सवारी दुर्घटना रोक्न ट्राफिक प्रहरीले गर्दैछ यस्ता काम

काठमाडौं । देशभरी नै सवारी दुर्घटना दैनिक रुपमा बढिरहेको छ । काठमाडौं उपत्यकामा मात्रै दैनिक ४१ वटा सवारी दुर्घटनामा पर्ने गरेका छन् । बढ्दो सवारी चाप, कमजोर सडको अवस्था, सवारी चालकको लापरर्बाही, तिव्र गतिका कारण दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरी महाशाखाले तीन महिने कार्ययोजना ल्याउने भएको हो । 

आर्थिक वर्ष २०७५/७६मा १५ हजार १९० सडक दुर्घटना भएका थिए भने चालु आर्थिक वर्षको पहिलो महिना साउन मसान्तसम्ममा १ हजार ९३३ दुर्घटना भइसकेका छन् । आर्थिक वर्ष २०७४/७५ मा ११ हजार ५०७ दुर्घटना भएको थियो । 

आव २०७५/७६ मा ५ हजार ५११ मोटरसाइकल तथा स्कुटर दुर्घटना भएको थियो भने चालु आवको पहिलो महिनामा ७८३ दुर्घटना भइसकेको छ । त्यसैगरी आव २०७४/७५ मा भने ४ हजार मोटरसाइकल तथा स्कुटर दुर्घटनामा परेका थिए । 

आर्थिक वर्ष २०७५/७६ मा ५ हजार ३०५ कार, भ्यान तथा जीप दुर्घटना भएको तथ्यांक ट्राफिक महाशाखाले राखेको छ । २०७४/७५ मा भने ३ हजार ८ सय ९० कार, भ्यान तथा जीप दुर्घटना भएका थिए । चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो महिनामा ६४५ जीप, कार र भ्यान दुर्घटनामा परेका छन् । यसका अलवा, बस, माइक्रो, टेम्पो, टिपर ट्रक लगायतका सवारी साधनपनि उत्तिकै दुर्घटनामा परिरहेका छन् ।

सवारी दुर्घटनाको सबैभन्दा ठूलो कारण नै चालकको लापर्बाही हो । चालकको लापर्बाहीका कारण गत आर्थिक वर्षमा ७ हजार ५२९ दुर्घटना भएको थियो भने गत साउनमा ९४५ दुर्घटना भएको थियो ।

यसका साथै, मापसे, यान्त्रिक गडबढी, ओभरटेक, पैदलयात्रु, चालकको अपरिपक्वता जस्ता कारण सवारी दुर्घटना बढिरहेको महाशाखाले जनाएको छ ।

दुर्घटनाबाट गत आर्थिक वर्षमा २ सय ५४ जनाको मृत्यु भएको थियो भने, ५ हजार ८९० जना सामान्य घाइते र ३१७ जना गम्भिर घाइते भएको महाशाखाले जनाएको छ । 

दुर्घटना रोक्न तीन महिने कार्ययोजना

ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरिक्षक रविकुमार पौडेल गुणात्मक रुपमा वर्षेनी दुर्घटनाको मात्रा बढ्दै गएको स्विकार्छन् । विशेषत, वर्षातको समयमा  बढि दुर्घटना हुने गरेको उनको बुझाईछ । 

‘केही वर्षयताबाट दुर्घटना निरन्तर रुपमा बढिरहेको छ । सरकारी तवरबाट प्रयास नभएका होइनन् । तर, सोचेअनुरुप दुर्घटना न्युनिकरण हुने सकेको छैन’ पौडेलले भने ।

महाशाखाले ट्राफिक व्यवस्थापनलाई नै ध्यानमा राख्दै तीन महिने कार्ययोजना ल्याउने तयारी गरिएको उनले बताए । यसअघि ल्याइएका योजनालाई निरन्तरता दिँदै नयाँ कार्ययोजना असोजको पहिलो साताभित्र सार्वजनिक गर्ने उनले बताए । 

राइट टर्न गर्नलाई निषेध गर्ने, सडकको बीच–बीचमा डिभाइडर राख्ने, सडकछेउमा बार नभएका स्थानमा बार लगाउने, सडक पेटीलाई व्यवस्थित बनाउने योजना यस भित्र समेटिएका छन् ।

आउँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै सडक विभाग, यातायात व्यवस्था विभाग, महानगर लगायतका सम्बन्धित निकायसँगको सहकार्यमा उक्त योजनालाई अगाडि बढाइने पौडेलले बताए । 

निक्कै भिड हुने साँघुरा सडकलाई वान वे बनाउने, विभिन्न स्थानमा जेब्रा क्रसिङ बनाउने, ट्राफिक लाइट जडान तथा मर्मत संभार गर्ने लगायतका योजना ल्याइने भएको छ । साथै, लेन क्रश, मापसे चेकिंग, तिव्र गति, हिट एन्ड रन लगायत सबै प्रकारलाई ट्राफिक नियमलाई प्रभावकारी रुपमा लागू गर्ने पौडेलले बताए ।


Back_to_top