नाडा अटो शो २०१९ भोलिबाट सुरु हुँदै, यस्तो छ इतिहास र वर्तमान

Not found

काठमाडौं । नेपालको इतिहासलाई नियाल्दा हिटलरको उपहार स्वरुप राजा त्रिभुवनको लागि पहिलो सवारीसाधन नेपाल भित्रीएको थियो । खासै लामो इतिहास नभए पनि नेपालमा पछिल्ला दिनमा सवारीसाधनको बजार विस्तारले निकै रफ्तार समातेको छ । 

हाल, अन्तर्राष्ट्रियस्तरमा नाम कमाएका अटो उत्पादक कम्पनीले उत्पादन गरेका सवारिसाधन आधिकारीक वितरक मार्फत नेपाली बजारमा प्रबेश गरिरहेका छन् । त्यसैले पछिल्लो समय अटोबजारसमेत प्रतिस्पर्धी बन्दै गएको छ ।

सवारीसाधन आयातकर्ताको हक र हितमा कामगर्न २०३२ सालमा छाता संगठनको रुपमा अटोमोबाइल एशोसिएस अफ नेपालको स्थापना भयो । भने २०६१/६२ मा आइपुग्दा यो संस्थाको नाम नेपाल अटोमोबाइल डिलर एशोसिएसन (नाडा) भयो ।

२०७२ मा उक्त संस्थाले आफ्नो नाम पुनः परिवर्तन  गरी नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल बनायो । 

यही संस्थाले सवारीसाधनको बिक्री–वितरणलाई सहज बनाउने उद्देश्यअनुरुप १९९८ बाट नाडा अटो शो आयोजना गर्ने निर्णय गर्यो । सुरुवाति दिन हरेक २ वर्षमा आयोजना हुने अटो शो पछि आएर हरेक वर्ष हुने गरेको छ । १४ औं संस्करणसम्म आइपुग्दा यस्तो छ, अटो शोको इतिहास ।

पहिलो अटो शोः एशोसिएनले सन् १९९८ मा सम्पन्न गरेको पहिलो अटो शोमा २६ प्रदर्शक सहभागी भएका थिए । भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजित सो अटो शो, नेपाल अटोमाबाइल डिलर्स एशोसिएसन र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेसले संयुक्तरुपमा आयोजना गरेका थिए । 

दोस्रोः एशोसियनले सन् २००० को नोभेम्बर २२ देखि २६ सम्म भृकुटीमण्डपको प्रदर्शनी हलमा दोस्रो अटो शो आयोजना गरेको थियो । त्यतिबेला ३१ कम्पनीले सहभागिता जनाएका थिए । 

तेस्रो: नेपाल अटोमाबाइल डिलर्स एशोसिएसन र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेसले संयुक्तरुपमा सन् २००४ मा आयोजना गरेको थियो । उक्त अटो शोमा ६२ ब्रान्डको सहभागिता रहेको थियो । फ्रेब्रुअरी १८ देखि २२ सम्म वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित अटो शोमा थुप्रै ब्रान्ड तथा उपभोक्ता सहभागी भएका थिए । 

चौथोः करिब तीन वर्षको फरकमा २७ सेप्टेम्बरबाट १ अक्टोबरसम्म सञ्चालित अटो शोमा सहभागी हुने प्रदर्शकको संख्या निक्कै घटेको थियो । वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित शोमा जम्मा ४३ कम्पनीको सहभागिता रहेको थियो ।  

पाँचौँः सन् २००९ को अगस्ट २८ बाट १ सेप्टेम्बरसम्म भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजित अटो शोमा जम्मा ३२ ब्रान्डको सहभागिता रहेको थियो । 

छैटौँ: सन् २०११ को सेप्टेम्बर ७ बाट ११ सम्म आयोजित अटो शोमा सहभागी हुने कम्पनीको संख्या अघिल्लो वर्षको अटो शोभन्दा बढेको थियो । त्यतिबेला ३८ कम्पनीको सहभागिता रहेको थियो । 

सातौँः सन् २०११ बाट एशोसिएसनले नेपालमा प्रत्येक वर्ष अटो शो आयोजना गर्ने निर्णय गर्यो । सोहीअनुरुप २०१२ को सेप्टेम्बर १९ बाट २३ सम्म आयोजित सातौँ अटो शोमा ५५ कम्पनीको सहभागिता रह्यो । 

आठौँः २०१३ सेप्टेम्बर ११ बाट १५ सम्म आयोजित आठौं अटो शोमा ४० कम्पनीको सहभागिता रहेको थियो । त्यतिबेला नेपाल अटोमोबाइल डिलर्स एशोसिएसनले मात्रै अटो शो सञ्चालन गरेको थियो । 

नवौँः नवौँ अटो शो २०१४ को सेप्टेम्बर ३ बाट ८ सम्म सञ्चालन भएको थियो । अटो शोमा ५० कम्पनीको सहभागिता रहेको थियो । 

दशौँः दशौँ नाडा अटो शोबाट सहभागी हुने कम्पनी तथा उपभोक्ताका संख्यामा उल्लेख्य वृद्धि भएको थियो । सन् २०१५ को सेप्टेम्बर १५ बाट २० सम्म भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजित अटो शोमा ६५ कम्पनीको सहभागिता रहेको थियो । 

एघारौँः सन् २०१६ को ३० अगस्टबाट ४ सेप्टेम्बरसम्म सञ्चालित अटो शोमा भने ७४ कम्पनीको सहभागिता रहेको थियो । नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालले आयोजना गरेको शोमा हजारौँ उपभोक्ताको सहभागिता रहेको थियो । 

बाह्रौँः सन् २०१७ को २९ अगस्टदेखि ३ सेप्टेम्बरसम्म सञ्चालित अटो शोमा ८३ कम्पनीको सहभागिता रहेको थियो । अटो शोमा सहभागी हुने कम्पनीले करोडौँको व्यापार गरेका थिए । उपभोक्ताको पनि उल्लासमय सहभागिता रहेको थियो । 

तेह्रौँः  गत वर्ष भदौ २६ गतेदेखि असोज १ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘१३ औँ नाडा अटो शो’ भएको थियो । उक्त अटो शोमा चारपाङ्ग्रे, दुईपाङ्ग्रे र अटो कम्पोनेन्टको अत्याधिक मागलाई ध्यानमा राखी भृकुटीमन्डपको ग्राउन्डमा तीनवटा ह्याङ्गर राखिएको थियो ।

६ दिनसम्म चलेको उक्त मेलामा १९ वटा ब्राण्डका चारपाङ्ग्रे २० वटा ब्राण्डका दुईपाङ्ग्रे सवारीसाधनहरू रहेका थिए भने साना–ठूला गरी एक सय ३४ वटा स्टल रहेको थियो । उक्त मेला करिब ६० हजार दर्शकले प्रत्यक्षरुपमा अवलोकन गरेको बताइन्छ । 

१४ औँ संस्करणः भोलि भदौ १० गतेबाट सुरु हुने १४ औं संस्करणको ‘नाडा अटो शो २०१९’ को तयारी पुरा भएको आयोजक संस्था नाडा अटोमोवाइल एसोसियसन अफ नेपालले जनाएको छ । 

यस वर्षको मेलामा २३ चारपाङ्ग्रे र १९ दुइपाँग्रे सवारी बिक्रेता कम्पनीले सहभागिता जनाउने भएको नाडाले जनाएको छ । 

६ दिनसम्म संचालन हुने सवारीसाधन सम्बन्धी नेपालकै ठूलो मेला तथा प्रदर्शनीमा संसारकै चर्चित सवारीसाधन कम्पनीहरुले सहभागीता जनाउने भएका हुन् । 

अटो शोमा दुई पाङ्ग्रे र चारपाङ्ग्रे बाहेक १२ ब्रान्डका लुब्रिकेट, ९ ब्रान्डका टायर, ५ वटा ब्रान्डका ब्याट्री , १४ वटा पार्टपुर्जा एवं ग्यारेज उपकरणका कम्पनी तथा १३ वित्तीय संस्थाको सहभागिता रहने छ । प्रदर्शनीमा ठूला तथा साना गरि १६० वटा ब्लक राखिने छन ।

यो वर्ष चार पाङ्ग्रेतर्फ इसुजु, रेनो, हुन्डाई, फक्सवागेन, ड्याटसन, फोर्ड, सुजुकी, होन्डा, एमजी, पुज्यो, फोटोन, फियात, जिप, साङयोङ, टोयोटा, महिन्द्रा, टाटा, किया, माज्दा, मित्सुविसी, निसान र बीवाईडी, दाय कम्पनी सहभागी हुने भएका छन् ।

त्यस्तै दुई पाङ्ग्रेमा यामाहा, हिरो, सीएफमोटो, बेनेली, भेस्पा, अप्रिलिया, रोयल इन्फिल्ड, होन्डा, केटीएम, सुजुकी, एनआइयु, बजाज, रनर, बीएमडब्ल्यु, मियामा, योमा मा ई, एमभी अगस्टा, टीभीएस, सुपर सोको र जीपीएक्स ब्रान्डको सहभागिता रहने छ । 

यस वर्षको अटो शोमा करिब ७५ हजार आगन्तुकले अवलोकन गर्ने आयोजकले अनुमान गरेका छन् । 



image not found