छोटो समयमा नेपाली बजारमा पकड जमाउन सफल प्रिमियम ब्रान्ड

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा नयाँ–नयाँ ब्रान्डका सवारी भित्रिरहेका छन् । उपभोक्ताले नयाँ ब्रान्ड प्रति रुची राख्ने र ती ब्रान्डले पनि आफ्नो बजार देखेपछि नयाँ बजारमा प्रवेश गर्ने गर्छन् ।

एक वर्षमा नेपाली बजारमा अमेरिकी ब्रान्ड जीप, युरोपेली ब्रान्ड एमजी र प्यूजोले आफ्नो ब्रान्ड स्थापित गर्न सफल भएका छन् । यद्यपी प्यूजो र एमजी भने पहिले नै नेपाली बजारमा आएका थिए ।

नेपाली बजारमा दुई दर्जनभन्दा बढी ब्रान्डका कार बिक्री हुँदै आएका छन् । धेरै ब्रान्ड आएपछि उपभोक्तामा रोजाईको बिकल्प धेरै हुन्छ । नयाँ ब्रान्ड प्रतिपनि उपभोक्ताको चासो बढी हुन्छ । अहिलेको प्रविधिको युगमा ब्रान्ड बारे थाहा पाउन गाह्रो छैन । नेपाली बजारमा भारतीयदेखि अमेरिकी तथा युरोपेली हुँदै चिनियाँ ब्रान्डका सवारी उपलब्ध रहेका छन् ।

बजारमा नयाँ ब्रान्ड आउनेक्रम समेत बढी रहेको छ । यस्तैमा २०७५ भदौमा नेपाली बजारमा चर्चित अमेरिकी ब्रान्ड जीप प्रवेश ग­र्यो । त्यसको केही समय अघि बेलायती ब्रान्ड एमजी (मोरिस ग्यारेज) आएको थियो । यी ब्रान्ड नेपाल आएको १ वर्ष वा आसपासमा बजारमा पकड जमाउन सफल भएका छन् ।

आएको वर्षभन्दा कम समयमा जीप करिब १ सय ५० वटा बिक्री भइसकेको जीपको आधिकारिक विक्रेता एमएडब्ल्यू लाइफ अटोमाबाइलले जनाएको छ । त्यस्तै एमजी पनि करिब १ सयको संख्यामा बिकेको एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले जानकारी दिएको छ ।

यी दुवै  प्रिमियम ब्रान्डका अटाेमाेवाइल हुन् । त्यसैले यी एसयूभीको मूल्य नेपाली बजारमा ५० लाख रुपैयाँभन्दा माथि नै रहेको छ । जीप अमेरिकाको चर्चित ब्रान्डको ब्रान्ड भएकाले ब्रान्ड कन्सियसहरुको रोजाइमा परेको लाइफ अटोमोवाइलका असिस्टेन्ट म्यानेजर (मार्केटिङ) किरण आचार्यले बताए ।

‘जीप अमेरिकाको चर्चित ब्रान्ड भएको र भारतमा उत्पादित भएकाले नेपाली उपभोक्ताका लागि मूल्यका हिसाबले पनि अफोर्डेवल भएकाले आएको एक वर्षभन्दा कम समयमा लोकप्रिय ब्रान्ड बनेको हो,’ आचार्यले भने, ‘प्रिमियम ब्रान्ड भएकाले जीपको मास सेल त हुने भएन तर यो सेगमेन्टमा आफ्नो पकड जमाएको छ ।’ जिप १.४ लिटर पेट्रोल इन्जिन र २.० लिटर डिजेल इन्जिन अप्सनमा उपलब्ध रहेको छ ।

नेपाल भित्रिएका नयाँ ब्रान्डका सवारी एसयूभी सेगमेन्टमा धेरै भएकाले पनि बजार लिन सहज भएको हो । नेपालको भौगोलीक अवस्था र बाटोका कारण अन्य सेगमेन्टको भन्दा एसयूभी सेगमेन्टका सवारीको माग धेरै रहेको छ ।

युरोपको ब्रान्ड भएकाले एमजी उपभोक्ताले रुचाएको पारामाउन्ट मोटरका जीएम सचिन अर्यालले बताए । ‘एमजी ब्रान्ड पारामाउन्ट मोटर्सले बिक्री गर्न थालेको १ वर्षमा करिब १ सयभन्दा धेरै बिक्री भइसकेको छ,’ अर्यालले भने, ‘यसको अर्थ उपभोक्ताले राम्रो रेस्पोन्स दिएका हुन् ।’

नेपालमा नाम कम सुनिएको ब्रान्ड तर युरोप जानेले धेरै सुनेको ब्रान्ड हो जुन राम्रो ब्रान्ड हो भन्ने नेपाली उपभोक्तामा पर्नसकेको अर्यालको भनाइ छ । एमजीको ह्याचब्याक र सेडान कार पनि छ । तर एमजीले अहिले एसयूभी सेगमेन्टलाई नै फोकस गरेको अर्यालले बताए । एमजीको एसयूभी सेगमेन्टमा एमजी जीएस र एमजी जेडएस मोडलमा उपलब्ध रहेको छ ।

त्यस्तै केही वर्ष अघि नेपाल भित्रिएको प्यूजोले पनि पछिल्लो एक वर्षमा राम्रोसँग बजार विस्तार गरेको छ । प्यूजोको एसयूभी मोडल ३००८ निक्कै चर्चित रहेको छ । प्रिमियम सेगमेन्टमै केही दिन अघि चिनियाँ ब्रान्ड डीएसएफकेको ग्लोरी–५८० सार्वजनिक भएको थियो ।

यसरी नयाँ ब्रान्ड आउँदा बजारमा रहेका विद्यमान ब्रान्डलाई केही चुनौति थपिन्छ भने उपभोक्ताले धेरै ब्रान्डबाट आफूलाई उपयुक्त लाग्ने ब्रान्ड रोज्न पाउन्छन् । यसका साथै अटो बजार पनि विविधतातर्फ उन्मूख रहेको दर्शाउँछ ।


Back_to_top