माघदेखि कोटेश्वरमा जाम नहुने, यसरी काम गर्दैछ महानगर

काठमाडौं । रत्नपार्कमा केही समययता गाडीको जाम देखिन छाडेको छ । महानगरको लामो प्रयासपछि ‘पिक एण्ड ड्रप’ योजनाले रत्नपार्कको जाम हटाउन सहयोग पुर्‍याएको हो ।

पछिल्लो समय काठमाडौं महानगरपालिका जोडतोडले विभिन्न ठाउँको जाम हटाउन लागिपरेको छ । रत्नपार्कको जाम हटाएपछि महानगरपालिकाले कसरी कोटेश्वर–सूर्यविनायक सडकखन्डमा हुने जाम हटाउन सकिन्छ भनेर लागि परेको बताएको छ ।

अहिले कोटेश्वर सूर्यविनायक सडकखन्डको जाम कसरी हटाउन सकिन्छ भन्ने विषयमा अध्ययन भइरहेको महानगरपालिकाका सहरी सु–व्यवस्थापन विभागका प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए ।

कोटेश्वरको जाम पूर्णत हटाउनका लागि कतिपय ठाउँमा पूर्वाधारको निर्माण गर्न बाँकी रहेकोले केही बढी समय लाग्नसक्छ, तर माघबाट जाम कम हुन्छ ।

कुँवरको संयोजकत्वमा सडक विभाग, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीको प्रतिनिधिसहितको एउटा कमिटी बनेको छ । उक्त कमिटीले कोटेश्वरको जाम न्यूनीकरणका लागि अध्ययन गरिरहेको छ ।

‘हामी कोटेश्वर–सूर्यविनायक सडकखन्डको जाम हटाउने योजनामा छाँै, कसरी गर्ने भन्ने निक्र्यौल हुन बाँकी छ,’ कुँवरले मेरोअटोसँग भने ।

कोटेश्वरबाट पूर्व जाने गाडीहरूको बस स्टप मनहरा पुल पारी बनाउन सके राम्रो हुने देखिएको उनले जानकारी दिए ।

पछिल्लो समय नगरपालिका बस स्टप र बाइपासलाई ‘कसरी कुन गाडी कताबाट आउँदा कता लैजाने’ भन्ने विषयमा वैकल्पिक बाटोको खोजीमा जुटेको कुँवरले बताए ।

‘हाल जडिबुटी चोकमा पेप्सीकोलाबाट आउने गाडी क्रस पास गराउँदा भक्तपुर साइडबाट आउने गाडीहरू रोक्नुपर्ने अवस्था रहेको छ । भक्तपुरबाट आउने गाडी नरोकी जडिबुटी चोकबाट पास आउट कसरी गराउन सकिन्छ भन्ने विषयमा हामी अध्ययन गरिरहेका छौं’, कुँवरले भने ।

अहिले उक्त कमिटीले भक्तपुरबाट आउने गाडी सिधैँ कतै जाममा नरोकी कोटेश्वर कसरी ल्याउन सकिन्छ भन्ने वैकल्पिक बाटो खोजिरहेको कुँवर बताउँछन् ।

वैकल्पिक बाटोको खोजी हुनासाथ यसलाई कार्यान्वयनमा लान सम्बन्धित सरोकारवाला निकायको सक्रियतामा काम थालनी हुनेछ ।

उनले पुस मसान्त अथवा माघको पहिलो हप्तासम्ममा कोटेश्वरको जाम हटाइसक्ने दबी गरे । कोटेश्वरको जाम पूर्णत हटाउनका लागि कतिपय ठाउँमा पूर्वाधारको निर्माण गर्न बाँकी रहेकोले केही बढी समय लाग्नसक्छ, तर अहिलेको स्थितिमा भने चाँडै सुधार हुने उनले दाबी गरे ।

‘पूर्णरुपमा काम सकिन ३–४ महिना लाग्नसक्छ, तर हामी जाम माघ महिनाको अत्त्यसम्ममा हटाइसक्ने तयारीमा छाैँ’, उनले भने ।

उनकाअनुसार मनहराको पुल हुँदै बालकुमारी निस्कने एउटा वैकल्पिक बाटो निर्माण भएको छ । मनहराको पुलमुनिबाट क्रस गरेर काठमाडौं अथवा ललितपुर जाने गाडी पास आउट गराउने योजनामा महानगरले बनाएको उनले जानकारी दिए ।

‘अहिले मनहरादेखि बालकुमारीको बाटोमा मेलम्ची खानेपानीको पाइप बिच्छ्याउने काम भइरहेको छ, त्यो केही दिनमै सकिन्छ र सडक विभागले त्यसलाई चाँडो स्तरोन्नति गरिदियो भने त्यहाँको बाटोबाट गाडी गुडाउन सुरु गर्नेछौँ,’ कुँवरले भने ।

यो महिनाको अन्तिमसम्ममा नरेफाँट लाइनको स्थानीय गाडीहरूलाई बालकुमारी हुँदै जाममा नपर्ने गरी मनहरा खोला हुँदै ललितपुर, काठमाडौं, कोटेश्वर भएर एरपोर्टतिर पनि छिराउनेछाैँ । यसले केही प्रतिशत जाम कम गर्छ ।

सबै कामलाई सहज बनाउन नयाँ बस स्टप बनाएर अगाडि बढ्ने योजना महानगरले बनाएको छ । 


Back_to_top