काठमाडौं । नागढुंगा सुरुङ निर्माणका लागि ७ अर्ब २९ करोड रुपैयाँ बजेट माग भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आर्थिक वर्ष २०७६/७७ को बजेटमा उक्त रकम माग गरेको हो ।
चालू आर्थिक वर्षमा सो नागढुंगा सुरुङमार्ग निर्माणका लागि ६ अर्ब ४४ करोड रुपैयाँ विनियोजन गरिएको थियो । चालु आवको चैत मसान्तसम्ममा सो योजना अन्तर्गत ४ अर्बको हाराहारीम बजेट खर्च भएको योजना निर्देशक श्याम खरेलले जानकारी दिए ।
उनका अनुसार चालू आवमा मुआब्जा दिने र कन्सलटेन्ट खर्च मात्र भएको छ । सो योजनाको कन्ट्रयाक्टर समेत समयमा छनोट हुन नसकेका कारण निर्माण कार्य सुरु हुन समय लाग्न सक्ने उनले बताए ।
मुआब्जाको काम काठमाडौंमा ७५ प्रतिशत सकिएको उनले जानकारी दिए । ‘यो वर्ष कन्ट्रयाक्टर छनोट हुन ३ महिना ढिला भइसकेको छ, त्यसैले समयमै सकिन्छ भन्न सकिदैन । सक्दो छिटै काम अघि बढाउने कोसिसमा छौँ,’ खरेलले मेरोअटोसँग भने ।
सो सुरुङ मार्गको निर्माण २०२२ सम्ममा सम्पन्न गर्ने योजना रहेको छ । तर अझै कन्ट्रयाक्टर फाइनलाइज हुन कति समय लाग्ने भन्ने अन्यौलमा रहेकाले तोकिएकै समयमा निर्माण सकिनेमा आशंका सुरु भइसकेको छ । ‘यो वर्ष मेजर कामको मोबिलाइजेसन मात्र हुन्छ, पूर्ण रुपमा काम अर्को वर्षदेखि हुनेछ,’ खरेलले भने ।