यात्रुको सहजताको लागि प्राधिकरण चाँडो गठन गर्नु पर्छः आशिष गजुरेलको विचार

काठमाडौं । नेपालको सार्वजनिक यातायात व्यवस्थापन राम्रो छैन भन्ने कुरा हरेक नेपालीलाई थाहाछ, त्यसो हुनुमा राज्यको ठोस योजना नभएरै हो । सार्वजनिक यातायात ब्यवस्थापन गर्ने जिम्मा लिएर बसेको जिम्मेवार कुनै निकाय वा संयन्त्र छैनन् । अहिले यातायात व्यवस्था विभागले केही काम गरेपनि उसले गर्ने धेरै काम दिइएको छ ।

अहिले संचालनमा रहेका साधनले यात्रुलाई गुन्दुक जस्तो कोचेर चलाए पनि वा दुई जना मात्रै राखेर चलाए पनि पैसा केन्द्रिकृत रुपमै संकलन हुुने र सबैले बराबर पाउने भएपछि यात्रुले पनि आरामदायी यात्रा गर्न पाउने छन् ।

विभागले आफ्नो अन्य कामहरु गर्दा सार्वजनिक यातायातमा केन्द्रित भएर काम नै गर्न सकिरहेको छैन । सार्वजनिक यातायात देशको आवतजावत गर्ने मुख्य साधन हुन्छ, त्यसलाई सहि तरिकाले चौबिसै घण्टा हेर्ने छुट्टै संयन्त्र निर्माण गर्नुपर्छ ।

अन्य देशहरुको अभ्यास हेर्दा पनि प्राधिकरण मार्फत सार्वजनिक यातायात क्षेत्रको व्यवस्थापन र सञ्चालन भइरहेको पाइन्छ । त्यो उनीहरुको देशमा असल र राम्रो अभ्यास देखिन्छ ।

त्यसैले हाम्रो देशमा पनि यातायात क्षेत्रको व्यवस्थापन र नियमनमा ध्यानदिने निकाय चाहिन्छ भन्ने उद्देश्यले सार्वजनिक यातायात प्राधिकरण स्थापन गर्नुपर्छ भन्ने अवधारण आएको हो । यो अवधारणा भोलि सार्वजनिक यातायात प्राधिकरण बनेपछि सबै त्यसैमार्फत चल्ने भन्ने हो ।

प्राधिकरण बनेपछि एकीकृत समय तालिका, टिकटिङ प्रणाली, यातायातको गुणस्तर, चालक र सहचालकलाई जिम्बेवार बनाउने काम हुन्छ । त्यसरी काम गर्दा उठेको रकम केन्द्रिकृत हुनेदेखि ब्यवस्थीत तरिकाले अन्य सर्भिस दिन सकिन्छ । त्यसो हुँदा सडकमा पनि कसैको होडबाजी हुँदैन ।

अहिले संचालनमा रहेका साधनले यात्रुलाई गुन्दुक जस्तो कोचेर चलाए पनि वा दुई जना मात्रै राखेर चलाए पनि पैसा केन्द्रिकृत रुपमै संकलन हुुने र सबैले बराबर पाउने भएपछि यात्रुले पनि आरामदायी यात्रा गर्न पाउने छन् ।

उठेको रकम बाँड्ने बैज्ञानिक व्यवस्थापन विधि प्रयोग गर्न सकिन्छ । त्यस्तो भएपछि हानथाप हुँदैन र समयमै सवारीसाधन गुड्छन् पनि, त्यहि शिद्धान्तमा रहेर यातायात प्राधिकरण बनउाने हो ।

सरकारले सार्वजनिक यातायात प्राधिकरण ऐन गत असोजमा पारित गरेर प्रमाणिकरण गरेको छ । तर, अझै प्राधिकरण गठन भइसकेको छैन ।

अब अहिले यातायात क्षेत्रलाई राज्यले पनि प्राथमिकतामा राखेको छ । त्यसैले प्राधिकरण गठन भइसकेपछि सार्वजनिक यातायात व्यवस्थित हुन्छ भन्नेमा विश्वस्त हुन सकिन्छ ।

(नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक एवं यातायात क्षेत्रका विज्ञ आशिष गजुरेलसँग गरिएको कुराकानीमा आधारित)


Back_to_top