बाइक तथा कार किन्न खोज्नेलाई अटो शोमा उत्कृष्ट अफर

काठमाडौं । आजबाट लामो साउन महिना सकिएको छ । साउनमा यसैपनि नेपालीहरुले भगवान शिव बाहेक अन्य देवी देवताको पुजा नगर्ने हुँदा शुभकाम पनि यो महिनामा सुरुवात गर्दैनन् । त्यसैले साउनमा गाडी बिक्री पनि खासै हुने गरेको छैन । 

पछिल्लो १० महिना नेपाली अटोमोवाइल क्षेत्रको लागि निकै कठिन रह्यो । यस बीचमा सरकारले गाडीमा दिदै आएको कर्जाको सिमा घटाउने र आयात कसरी कम गर्न सकिन्छ भनेर डकुमेन्ट तयार गर्ने काम गर्यो । जसको कारण अटो क्षेत्रमा अन्यौलता छायो र, बिक्रीमा निकै ठूलो असर पुग्यो ।

अहिले गाडीको सेल्स करिब ५० प्रतिशतले घटेको छ भने २५० सीसीसम्मको मोटरसाइकलको सेल्स स्थीर रहेको छ । त्योभन्दा माथिको मोटरसाइकलको विक्रीमा ६० प्रतिशतसम्मले गिरावट आएको छ ।

किन घट्यो बिक्री

सवारीसाधन बिक्रीमा गिरावट आउनुको थुप्रै कारण कारक रुपमा रहेका छन् । तर, मुख्यत बैंकले सवारीसाधनमा दिदै आएको कर्जामा केन्द्रीय बैंकको निर्देशन अनुसार कडाई गरेसँगै बिक्रीमा उच्च गिरावट आएको हो । यसमा अर्को पक्षपनि निकै महत्वपूर्ण रहेको छ । बैंकहरुसँग लगानी योग्य रकमको अभावले पनि अटो कर्जामा कडाई हुन पुगेको हो ।

अर्को मुख्य कुरा सवारीसाधनमा सुरु भएको टेक्नोलोजी परिवर्तनले पनि ग्राहकमा केही समय कुरौ र हेरौँ भन्ने अवस्था सृजना गराएको थियो । अब सवारीसाधनमा हुने टेक्नोलोजी परिवर्तन पनि सकिएको छ । नयाँ–नयाँ मोडल आउन सुरु भएका छन् । त्यसलेपनि घटेको बिक्रीलाई केही राहत दिने देखिएको छ ।

मानिसको आर्थिक अवस्था कमजोर भएर वा प्रतिव्यक्ति आयनै घटेर सवारीसाधनको बिक्रीमा कमी भने आएको होइन । त्यसैले नयाँ आर्थिक वर्षको सुरुवातसँगै बजारमा लगानी योग्य रकमको अवस्थामा सुधार आएको छ भने मानिसलाई सवारीसाधनले आकर्षित गर्ने देखिन थालेको छ ।  

सुरक्षीत सवारीसाधन

बजारमा अहिले अधिकांश कम्पनीले २०१९ मोडलका सवारीसाधन बिक्री गर्दै आएका छन् । ति नयाँ सवारीसाधन यसअघिका तुलनामा निकै परिष्कृत र सुरक्षा फिचरमा निकै जोड दिएर निर्माण गरिएका छन् । 

भारत सरकारले सवारीसाधनमा नयाँ सुरक्षा मापदन्ड लागु गरेकाले इन्ट्री लेवलका कार किन्ने ग्राहकले पनि सुरक्षीत साधन किन्न सक्ने अवस्था आएको छ । 

अर्कोतर्फ, मोटरसाइकलमा पनि सुरक्षा फिचरहरु थप भएर आउन सुरु भएका छन् । नयाँ सुरक्षा मापदन्ड अनुसार क्रमिक रुपमा नयाँ सवारीसाधनमा थप सुरक्षा फिचर जडान भएका हुन् । जुन नेपाली बजारमा आउन सुरु भइसकेको छ । 

नाडा अटो शो र कम्पनीका अफर

लामो समयदेखि गाडी बिक्रीमा सुस्तता आएकाले कम्पनीहरुलाई आफ्नो टार्गेट पुरा गर्न सक्ने अवस्था छैन । त्यसैले आगामी भदौ, असोज र कार्तिक महिनामा कम्पनीहरुले आफ्नो वार्षिक लक्ष्यको करिब ५० प्रतिशत सवारीसाधन बिक्री गर्ने लक्ष्य बनाइरहेका छन् । यस्तोमा आफ्नो लक्ष्य भेट्टाउन हरेक कम्पनीले ग्राहकलाई नयाँ नयाँ अफर दिने छन् । 

अघिल्ला वर्षको भन्दा वेष्ट अफर यसपटकको नाडा अटो शोमा कम्पनीहरुले दिने आँकलन गर्न कठिन छैन । उनिहरुले नगद छुट, बीमा, सडक दस्तुरजस्ता शिर्षकमा छुटको अफर दिने छन् ।

बैंकको नयाँ अफर

अटो शोमा गाडी बिक्रेताहरुले जस्तै बैंकहरुले पनि विशेष अफर ल्याउने छन् । बैंकहरुसँग अहिले तरलता छ, केन्द्रीय बैंकको बिभिन्न निर्देशन अनुसार बैंकले गर्ने नाफामा उच्च दवाव सृजना हुने बैंकरहरुले बताउँदै आएका छन् । यस्तोमा बैंकहरुले विशेष अफरमा अटो लोन दिने संभवना उच्च रहेको छ ।

अटो शोमा ११ वटा वाणिज्य बैंकहरुले सहभागिता जनाउँदै छन् । उनिहरुले उत्कृष्ट व्याजदरमा अटो लोनको स्कीम ल्याउने तयारी गरिरहेको बुझिएको छ । 

विद्युतीय सवारी

अटो शोमा अर्को मुख्य आकर्षण विद्युतीय सवारीसाधन पनि हुने छन् । एउटै छानामुनी बिभिन्न ब्रान्डका सवारीसाधन पाउने हुँदा हरेक ग्राहकले विद्युतीय सवारीसाधनको विषयमा बुझने मौका पाउने देखिन्छ । त्यसले अटो क्षेत्रमा नयाँ उत्सुकता थप्नुको साथै ‘वेष्ट डिल’ गर्ने अवसर सृजना गराउने छ । 


Back_to_top