१४ दिनपछि सार्वजनिक हुँदै टाटा नेक्सन इभी, ३५ लाखमा पाइएला नेपालमा

काठमाडौं । इलेक्ट्रीक कारमा टाटाको सम्भावित गेम चेन्जरको रुपमा हेरिएको नेक्सन इलेक्ट्रीक एसयूभी १७ डिसेम्बरमा ग्लोबल प्रिमियर हुने भएको छ । तर, कम्पनीले यसको बिक्री वितरण भने आगामी जनवरीबाट मात्र सुरु गर्ने भएको छ ।

कम्पनीले विभिन्न किसिमको भूभागमा यसको परिक्षण गरेको तस्विरहरु बाहिर ल्याएको छ । टाटाको नयाँ पावर ट्रेन ‘जिपट्रोन’मा आधारित यो कारको मूल्य १५ देखि १७ लाख भारु पर्ने अनुमान लगाइएको छ । यदि यही मूल्यमा यो कार आउने हो भने यसलाई ३५ लाखसम्ममा नेपालमा पाउन सकिन्छ । 

कम्पनीले अबको केही समयपछि अल्ट्रोज तथा परिमार्जित टिगोर इभीपनि बजारमा ल्याउने जनाएको छ । यी कारमा पनि नेक्सन इभीकै ब्याट्री प्याक लगाइने जनाइएको छ । 

नेक्सन इभीमा उपलब्ध वाटरप्रुफ आइपी–६७ ब्याट्रीले एकपटकको फुल चार्जमा ३०० किलोमिटर रेन्ज प्रदान गर्नेछ । यो मोडलमा लिथियम आयोन ब्याट्री सेल लगाइएको छ भने मोटरमा लिक्वीड कुल्ड सिस्टम प्रदान गरिएको छ ।

कारको ब्याट्री प्याक र मोटरमा ८ वर्षे वारेन्टी दिने कम्पनीले जनाएको छ । सुरक्षालाई मध्यनजर गर्दै हाइ स्ट्रेन्थ स्टिल र बोस्टले ब्याट्रीलाई ढाकिएको छ । 

आकर्षक पर्फमेन्स दिने नेक्सन इभी विश्वसनिय कार बन्ने कम्पनीले दावी गरेको छ । टाटाको नेपालकाे लागि आधिकारीक वितरक सिप्रदी ट्रेडिङले आगामी मार्चमा यसलाई नेपाली बजारमा बिक्री सुरु गर्ने बताएको छ । 


Back_to_top