कम मूल्य, उच्च माइलेज र ठूलो परिवारको लागि सुजुकीको हाइब्रिड कार आर्टिगा

काठमाडौं । विश्वभर बढिरहेको प्रदूषण तथा तापमानलाई नियन्त्रण गर्नको लागि कार उत्पादक कम्पनीहरुले इलेक्ट्रीक र हाइब्रिड कारको निर्माण गर्न थालेका छन् । हाइब्रिड प्रविधिबाट निर्माण भएका यस्ता कारले वातावरण प्रदूषणमा कमी ल्याउनुको साथै इन्धनमा हुने खर्चलाई पनि नियन्त्रण गर्ने गर्छ । 

अन्तर्राष्ट्रिय क्षेत्रमा हाइब्रिड कारको बजार क्रमिक रुपमा बढ्दै गएको छ । नेपालमा पनि यस्ता हाइब्रिड कार आइरहेका छन् । गत भदौंमा आयोजित नाडा अटो शो २०१९मा विभिन्न कम्पनीले हाइब्रिड कार प्रदर्शनमा राखिएका थिए । 

मारुती सुजुकीको आधिकारिक विक्रेता सिजी मोटो कर्पले सियाज, आर्टिगा र एसक्रस हाइब्रिड कार प्रदर्शनमा राखेको थियो । अहिले यी सबै मोडल नेपाली बजारमा बिक्री वितरण भइरहेको छ । सुजुकीले ल्याएका हाइब्रिड कार मध्य आर्टिगाबारे बुझ्नै पर्ने तथ्यहरु यसप्रकार रहेका छन् ।

इन्जिन

आर्टिगा हाइब्रिड कारमा १४६२ सीसीको के१५बी स्मार्ट हाइब्रिड फोर सिलिन्डर इन्जिन लगाइएको छ । यसले ६ हजार आरपीएममा १०३ बीएच पावरका साथै ४४ सय आरपीएममा १३८ एनएम टर्क उत्पादन गर्छ । उक्त इन्जिनमा पाँच स्पीड गियरबक्स जोडिएको छ ।

डायमेन्सन

लम्बाई ४३९५ एमएम, चौडाई १७३५ एमएम, १६९० एमएम उचाई भएको यस कारमा २७४० एमएमको ह्वीलवेश र १८५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । कारको नेट तौल १२३५ किलोग्राम रहेको छ । यो सात सिट क्षमताको एमपीभी हो । 

ह्वील, ब्रेकिङ सिस्टम र सस्पेन्सन

यसको फ्रन्ट र रियरमा १५ इन्चको अलोय ह्वील लगाइएको छ  । यस्तै, फ्रन्ट साइडमा भेन्टीलेट डिस्क र रियरमा ट्रेलिङ ड्रम ब्रेक दिइएको छ । कारको फ्रन्टमा म्याक फ्रेरोन र कोल स्प्रिङ्ग सस्पेन्सन दिइएको छ भने, रियरमा जेड टोर्जिन बिम र कोलिङ स्प्रिङ सस्पेन्सन प्रदान गरिएको छ ।

माइलेज

यो कारले प्रतिलिटर २४.२० किलोमिटर माइलेज प्रदान गर्ने कम्पनीले जनाएको छ ।

विशेषता

यसमा एयरब्याग, एबीएस, इबीडी, सेन्ट्रल लकिंङ, चाइल्ड सेफ्टी लक, हिल असिस्ट, ओरभिएममा टर्न इन्डीकेटर, आइएसओफिक्स, ब्रेक इनर्जी रिजेनेरेशन जस्ता सुरक्षा फिचर दिइएको छ । 

यस्तै, आरमदायीताको लागि एयर कन्डीशनर, हिटर, किलेस इन्ट्री, रियर आर्मेष्ट, सिट बेल्ट वार्निङ, फ्रेब्रिक अपहोलष्ट्रि लगायतका विभिन्न फिचर प्रदान गरिएको छ । यसको प्रmन्ट साइडमा हेलोजन लाइट तथा रियरमा रियर फग ल्याम्पको विशेषता दिइएको कम्पनीले जनाएको छ ।

मूल्य

यसको नेपाली बजारमा मूल्य ३८ लाख ९९ हजार रुपैयाँ रहेको छ ।


Back_to_top