अब काठमाडौं महानगरमा राती १० बजेसम्म बस चलाउनै पर्ने, व्यवसायी भन्छन् असम्भव

काठमाडौं । यातायात व्यवस्था विभागले केही समयअघि रात्री बस सञ्चालन गर्ने निर्णय सहित तयारी गरेको थियो । तर विभागले अर्को निर्णय नभएसम्मका लागि भन्दै रात्री बस चलाउने निर्णय स्थगित गर्यो । 

तर काठमाडौं महानगरपालिकाले भने आफ्नो अधिकार क्षेत्र भित्र राती १० बजेसम्म सार्वजनिक सवारी चलाउनै पर्ने गरी नियम बनाएको छ । महानगरपालिकाले पहिलोपटक सवारी सम्बन्धी राजपत्र जारी गर्दैै यस्तो व्यवस्था गरेको हो । 

काठमाडौं महानगरको राजपत्रमा कार्तिक र माघ मसान्तसम्म राती ९ बजेसम्म र अन्य महिनाहरुमा राती १० बजेसम्म अनिवार्य रुपमा रुटपर्मिट लिएको सम्बन्धित रुटमा सवारीसाधन चलाउन भनिएको छ । 

त्यस्तै महानगरभित्रका सबै सार्वजनिक सवारीले अनिवार्य रुपमा टिकट लिएर यात्रा गराउनु पर्नेछ । 

महानगरपालिका क्षेत्रभित्र रुट कायम भई संचालन हुने सार्वजनिक यातायातका साधन प्रयोग गर्ने यात्रीले आफु चढ्ने बस बिसौनीमा वा सवारीसाधन चढेलगत्तै तोकिएको भाडा तिरी टिकट लिनुपर्ने व्यवस्था स्थानिय राजपत्रमा उल्लेख छ । कागजी तथा विद्युतीय दुवै खाले टिकटहरु प्रयोग गर्न सकिनेछ । 

काठमाडौं महानगरले सार्वजनिक यातायात सुधारका लागि विभिन्न व्यवस्था गरेको छ । त्यस्तै अनुगमनका लागि नगर प्रमुखले तोकेको नगर कार्यपालिकाको सदस्यको संयोजकत्वमा ८ सदस्यीय समिति समेत गठन गरिने महानगरपालिकाले जनाएको छ । अनुगमनका क्रममा नियम उल्लंघन गरेको पाइए गल्ती अनुसार १ हजार देखि ५ हजारसम्म जरिवानासहति कारबाही गर्न सक्ने व्यवस्था गरिएको छ । 

यातायात व्वसायीहरुले भने छलफल नगरी ल्याएको नियमको कार्यान्वयन प्रभावकारी नहुने बताएका छन् । चाहे केन्द्र सरकार होस् या स्थानिय सरकार उसले ल्याएको नीति कार्यान्वयन हुनुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सिटौलाले बताए । 

‘तर सरोकारवालासँगको छलफल बिना नै ल्याएको यो नयाँ नियम कार्यान्वयनमा आउन कठिन छ,’ सिटौलाले भने, ‘विगतमा पनि सरोकारवालासँग छलफल नगरि ल्याइएका नियमहरु फिर्ता भएका धेरै उदाहरण छन् ।’ नियम ल्याउनु पूर्व सरोकारवालासँग छलफल भए कार्यान्वयमा समस्या नआउने तर एकोहोर ढंगमा ल्याउँदा लागु नहुने उनले बताए ।


Back_to_top