काठमाडौं महानगरमा १५ वर्ष पुराना गाडी चलाउन प्रतिवन्ध

काठमाडौं । काठमाडौं महानगरपालिकामा १५ वर्ष भन्दा पुराना गाडी सञ्चालन गर्न नपाइने भएको छ । काठमाडौं महानगरपालिकाले ल्याएको नयाँ ऐनमा महानगर भित्र १५ वर्ष पुराना सार्वजनिक सवारी सञ्चालन गर्न नपाइने व्यवथा गरिएको छ ।

काठमाडौं महानगरपालिकाले पारित गरेको ‘काठमाडौं महानगरपालिका सवारी तथा यातायात व्यवस्थापन विधेयक २०७५’ उक्त व्यवस्था गरिएको छ । महानगरपालिकाले सार्वजनिक यातायात संचालन गर्ने संस्था र कम्पनीले १५ वर्ष भन्दा पुराना गाडी चलाउन नपाउने व्यवस्था गर्न लागेको हो ।

महानगरले आफ्नो सीमामा वातावरण प्रदूषण बढेको भन्दै त्यसको नियन्त्रणका लागि नयाँ व्यवस्था गरेको हो । हाल नेपाल सरकारले २० वर्ष पुराना सवारी मात्र चलाउन नपाइने व्यवस्था कार्यान्वयन गर्दै आएको छ ।

यस्तै महानगरले यात्रुहरुले अनिवार्य टिकट लिनु पर्नेदेखि सवारी साधनमा अनिवार्य सिसिटिभी क्यामेरा जडान गर्नुपर्ने समेत ऐन मार्फत कार्यान्वयनमा ल्याउने गरि विधेयक पास गरि सकेको छ । महानगरले यात्रु तथा सर्वसाधनका लागि गुनासो तथा सुझाव दिन टोल फ्रि नम्बर राख्ने भएको छ । 


Back_to_top