नवलपरासीमा कार बनाउन लक्ष्मी ग्रुपले दर्ता गर्‍यो कम्पनी

काठमाडौं । लक्ष्मी ग्रुपले नेपालमै सवारी उत्पादन गर्ने भएको छ । ग्रुपले स्वदेशमै हुन्डाईका गाडी उत्पादनका लागि लक्ष्मी मोटर कर्पोरेशन नामक कम्पनी उद्योग विभागमा दर्ता गरेको छ । 

लक्ष्मी ग्रुपले लक्ष्मी मोटर कर्पोरेशन मार्फत सवारी उत्पादनका लागि ५ अर्ब १० करोड रुपैयाँ लगानी प्रस्ताव गरेको छ । स्वदेशि लगानीमै  सवारी एसेम्बल गर्ने प्रस्ताव गरेको समूह अन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टल हुन्डाई गाडी नेपाली बजारमा बिक्री गर्दै आएको छ । 

‘कम्पनी दर्ता गरेर यसको सम्भाब्यता अध्ययन र अनुसन्धान अघि बढाउने पहिलो खुड्किलोको रुपमा उद्योग विभागमा प्रस्ताव गरेका हौं,’ लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक  तथा उद्योगका सञ्चालक निराकार श्रेष्ठले बताए । 

सवारी एसेम्बल गर्न लक्ष्मी ग्रुपले लक्ष्मी मोटर कर्पोरेशन कम्पनी गत वैशाख ८ गते दर्ता भएको थियो । उद्योगको चुक्ता पूँजी २ अर्ब १३ करोड रुपैयाँ छ । पूर्ण स्वदेशी लगानीमा स्थापना हुने उद्योगमा ४ सय ४० जनाले रोजगारी पाउने उल्लेख छ ।

लक्ष्मी मोटर कर्पोरेशनले वार्षिक ८ हजार गाडी एसेम्बलको प्रस्ताव गरेको छ । उक्त एसेम्बल प्लान्ट नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ६ मा राख्ने प्रस्ताव समेत गरिएकाे छ । 

पूर्ण नेपाली लगानीमा नेपालमै सवारी एसेम्बल गर्ने योजना सहित लक्ष्मी मोटर कर्पोरेशन मार्फत उद्योग विभागमा प्रस्ताव दर्ता गरिएको लक्ष्मी ग्रुपका प्रवन्ध निर्देशक अञ्जन श्रेष्ठले जानकारी दिए । ‘संख्यात्मक हिसाबले बजार ठूलो नदेखिएपनि कुनै न कुनै विन्दूबाट काम सुरु गर्नुपर्ने भएकाले हामीले काम अघि बढाएका हौं,’ उनले भने । 


Back_to_top