किक्सको असफलता पछि भारतमा संकटतर्फ निसान ग्रुप, यस्तो छ विक्री हालत

भारतीय अटो बजारमा गत अप्रिलको समग्र प्यासेन्जर कार बिक्रीमा गिरावट आएको छ । भारतमा जारी लोकसभाको निर्वाचनका कारण सबै अटो कम्पनीको सेल्समा गिरावट आएको अटो पण्डितहरुले जनाएका छन् । 

भारतमा उत्पादित सवारीसाधन मध्य निसान र ड्याट्सनको बिक्रीमा सबैभन्दा बढी गिरावट आएको छ । जुन गत मार्च महिनाको भन्दा ३० प्रतिशत तथा अघिल्लो वर्षको अप्रिल भन्दा ४३ प्रतिशतले कमी आएको हो । 

विगत लामो समयदेखि विवादमा फस्दै आएको निसान ग्रुपको अध्यक्ष कार्लोस गोसन जापानको जेल जान बाध्य भएका थिए । त्यस्तै गत वर्ष निसानको गाडीहरुमा इमिसन सम्बन्धी विवाद पनि आएको थियो । आज पनि यस विषयमा विभिन्न मुद्दा विचाराधीन अवस्थामा रहेका छन् ।

अप्रिलमा भारतमा निसानले जम्मा ५१८ युनिट गाडी बिक्री गरेको छ । 

भारतमा निसान ग्रुपले निसान र ड्याट्सन ब्राण्डमा विभिन्न ७ वटा मोडलका ह्याचव्याक, सेडान र एसयूभी निर्माण गरिरहेको छ । जसमा निसान ब्राण्डमा माइक्रा, सन्नी, टेरानो र किक्सको उत्पादन भइरहेको छ भने डाट्सन ब्राण्डमा रेडीगो, गो र गोप्लस मोडलका साना र सस्ता ह्याचव्याक कारहरु निर्माण गरिरहेको छ । 

अप्रिलमा भारतमा निसानले जम्मा ५१८ युनिट गाडी बिक्री गरेको छ । गत महिना निसानको बिक्रीमा सबैभन्दा बढी गिरावट निसान माइक्रामा आएको छ । यसको बिक्रीमा गत वर्षको मार्चको तुलनामा ८२ प्रतिशतले गिरावट आएको हो । गत वर्षको अप्रिलमा ४ सय ५ वटा बिक्री भएको माइक्रा यो वर्षको अप्रिलमा भारतभरमा जम्मा ७७ वटा मात्र बिक्री भएको छ । 

त्यस्तै निसानको सेडान कार सन्नीको बिक्रीमा पनि ३८ प्रतिशतले गिरावट आएको छ । गत वर्षको अप्रिलमा १ सय ३१ वटा बिक्री भएको सन्नीको यस वर्षको अप्रिलमा ८१ वटा मात्र बिक्री भएको छ । 

त्यस्तै निसानको एसयूभी टेरानोको बिक्रीमा पनि ६७ प्रतिशतले गिरावट आएको छ । गत वर्षको अप्रिलमा १ सय ८१ वटा बिक्री भएको टेरानो यस वर्षको मार्चमा भारतभरमा जम्मा ६० वटा मात्र बिक्री भएको छ । 

विभिन्न मिडियाहरुमा निसानले टेरानोको उत्पादन बन्द गरिएको समाचार आएको छ । यो बिक्री स्टकमा रहेको एसयूभी भएको अनुमान गरिएको छ । निसानले टेरानो बन्द गर्दै सोही प्ल्याटफर्ममा नयाँ इन्टेलिजेन्ट एसयूभीको रुपमा किक्सको लन्च गरेको हो । 

निसानले गत जनवरीमा लन्च गरेको एसयूभी किक्सको बिक्रीमा पनि अघिल्लो महिना मार्चमा भन्दा अप्रिलको बिक्रीमा ५७ प्रतिशतले गिरावट आएको छ । गत मार्चमा ७ सय १ यूनिट बिक्री भएको किक्स अप्रिलमा आइपूग्दा जम्मा ३ सयवटा मात्र बिक्री भएको छ । 

जुन यही सेग्मेन्टको क्रेटा भन्दा ज्यादै कम युनिट मात्र हो । यही सेग्मेन्टमा क्रेटा अप्रिलमा पनि १० हजार ४ सयभन्दा बढी युनिट बिक्री भएको छ । 

भारतीय बजारमा हुन्डाई क्रेटालाई टक्कर दिन ल्याइएको भनिएको किक्सले भारतीय ग्राहकको नराम्रो किक भेटेको छ । जसले निसानलाई नै भारतीय बजारबाट किक हान्ने हो कि भन्ने शंका उब्जिएको छ । किक्सको सहयोगमा भारतीय मार्केटमा रिभाइभ हुने निसानको सपना अब करिव टुङ्गिएकोे छ ।

उस्तै हालत ड्याट्सनको 

निसान कै भगिनी ब्राण्ड डाट्सनको पनि मार्चको सेल्सको हालत निसानको जस्तै देखिएको छ । ड्याट्सनको सबैभन्दा सस्तो मोडल रेडिगोको बिक्री अप्रिलमा ५० प्रतिशतले गिरावट आएको छ । यसको बिक्री गत अप्रिलमा १ हजार ९ सय ७२ युनिट भएको थियो भने यो वर्षको अप्रिलमा ९ सय ७९ वटा मात्र बिक्री भएको छ । 

त्यस्तै ड्याट्सनको गो र गोप्लसको बिक्रीमा गत वर्षको अप्रिलमा भन्दा क्रमस ४५ र २७  प्रतिशतले गिरावट आएको छ । गोको बिक्री यस वर्षको अप्रिलमा २ सय ७९ वटा भएको छ, जुन अघिल्लो वर्षको अप्रिलमा ३ सय ८० वटा भएको थियो । 

त्यसैगरी गोप्लसको बिक्रीमा पनि यस वर्षको अप्रिलमा २ सय ५१ वटा भएको छ । जुन गत वर्षको मार्चमा ४ सय ५७ युनिट रहेको थियो । 

निसान ग्रुपको समग्र सेल्समा गत वर्षको अप्रिलमा भन्दा यस वर्षको अप्रिलमा ४३ प्रतिशतले गिरावट आएको हो । गत वर्ष अप्रिलमा ३ हजार ५ सय २६ वटा गाडी वेच्न सफल भएको निसान ड्याट्सन यस वर्ष २ हजार २७ युनिटमा खुम्चीएको छ । 

निसान ड्याट्सनले इन्ट्री लेवलमा छिटै नयाँ फ्रेस मोडल बजारमा प्रस्तुत गर्न नसकेमा अबका दिनमा भारत जस्तो प्रतिस्पर्धी बजारमा आफूलाई टिकाउन कठिन हुने देखिन्छ । 

भारतीय बजारबाट आयात गरेर नेपाली बजारमा बिक्री हुने निसान ड्याट्सनका उत्पादन नेपालमा राम्रै बिक्री हुने गाडी ब्रान्डमा पर्दछन् । तर, ३५ वर्षदेखि नेपाली बजारमा जापानबाट गाडी ल्याएर ब्रान्ड बनाउन सफल निसान भारतीय उत्पादनको असफलताको चपेटामा पर्ने देखिएको छ । 


Back_to_top