कलंकी-कोटेश्वर सडकमा ५० भन्दा माथिको स्पीडमा सवारी चलाए यस्तो कारवाही

काठमाडौं । रिङरोडको कलंकी–कोटेश्वर सडकखण्डमा सवारीको गति सीमा तोकिएको छ । आठ लेनको उक्त बाटोमा दुर्घटना बढेकाले सवारीका लागि गतिको सीमा तय गरिएको ट्राफिक प्रहरीले जनाएको छ  

ट्राफिक प्रहरी महाशाखाका अनुसार कलंकी–कोटेश्वरको मेन ट्रयाकमा सवारी गुडाउनेले अधिकतम ५० को स्पीडमा गुडाउनु पर्नेछ । त्यस्तै सर्भिस ट्रयाकमा सवारी गुडाउदा अधिकतम २० को स्पीड तोकिएको छ । 

कंलकीका ट्राफिक इन्स्पेक्टर केशव भट्टका अनुसार कलंकी–कोटेश्वर सडकखण्डको मेन ट्रयाकमा गुड्ने सवारीले ५० किलोमिटर प्रतिघण्टाको रफ्तारमा गुडाउनु पर्ने छ । सर्भिस ट्रयाकमा गुडाउने सवारीले अधिकतम २० किलोमिटर प्रतिघण्टाको गतिमा मात्र सवारी गुडाउन पाइने छ । 

उनले सो क्षेत्रमा दुर्घटना न्यूनीकरणका लागि गति सिमित गरिएको बताए । सवारीको गति रडारगनको सहयोगमा जाँच गरिने उनले जानकारी दिए । 

‘हामीले रडारगन ल्याएर गति जाँच गर्ने छौँ, तोकिएको भन्दा बढी गतिमा सवारी गुडाए तत्काल कारवाही गरिनेछ,’ भट्टले मेरोअटोसँग भने । 

तोकिएको भन्दा बढी गतिमा सवारी गुडाए १ हजार रुपैयाँ जरिवाना गरिने छ । बाटो फराकिलो भएकाले सवारी साधनले अस्वस्थ्य प्रतिस्पर्धा र ओभरटेक गर्ने प्रचलन बढेकाले ट्राफिक प्रहरीले सवारी गति सीमा तोकेको हो । 


Back_to_top