यी स्थानमा बन्दै नयाँ जेब्राक्रसिङ, पहिलेभन्दा कस्तो फरक

Not found

काठमाडौं । माथि चित्रमा रहेको जेब्राक्रसिङ काठमाडौं उपत्यकाको नै हो । निर्माणको क्रममा रहेको जेब्राक्रसिङ पहिलेको भन्दा फरक रहेको छ । यसको मतलव अन्तर्राष्ट्रिय स्तरको रहेको छ, जहाँ सवारीसाधन रोक्नका लागि छुट्टै घेरा बनाइएको छ ।

सडकमा जेब्राक्रसिङ नजिकै गाडी रोक्ने बक्स समेत बनाइएको छ । त्यो बक्स काटेर जेब्राक्रसिङ छुनेगरि कसैले सवारी रोक्न पाउने छैनन् । यदी लेन क्रस गरेमा ट्राफिक कारवाहीमा परिने छ ।

सडक विभागले सडक पूर्वाधारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन नयाँ तरिकाले लेन कोर्न थालेको जनाएको छ । 

लेनको सुरुको भागमा बनाइएको बक्स भित्र दुई पाङ्ग्रे सवारी रोक्नुपर्ने छ भने त्यसको पछाडि अन्य चारपाङ्ग्रे लगायतका गाडीहरु रोक्नु पर्ने छ । 

विगतमा भएका कमजोरीलाई ठिक गर्न मोटरसाइकल बक्स सहितको जेब्राक्रसिङ निर्माण गरिएको बिभागको भनाई छ । जसले पैदल यात्रुलाई  बाटो काट्न सहज हुनेछ ।

सडक विभागले उपत्यकाका सडकमा जेब्राक्रसिङ, सवारी रोक्ने बक्स, ट्राफिक जोन, रोड ब्यारियर, रेलिङ, सेन्ट्रल लाईन, ट्राफिक स्टल लगायतका पुर्वाधार बनाउन सुरु गरेको हो । यसका लागि यही बैशाख अन्तिममा पिआर विनायक जेभीलाई टेन्डर दिएको छ । 

सडक विभाग अन्तर्गत रहेको सडक सुरक्षा तथा ट्राफिक शाखा प्रमुख दिप बाराहीका अनुसार गौशला, एयरपोर्ट, माइतीघर बानेश्वर, सिंहदरवार, जयनेपाल लगायतका मुख्य–मुख्य सडक खण्डमा पुर्वाधार निर्माण गरिदै छ ।  २०७६ साल असार २५ गतेसम्ममा काठमाडौं उपत्यकाका मुख्य–मुख्य सडकहरुमा पुर्वाधार निर्माण गरि सकिने उनले बताए । 

‘हामीले असार २५ गतेसम्ममा सबै ठाउँमा पुर्वाधार निर्माण गरेर सडक विभागलाई बुझाउनु पर्ने छ, हामी पुर्वाधार बन्ना साथ त्यसलाई कार्यान्वयनमा ल्याउने छौँ,’ बाराहीले मेरोअटोसँग भने । 

सडक पुर्वाधार निर्माण अन्तर्गत ९ हजार ९ सय स्क्वायर मिटरमा नयाँ जेब्राक्रसिङ निर्माण गरिने छ । 

‘पेन्टिङ गर्ने काम हामी राती गर्ने छौँ, त्यसमा कसैलाई समस्या हुन्न, त्यसपछि रेलिङ, बोर्ड लगाउने काम धमाधम भइहाल्छ,’ बाराहीले भने । 

काठमाडौं उपत्यकामा सडक पुर्वाधार निर्माण गर्न करिब १० करोड बजेट आवश्यक पर्ने उनले जानकारी दिए । 

सडक पुर्वाधारका लागि १६ करोड रुपैयाँ बजेट छुट्याएको थियो । सो बजेटको १० करोड रुपैयाँ पुराना योजनाहरुमा खर्च भएकाले हाल शाखाले ६ करोड रुपैयाँबाटै सडक सुरक्षाको पूर्वाधार निर्माण गर्नु पर्ने अवस्था रहेको बाराहीले बताए ।



image not found