बाहिरी चक्रपथमा आवश्यक बजेट व्यवस्था गर्न अर्थ मन्त्रालयलाई निर्देशन

काठमाडौं । बाहिरी चक्रपथ आयोजनामा अपुग हुने आर्थिक स्रोतको सुनिश्चतता गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिइएको छ । सहरी विकास मन्त्रालयको आगामी बजेट व्यवस्थापन तथा कार्यक्रम सम्बन्धमा विकास समितिमा बसेको बैठकले यो निर्देशन दिएको हो । 

समितिकी सभापति कल्याणी खड्काले जग्गा एकीकरण मार्फत योजना अघि बढाउँदा अपुग हुने आर्थिक स्रोतको सुनिश्चितताका लागि अर्थ मन्त्रालयलाई निर्देशन दिएकी हुन् । 

जग्गा एकीकरणको मोडलमा आगामी आर्थिक वर्षदेखि अघि बढाउन समेत शहरी विकास मन्त्रालयलाई निर्देशन दिइएको छ । 

समितिमा बाहिरी चक्रपथलाई सहरी विकास अन्तर्गत नलिइएको भन्दै त्यसमा सरकारले ध्यान नपुराएको आरोप समेत लागेको थियो । 

समितिका सदस्य गणेश पहाडीले वर्षौदेखि बाहिरी चक्रपथ निर्माण गर्ने बताउँदै आए पनि अहिलेसम्म यसको प्रगति हुन नसेको बताए । बाहिरी चक्रपथ निर्माण गर्दा पुरात्वतिक, ऐतिहासिक महत्वका बस्ती संरक्षण हुने डिजाइन हुनुपर्ने बताए ।

यस्तै तोकिएका एकीकृत शहरी पूर्वाधार विकास निर्माण कार्यलाई तीब्रता दिई निश्चित अवधि भित्र सम्पन्न गर्ने गरि काया थालनी गर्न समितिको बैठकले निर्देशन दिइएको छ । 

समितिको बैठकले वृहत शहरी क्षेत्र विकास कार्यक्रम अन्तर्गत मेगा सिटी र स्मार्ट सिटीको डीपीआर तयार गरि पूर्वाधार विकासको कार्य अघि बढाउन निर्देशन दिएको छ ।


Back_to_top