सवारी कर्जामा पुनर्विचार गर्ने अर्थमन्त्रीको आश्वासन

Not found

काठमाडौं । सरकारले सवारी कर्जा र पार्टपूर्जामा दिने टीआर कर्जामा थप कडाई गर्ने नीतिमा पुनर्विचार गर्ने संकेत दिएको छ । व्यवसायीहरुले आइतबार अर्थमन्त्री डा युवराज खतिवडालाई भेटेपछि उनले सवारी तथा टीआर कर्जामा कडाई नगर्ने संकेत दिएका हुन् ।

सरकारले व्यापार घाटा न्यूनिकरण सम्बन्धी राष्ट्रिय कार्ययोजना २०७५ को बुँदा नम्बर १५.१० मा ‘विद्युतीय सवारीसाधनको आयात बाहेकका अन्य सवारीसाधन र त्यसको आयातमा र त्यसको पार्टपूर्जाको आयातमा टीआर (एक प्रकारको बैंक ग्यारेन्टी) कर्जा सुविधा नदिने’ उल्लेख गरिएको छ ।

सरकारले यस्तो नीतिले व्यापार घाटा कम गर्ने भन्दा अटोमोबाइल क्षेत्र थप धारासायी हुने र भएका सवारी समेत जोखिममा पर्ने भन्दै व्यवसायीहरुले सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए ।

आइतबार अर्थमन्त्रीसँगको भटेमा सवारी कर्जाको सीमा बढाउने र टीआर कर्जा कडाई गर्ने निर्णयमा पुनर्विचार गर्न आफ्रूहरुले आग्रह गरेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष शम्भुप्रसाल दाहालले बताए । 

‘हामीले अर्थमन्त्रीलाई सरकार लिएको नीतिले अटोमोबाइल क्षेत्र झनै धरासाई हुने  अवगत गरायौं,’ उनले भने, ‘जवाफमा अर्थमन्त्री ज्यूले यस विषयमा पुनर्विचार गर्ने बताउनु भएको छ ।’

सरकारले अटोमोबाइल क्षेत्रलाई अनुत्पादक क्षेत्रको रुपमा परिभाषित गर्दै करिब दुई वर्षयता सवारी कर्जामा कडाई गर्दै आएको छ । सरकारको नयाँ नीतिबाट पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन र त्यसको पार्टपूर्जाको आयात निरुत्साहित हुने विश्वास सरकारले लिएको छ ।

सरकारले लिएको नीतिका कारण पार्टपूर्जाको चोरी पैठारी बढ्ने व्यवसायीहरुको भनाई छ । त्यसका लागि सरकारले नीतिमा परिमार्जन गर्नुपर्ने उनीहरुले बताएका छन् । 



image not found