पुल निर्माणमा पप्पु र सरकार दुबै दोषी

काठमाडौं । संसदको विकास समितिले निर्माण आयोजनाहरु पूर्व तयारी बिना अघि नबढाउन निर्देशन दिएको छ । समिति सभापति कल्याणी खड्काले बिहिबार पम्पु कन्स्ट्रक्सनले निर्माण गर्ने क्रममा रहेको तिनकुनेको आर्क ब्रिजको अनुगमन गर्दै यस्तो निर्देशन दिएकी हुन् ।  

उनका अनुसार सरकार पक्ष र निर्माण पक्ष दुबैको दोष देखिएकाले वास्तविक दोषी पत्ता लगाई कारबाहीको दाएरामा ल्याइने बताइन् । ‘डिजाइन निर्माण व्यवसायीले गर्नु पर्ने त्यसमा कम्जोरी देखियो, डिजाइन स्वीकृतीमा ८ महिना लाग्ने त्यसमा १९ महिना लगाइयो जसमा सरकार पक्षको पनि गल्ती देखियो,’ उनले भनिन् ‘परियोजनाको वास्तविक अनुसन्धान पछि दोषीलाई कारवाहीको दायरामा पुराउने छौँ ।’ 

देशमा महत्व राख्ने अन्तर्राष्ट्रिय विमास्थलको नाकाको रुपमा रहेको तिनकुने सडकको पुलको अवस्था बारे समिति चुप लागेर नबस्ने उनले बताइन् । ‘यो मात्र पुल हैन पप्पु कन्स्ट्रक्सनले निर्माणका लागि लिएको देशभरकै निर्माणमा यस्तो समस्या छ, किन भयो ? सरकार पक्ष हामीले भन्दा भन्दै जबर जस्ती गरे भन्दै छ, जबरजस्ती गरे किन कारवाही गरेन त्यसमा हामी छानबिन गर्ने छाैँ,’ खड्काले भनिन् । 

उनले यो सबै समस्या सरकारी निकायले पूर्वतयारी बिना निर्माणका लागि दिएको हुनाले यस्तो भएको बताइन् । उनले अब उपरान्त कुनै पनि निर्माण पूर्व तयारी बिना नथाल्न निर्देशन दिएको बताइन् । 

राम्रो काम गर्नेलाई पुरष्कृत गर्ने र नराम्रो काम गर्नेलाई दण्डीत गर्ने व्यवस्था ल्याउन पनि सरकारलाई निर्देशन दिइने उनले बताइन् । तिनकुनेको आर्क पुल पम्पु कन्स्ट्रक्सनले २०७५ साल असार ५ गतेसम्ममा सम्पन्न गर्नु पर्ने थियो । तर, मिति सकियो र फेरी ७७ सालको असारसम्मका लागि म्याद थप गरिएको छ । 

हालसम्म पुलको प्रोगेस जम्मा २ वटा फाउन्डेसन पुरा भएको छ । २१ करोड लगानीमा बन्नाउन लागिएको सो पुलका लागि सरकारले ६ करोड  ६२ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ । 

अझ अर्को साइडमा एउटा मात्र फाउन्डेसन पुरा भएको छ । पम्पुले निर्माण गर्दै गरेको यो पुलमा ८६ मिटर लम्बाई, १६ वटा पाइल जडान गरिएको छ । १७.२ मिटर चौडाईमा निर्माण गर्न लागिएको सो पुलमा गाडीको लागि १५ मिटर र फुटपाथको लागि २ मिटर छुट्याइएको छ । 

पम्पुको कमजोरी

यो पुलमा काम गर्ने क्रममा १६ वटा पायल मध्ये २ वटा पायल जमिनमा भासिएको देखिएको छ । सरकारले यो समस्यालाई समाधान गरेर निर्माण गर्ने भनेर पत्र दिएको तर, पप्पुले त्यसै माथि क्याब लगाउने र सब स्ट्रक्चर समेत बनाएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका महानिर्देशक अजुन अर्यालले बताए । सोही कारण हाल काम रोकिएको अवस्था छ । 

‘कंक्रिट गर्दा सुरुमा पाइलमा माटो कोल्यापस भएर समस्या देखियो, पछि टेस्ट गर्दा ३÷४ वटा पाइलमा समस्या देखियो, अफिसियल्ली त्यसलाई करेक्सन गर्दै अर्को पाइल थपेर क्याप पछि गर्ने भनेका थियौं । उहाँहरुले त्यो नगरि क्याप गर्नु भयो, अब बिग्रेपछि फेरी त्यसलाई केही गर्न सकिन्छ की भनेर डिजाइन पुलचोक इन्जिनियरिङ क्याम्पसमा दिइएको छ,’ अर्यालले भने । 

पुलचोक इन्जिनियरिङ कलेजलाई रिफर गरेको डिजाइन अझै आउन बाँकी रहेको छ । 

सरकारको कमजोरी

काठमाडौं उपत्यका सडक विस्तार आयोजनासँग पम्पु कन्स्ट्रक्सनले २०७१ साल पुस ४ गते ४२ महिना भित्र पुल निर्माण सम्पन्न गर्ने गरि सम्झौँतामा हस्ताक्षर गरेको थियो । 

निर्माण समुहले डिजाइन ६ महिना भित्र विभागमा पेस गर्नुपर्ने हुन्छ । डिजाइन पेस गरेको २१ दिनभित्र विभागले डिजाइन स्वीकृत गर्नुपर्ने हुन्छ । तर, नेटवर्क आर्क नेपालमै पहिलो पटक बन्न लागेको भन्दै डिजाइन स्वीकृती गर्न बंगलादेश पठाइयो । स्वीकृति प्रकृया १९ महिना चल्यो । डिजाइन स्वीकृत भएपछि निर्माण कम्पनीले निर्माण स्थलको ढल, खानेपानी, बिजुलीको पोलसार्नमा ८ महिना कटायो । यसरी पुल बनाउने मिति सकिए पछि हाल मिति थप गरिएको छ । 


Back_to_top