राम्रो ‘डिग्री’ भएका जनशक्ति अटोमोबाइलमा आएनन् : रुपेश शर्माको अन्तर्वार्ता

काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रमा लामो अनुभव हासिल गरेर टोयोटा, हुन्डाई हुँदै अहिले ग्रेटवाल मोटर्सको भाइस प्रेसिडेन्टको रूपमा काम गर्दै आएका रुपेश शर्मा भट्ट चल्तीको नाम हो । इन्जिनीयरिङ विषय विज्ञ भएर पनि मार्केटिङमा सम्भावना देखेर एमबीए गर्दै अटो क्षेत्रमा प्रवेश गरेका भट्टसँग अहिलेको बजार अवस्था, जनशक्तिको विषय, ईभी र कम्बस्चनको प्रतिस्पर्धा लगायत विषयमा मेरोअटोका सागर गजुरेलले गरेको कुराकानीको सम्पादित अंशः

तपाईं कसरी अटो क्षेत्रमा प्रवेश गर्नुभयो ?

मैले पढेको मेकानिकल इन्जिनीयरिङ हो । भारतमा पठाइ सकेर नेपाल फर्केपछि सुरूमा हाड्रोलक नामक प्रिन्टिङ सम्बन्धी कम्पनीमा काम गरेँ । नेपाल आएपछि एमबीए गरेकाहरूको भविष्य ठीक हो कि भन्ने जस्तो लाग्यो । त्यसपछि एमबीए पढ्न थालेँ । सन् २००६ तिर टोयोटामा मार्केटिङ डिपार्टमेन्टमा काम सुरू गरेर अटो क्षेत्रमा प्रवेश गरेको थिएँ । आफूले एमबीए पनि मार्केटिङमा नै गरी रहेको कारण पढेको विषय भयो ।

मेकानिकल इन्जिनीयरिङ गरेको कारण प्रोडक्ट चिन्न कठिन भएन । त्यसमा पनि टोयोटामा कैलाशराज राजभण्डरी हुनुहुन्थ्यो । उहाँ अहिले पनि त्यहीँ हुनुहुन्छ । उहाँबाट मैले व्यक्तिगत रूपमा अटोमोबाइल क्षेत्रमा धेरै काम सिक्ने मौका पाए । मार्केटिङ बाहेकका काम पनि सिक्न पाएकाले यही क्षेत्रमा लामो समय बस्न सहयोग पुग्यो जस्तो लाग्छ ।

टोयोटापछि मैले हुन्डाईमा काम सुरू गरेँ । मैले हुन्डाईमा झण्डै १२ वर्ष काम गरेपछि त्यहाँबाट बिदा भएँ । त्यसपछि केही समय बाहिर बसेँ । अहिले जीडब्लूएम नेपालमा छु । नयाँ कुरा अटो क्षेत्रमा सधैं आउँछ, त्यसैले काम गर्दै सिक्दैछु भन्नु उपयुक्त होला ।

तपाईंको व्यवसायीक यात्रासँगै अटो क्षेत्रले राजश्व र बिक्री उतरचढाव दुवै देख्यो । यसलाई कसरी नियाल्नु भएको छ ?

अटोमोबाइलमा कर लगाउन सजिलो भएकै कारण विगतदेखि नै सरकारले धेरै कर लगायो । चोरीको बाटोबाट आउन नसक्ने, भन्सार विन्दुमा नै राजश्व संकलन गर्न पाइने र समाजमा पनि केही पैसा भएकै मानिसले प्रयोग गर्ने भएको कारण यसमा धेरै कर लगाएको हुनुपर्छ ।

जसरी चुरोट र मदिरामा राजश्व बढ्थ्यो त्योभन्दा ठूलो मूल्यमा अटोमोबाइलमा राजश्व बढ्ने भएको कारण भन्सार ८० प्रतिशत र अहिले ११० प्रतिशतसम्म अन्तःशुल्क लगाइएको छ । यसले मध्यम आय भएका मानिसको पहुँचमा निजी सवारीसाधन पुग्न सकेन । त्यसैले ठीकैको आम्दानी भएका परिवारले गाडी किन्न सकेनन् । उनीहरूको मुख्य साधन अहिले पनि मोटरसाइकल हुँदै आएको छ ।

भारतको तुलनामा ५ गुणा महंगो मूल्य, त्यसमाथि राष्ट्र बैंकको अटो लोनमा अंकुश जस्ता कारण अहिले गाडी बेच्न निकै कठिन भएको छ । सन् २००६ मा मैले चढेको कारको मासिक किस्ता ९ हजार थियो । अहिले मोटरसाइकल पनि त्यति मासिक किस्तामा नआउने अवस्था बन्यो ।

एउटै ब्राण्डमा १२ वर्ष काम गर्नुभयो । नेपालमा ब्राण्ड निर्माणमा कम्पनीहरूले काम गर्छन् र ?

सन् २००९ मा मैले लक्ष्मी इन्टरकन्टिनेन्टलमा काम सुरू गरेको थिएँ । त्यहाँ ११ वर्ष काम गरेँ । त्यसअघिको एक वर्ष पनि हुन्डाईमै काम गरेको थिए । लक्ष्मीमा काम गर्दा सधैँ नयाँ कुरा सिक्न पाए । कार्यकारी निर्देशक निराकार श्रेष्ठदेखि हामी सबै काम गर्नेहरू युवा थियौं । टीममा काम गर्ने र रमाइलो गर्ने दुवै ‘कल्चर’ थियो । त्यसले हामीलाई सधैं फरक गर्न प्रेरणा मिल्यो । त्यस अवधिमा हुन्डाईले नेपाल ल्याएका सबै मोडलले सफलता पाए । बिक्रीमा सफलता, टीमका सदस्यका बीचमा भाइचारा र बोर्डको सपोर्ट पाएपछि राम्रो परिणाम ल्याउन सफल भएका थियौं ।

हुन्डाईले कष्टुमर एक्स्पेरियन्स कस्तो हुनुपर्छ भन्ने देखाएको हो । त्यसमा कार्यकारी निर्देशक निराकार श्रेष्ठको भूमिका निकै महत्वपूर्ण थियो । उहाँ अटोमोबाइल व्यवसायलाई रुपान्तरण गर्ने पात्रको रूपमा बजारले पनि अहिले चिन्छ । जति बेला हुन्डाईले थापाथलीमा नयाँ अन्तर्राष्ट्रिय मापदण्डको शोरुम निर्माण गर्यो, त्यतिबेला अरू फ्लेक्स राखेर गाडी बेच्दै थिए । धेरैले त्यो शोरुमलाई ‘फजुल खर्च’ भनेका थिए । अहिले थापाथली लाइनमा भएका शोरुम हर्दा नै उहाँको भिजन प्रष्ट हुन्छ । हो त्यही हो ब्राण्ड निर्माण गर्ने कुरा ।

विगतमा टोयोटा र पछि हुन्डाईले ब्राण्डमा खुबै काम गरेको देखिन्छ । यहाँ लगानीकर्ताहरू तत्काल प्रतिफल खोज्छन् । त्यो पनि स्वभाविकै होला, किन भने कुन ब्राण्ड कति समय चल्छ भन्ने एकीन नभएको कारण सुरूमै प्रतिफल खोजिएको हो ।

प्रतिफल खोजे पनि उपभोक्तालाई गाडी बिक्री गरेपछि सर्भिस, स्पेयर पार्टस् जस्ता सेवाहरू निरन्तर दिनुपर्छ । त्यसमा अहिले पनि धेरै ब्राण्डहरू चुकेका छन् । अहिले पनि सर्भिस सेन्टरबिना नै धेरै कम्पनीले गाडी बिक्री गरिरहेका छन् ।

उपभोक्ताले पनि आफ्नो दुःख पसिनाले कमाएको रकम जुनसुकै ब्राण्ड र जस्तोसुकै सर्भिस भएका ब्राण्डमा लगानी गर्नु उपयुक्त हुँदैन ।

दक्ष जनशक्तिको अवस्था कस्तो छ ?

अहिले केही हदसम्म क्षमतावान मानिस अटोमोबाइल क्षेत्रमा आएका छन् । तर, पनि बजारलाई नै फरक पार्ने किसिमको जनशक्ति यहाँ छैनन् । जोसँग डिग्री छ, राम्रो विषयगत ज्ञान छ । उसको पहिलो रोजाइ बैंक तथा वित्तीय संस्था बन्दै आएका छन् । यस्ता धेरै मानिसको रोजाइमा अटोमोबाइल पर्न सकेको छैन । सायद त्यहाँको सेवा सुविधाले तानेको होला ।

आइसीई भर्सेस ईभी कुन बलियो ?

पछिल्ला तीन वर्षदेखि नेपालमा ईभीको चर्चा धेरै छ । तर, नाकाबन्दीपछि ईभीमा मानिसको चासो बढेको थियो । त्यसैले सन् २०१८ को अन्त्यमा हुन्डाई कोना बजारमा आउँदा धेरैले चासो दिए । सप्लाई भएको भए, त्यही बेला ठूलो संख्यामा कोना बिक्री हुन्थ्यो । त्यसपछि एमजी, टाटा, बीवाइडी हुँदै हाम्रो ओरा पनि नेपाल आएको छ ।

मंहगो टेक्नोलोजीलाई सरकारले अनुदान दिएकै कारण ईभी नेपालमा सस्तो भएको हो । अहिले पनि एउटा मात्रै गाडी भएकाको रोजाइमा ईभी छैन । तर, पछिल्ला दुई वर्षमा पहिलो गाडी ईभी किन्ने पनि बढेका छन् । कति बेला सरकारले सुविधा कटाउँछ, त्यसैले एउटा ईभी किन्नु पर्यो भन्ने पनि छन् ।

नेपालमा ईभीको राम्रो बिक्री हुनुमा मूल्य नै प्रमुख कारण हो । त्यसपछि फाइनान्स सुविधा ८० प्रतिशतसम्म पाइने भएको कारण पनि ईभी किन्ने बढेका छन् । तर, विश्वभर अहिले पनि इन्टरनल कम्बस्चन इन्जिनको बिक्री कमजोर भएको अवस्था छैन ।

कस्तो योजना बनाएर ग्रेटवाल मोटर्स अगाडि लैजाँदै हुनुहुन्छ ?

अहिले ईभी किन्ने मानिस आफ्नो आवश्यकता के हो भन्ने कुरा सोधिरहेका छौं । चार्जिङ स्टेशनको अवस्था पनि ग्राहकलाई भन्नुपर्छ । अहिले जसरी ईभी बढी रहेको छ, त्यसैगरी चार्जिङ पूर्वाधार निर्माण गर्नु पर्नेछ । त्यसमा हामी ग्रेटवाल मोटर्स पनि तयारी गरिरहेका छौं । साथै, नेपालमा अझै पनि पेट्रोल र हाइब्रिडको सम्भावना उत्तिकै देखिन्छ ।

त्यसैले हामी ग्रेटवाल मोटर्सले यी तीनवटै प्रकारका गाडीहरू बजारमा उपलब्ध गराउँछौं । भोलिका दिनमा इलेक्ट्रीक एसयूभी, प्लगइन हाइब्रिड र प्योर हाइब्रिडमा पनि काम गर्दैछौं । यद्यपि, हामीसँग साना गाडी नभएको कारण ठूला गाडीमा हाम्रो फोकस रहने छ । सरकारले हाइब्रिडमा पनि कर छुट दिनुपर्छ ।


Back_to_top