कफी पसलसहितको ३२ वटा स्मार्ट ट्वाइलेट बनाउदै महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले ३२ वटा वडामै स्मार्ट ट्वाइलेट बनाउने भएको छ । उप–मेयरको अध्यक्षतामा ३२ वडामा सार्वजनिक स्मार्ट ट्वाइलेट निर्माण गर्ने योजना अगाडि सारेको हो । 

अहिले काठमाडौंमा व्यवस्थित सार्वजनिक सौचालयको अभावमा पर्यटक र पैदलयात्रीहरु बिभिन्न होटल, रेष्टुरा तथा सपिङ महलहरु खोज्दै हिड्नु पर्ने अवस्था सृजना भएको छ । 

उपमयरको संयोजकत्वमा तीन सदस्यीय कमिटि बनाएर यसको अध्ययन तथा कार्यान्वयनका लागि काम अगाडि बढाइएको छ । १५ दिन भित्र सम्भावियताको अध्ययन सकेर त्यसको प्रतिबेदन पेश गर्ने जिम्मेवारी उक्त कमिटिलाई दिइएको महानगरका प्रवक्ता इश्वरमान डंगोलले जानकारी दिए । 

उनका अनुसार सो अध्ययन पछि स्मार्ट ट्वाइलेट कुन मोडलमा बनाउन सकिन्छ भन्ने बिवषयमा टुङ्गो लाग्ने छ । 

‘सुरुमा कति ठाउँमा बनाउने हो, त्यो ठाउँको आवश्यकता अनुसार लागत तयार गरिन्छ, त्यसपछि स्मार्ट ट्वाइलेटको मोडल तयार हुन्छ’ डंगोलले मेरोअटोसँग भने ।

अब बन्ने स्मार्ट ट्वाइलेटमा कफी सप, डिजिटल घडी, डिजिटल सूचना बोर्ड र बाहिर सीसी क्यामेरासमेत राखिने उनले बताए । 

एउटा फाइब स्टार होटलमा जाँदा जस्तो सुविधा सम्पन्न ट्वाइलेट हुन्छ, त्यसै अनुसार अब सार्वजनिक स्थानमा सर्वसाधरणले प्रयोग गर्न सक्ने स्मार्ट ट्वाइलेटको व्यवस्था गर्न लागिएको उनले जानकारी दिए । 

एउटा स्मार्ट ट्वाइलेट बनाउनका लागि साढे २ आना देखि ४ आनासम्म जग्गा चाहिने छ । एउटा ट्वाइलेट निर्माणको लागि १५ देखि २० लाख रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको डंगोल बताउँछन् । 

अब बन्ने स्मार्ट ट्वाइलेट बालमैत्री, अपाङगता मैत्री, महिला–पुरुष लगायतका लागि फरक–फरक सुविधासहित निर्माण हुने उनले जानकारी दिए । 

‘चालु आर्थिक वर्षसम्ममा स्मार्ट ट्वाइलेटको डिजाइन आउने छ भने, आगामी आर्थिक वर्षमा स्मार्ट ट्वाइलेट निर्माण सम्पन्न हुने गरि योजना अघि बढाएका छौँ’ डंगोलले भने । 

सरकारले पर्यटन वर्ष २०२० घोषणा गरेको सन्दर्भमा उपत्यकामा बन्न लागेका स्मार्ट ट्वाइलेटले अलिकति भएपनि पर्यटकलाई सहज हुनेछ । 


Back_to_top