सवारी साधन छन्, ति सबै निश्चित प्रक्रिया पार गरेर मात्र उत्पादन हुन्छन् । अनी मात्र बजारमा जान पाउँछन् । तसर्थ कुरा नबुझि व्यक्तिगत कारणबाट हुने दुर्घटनालाई वस्तुको गुण वा दोषसँग नदाजौं ।’

नेपालका जुनसुकै क्षेत्रमा पनि धमिलो पानीमा माछा मार्ने वा चिताको आगोमा रोटी सेक्ने चलन ब्याप्त छ । यसले कसैलाई छोटो समयको लागि फाइदा पुगेको अनुभव भए पनि अन्तत यसले समग्र क्षेत्रको गरिमा घटाउने ने हो । आखिर सबै जना एउटै डुङगामा जो छन् !


मृतकको आत्माले शान्ति पाओस् । परिवार तथा आफन्तलाई दुःखद घडिमा धैर्य धारण गर्न सक्ने शक्ति मिलोस् । र, सबै सरोकारवालाहरुलाई यस्ता ‘दुर्घटना’ भविष्यमा नघट्न के गर्न सकिन्छ भन्ने तर्फ सोचन सक्रिय बनाओस् । 



image not found