मास प्रिन्टर आएपछि ३ महिनामा लाईसेन्सको समस्या हट्छः महानिर्देशक दाहाल

काठमाडौं । स्मार्ट लाइसेन्स पाउन उपभोक्ताले १०/१५ महिनासम्म कुर्नुपर्ने अवस्थाको अब अन्त्य हुने भएको छ । स्मार्ट लाइसेन्समा पटक पटक समस्या देखिएपछि आफू त्यसको समाधानमा केन्द्रीत भएको यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताए । 

यातायात व्यवस्था विभागको नेतृत्व सम्हालेको केही दिनमै दाहालले सेवाग्राहीले स्मार्ट लाइसेन्सका लागि अब धेरै कुर्नु पर्ने अवस्थाको अन्त्य भएको दाबी गरेको हुन् । विभागले स्मार्ट लाइसेन्स प्रिन्टका लागि मास प्रिन्टिर मेसिन खरिद भएपछि ३ महिना भित्र बाँकी सबै लाइसेन्स प्रिन्टि भइसक्ने उनको दाबी छ । 

बाँकी रहेका लाइसेन्स प्रिन्ट भइसकेपछि भने उपभोक्ताले ट्रायल पास गरेको ७ देखि १५ दिनमा लाइसेन्स पाउने अवस्था अबको केही महिना भित्रै आउने उनको भनाई छ । यातायात क्षत्रेमा सबैभन्दा ठूलो समस्याको रुपमा रहेको सिन्डिकेट अब कम्पनी मार्फत समाधान उन्मुख रहेकाले हाम्रो ध्यान स्मार्ट लाइसेन्सको अवस्थालाई सहज बनाउने तर्फ केन्द्रीत रहेको दाहालको भनाइ छ । 

हाल माट प्रिन्टर किन्ने निर्णय भएको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्ययन गरि रहेको विभागको भनाइ छ । अख्तियारबाट उक्त फाइल आएपछि मास प्रिन्टर खरिदको प्रक्रिया अघि बढ्ने छ । यातायात क्षेत्रमा गर्नुपर्ने धेरै कामहरु भएकाले आफूले अध्ययन गरेर क्रमिक रुपमा समाधान गर्दै जाने दाहाल बताउँछन् ।


Back_to_top