७ करोड लागतमा स्मार्ट सडक बत्ति राख्दै ललितपुर महानगर

Not found

काठमाडौं । ललितपुर महानगरपालिकाले आउँदो आर्थिक वर्षबाट सडकमा स्मार्ट बत्ति राख्ने भएको छ । अटोमेटिक फङ्सन भएको स्मार्ट सडक बत्ति आगामी आर्थिक वर्षदेखि जडान गर्न लागिएको ललितपुर महानगरले जानकारी दिएको हो । 

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले आगामी आर्थिक वर्षमा ललितपुरका मुख्य सडकहरुमा स्मार्ट सडक बत्ति राखिने बताएका हुन् । उनले ६ सय स्मार्ट सडक बत्ति जडानको तयारी भइरहेको जानकारी दिए । 

महानगरले स्मार्ट सडक बत्ती जडानको जिम्मा विद्युत प्राधिकरणलाई दिएको हो । प्राधिकरणले उक्त स्मार्ट सडक बत्ती जडानको ठेक्का समेत गरिसकेको छ । स्मार्ट सडक बत्ति जडानका लागि ७ करोड रुपैयाँमा ठेक्का दिइएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए । 

‘हामीले लगानी गर्ने हो, प्राविधिक काम सबै विद्युत प्राधिकरणले गर्ने छ, प्राधिकरणले आफै ठेक्का प्रकृया पुरा गरेर टेन्डर दिइसकेको छ, अर्को आर्थिक वर्ष सुरु हुनासाथ काम सुरु हुन्छ,’ महर्जनले मेरोअटोसँग भने । 

उनले सडक बत्ति जडान गर्न २ वर्षको हाराहारीमा समय लाग्ने बताए । ललितपुर महानगरले कुपनडोल, लगनखेल, पुलचोक, धापाखेल, जम्सीखेल, हरिसिद्धि, बुंगमती, पाटन ढोका हुँदै मंगलबजारसम्मका सडकमा स्मार्ट सडक बत्ती राख्न लागिएको हो ।  

उत्त बत्ति मान्छेको चहलपहल हुँदा सबै तिर बल्ने छ भने मानिसको चहलपहल कम हुँदै गए पछि एउटा बल्ने अर्को नबल्ने गरि थोरै मात्रामा बल्ने छन् । यो अटोमेटिक हुने मेयर महर्जनले बताए । 

‘यसलाई मानिसले आफै अनअफ गर्नु पर्दैन, त्यसले सडकमा हुने चहलपहललाई रिड गरेर त्यसै अनुसार काम गर्ने छ,’ महर्जनले भने । 

यसो गर्दा सडकमा अनावश्यक रुपमा दिनभरी बत्ती बल्ने समस्याबाट मुक्ति पाउन सकिने छ । 

यसले विद्युतको खपत गर्ने भएकैले विद्युत प्राधिकरणसँग मिलेर राख्न लागिएको र ठेक्कासमेत प्राधिकरणबाटै गरि काम अघि बढाइएको उनले जानकारी दिए । 



image not found