बढेको सडक दस्तुर कार्यान्वयन नगर्न यातायात व्यवसायीको माग

काठमाडौं । नेपाल सरकारको निर्णय अनुसार सडक बोर्ड नेपालले बैशाख १४ गने सूचना प्रकाशित गरि लागु गरेको सडक उपभोग दस्तुर फिर्ता लिन यातायात व्यवसायीहरुले माग गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आइतबार विज्ञप्ति जारी गर्दै बैशाख १४ गतेदेखि बढाइएको सडक उपभोग दस्तुर फिर्ता लिन माग गरेको हो । सडक बोर्ड ऐन २०१५ को दफा ६ मा उल्लेखित व्यवस्था भनि बढाइएको दस्तुर प्रति महासंघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

सरकारले एक तर्फी रुपमा सडक उपभोग दस्तुर बढाएकाले तत्काल कार्यान्वय समेत नगर्न भनेको छ । त्यस्तै महासंघले ठूला कमर्सियल सवारी र हेवी इक्युपमेन्टको सडक उपभोग दस्तुर भिन्दै हुनु पर्ने माग समेत गरेको छ ।

यस्तो छ बढेको दस्तुर

उक्त निर्णय अनुसार विगतमा बढीमा ५० रुपैयाँसम्म मात्र रहेको सडक उपभोग दस्तुर एउटै सडकखन्डमा गाडी गुडाउन न्यूनतम १० रुपैयाँदेखि १ सय ४० रुपैयाँसम्म तिर्नुपर्ने छ ।

सरकारले बढाएको सडक उपभोग दस्तुर अनुसार अब नौविसे–मुग्लिङ सडक खण्डको लागि ठूला सवारी साधनका लागि १२० र साना सवारीका लागि ५० कायम गरिएको छ ।

नारायणगढ–हेटौंडासम्मको लागि ठूला सवारी साधन बस, मिनिबस, ट्रक र हेवी इक्वीपमेन्टले १ सय रुपैयाँ तिनुपर्ने छ । सोही सडकका लागि साना सवारीसाधन कार, जिप, पिकअप भ्यान र ट्रयाक्टरले ४० रुपैयाँ र तीन पांग्रे टेम्पु र मोटरसाइकलले १० रुपैयाँ दस्तुर तिर्नु पर्नेछ ।

त्यस्तै, नारायणघाट–बुटवलखन्डका लागि बस, मिनिबस, ट्रक र हेवी इक्वीपमेन्टका लागि १३० रुपैयाँ तथा कार, जिप, पिकअप भ्यान र ट्रयाक्टरका लागि ६० रुपैयाँ र तीन पांग्रे टेम्पु र मोटरसाइकलको लागि १० रुपैयाँ दस्तुर तोकिएको छ ।

जैहरुवा पथलैयाका लागि ठूला सवारीका १२५ रुपैयाँ, सानाका लागि ८५ रुपैयाँ, त्यस्तै हेटौंडा–विरगञ्ज सडकमा ठूला सवारीका लागि ८५ रुपैयाँ, सानाका लागि ५० रपैयाँ, विरगञ्ज–पथलैयाका लागि ठूला सवारीका लागि ५० रुपैयाँ, सानाका लागि २० रुपैयाँ र टेम्पु र मोटरसाइकलको लागि १० रुपैयाँ कायम गरिएको छ ।

इटहरी–दमक सडकमा ठूला सवारीका लागि १२५ रुपैयाँ, सानाका लागि ५० रुपैयाँ, विराटनगर धरान सडकमा ठूला सवारीका लािग ७० रुपैयाँ, सानाका लागि २५ रुपैयाँ, त्यस्तै कोशी–जैहरुवा सडकमा ठूला सवारीका लागि १४० रुपैयाँ, सानाका लागि ५५ रुपैयाँ दस्तुर तोकिएको छ । दमक–काकडभिट्टा सडकमा ठूला सवारीका लागि ७५ रुपैयाँ, सानाका लागि ३० रुपैयाँ सडक दस्तुर तोकिएको छ ।


Back_to_top